detail-img

एमालेलाई जनताको मनबाट निकाल्ने तागत कसैको छैनः ज्ञवाली

रत्ननगर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई जनताको मनबाट निकाल्ने तागत कसैको नभएको बताउनुभएको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ को चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै ज्ञवालीले परमादेश जारी गरेर गठबन्धनले सरकारबाट निकाले पनि एमालेलाई जनताको मनबाट निकाल्न कसैको तागत नभएको बताउनुभएको हो ।
चुनावमा एक्लै एक्लै लड्ने आँट नभएर पाँच वटा दल गठबन्धन गरेर एमालेको विरुद्ध मोर्चाबन्दी गरेको भन्दै जति गठबन्धन गरे पनि एमालेलाई हराउन नसक्ने ज्ञवालीको भनाइ गर्नुभयो । ‘२०७४ सालमा पनि गठबन्धनका विरुद्ध प्रतिस्पर्धा गरेर शानदार सफलता प्राप्त गरेका थियौँ’, ज्ञवालीले भन्नुभयो, ‘हामीले गठबन्धनको पहिले नै सामना गरेका हौँ, अहिले पनि सामना गरेर शानदार विजय हासिल गर्छौँ ।’ गठबन्धन पहिले नै असफल सावित भइसकेको हतियार भएको भन्दै ज्ञवालीले गठबन्धन जतिसुकै कसिलो बनाए पनि जनताको विश्वास एमालेसँग रहेकाले एमालेलाई कसैले परास्त गर्न नसक्ने बताउनुभयो ।
यसैबीच, नेकपा एमाले रत्ननगर वडा नं. १३ ले चुनाव प्रचारका क्रममा घरदैलो गरेको छ । घरदैलोसँगै आयोजना गरिएको कोणसभामा बोल्दै एमालेबाट रत्ननगरका मेयर उम्मेदवार विमला दुवाडीले बेरोजगारी समस्या, महिला तथा युवाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एमालेबाट रत्ननगरका मेयर उम्मेदवार विमला दुवाडी, उपमेयरका उम्मेदवार यादव पाठक, वडा नं. १३ का वडाध्यक्ष पदका उमेदवार सुवास घिमिरे, सदस्यका उम्मेदवारहरु अशोक दराई, अजित चौरेल, बेलकुमारी श्रेष्ठ, रेश्मा मिजार सहितका कार्यकर्ताहरु स्थानीयका बस्ती तथा घरमा पुगेर मतदाताहरुसँग भेट गर्नुभएको छ ।
नेकपा एसका जिल्ला सदस्यसहित वडा कमिटी नै एमालेमा समाहित
नेकपा (एकीकृत समाजवादी) को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर वडा कमिटी नै नेकपा (एमाले) मा समाहित भएको छ । समाजवादीका जिल्ला सदस्य नेत्रराज ढुंगानाको नेतृत्वमा उनीहरु पुरानै घर एमालेमा फर्किएका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा जिल्ला सदस्य ढुंगानाका साथै वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष यादव घिमिरे, वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष प्रेमबहादुर थापा मगर, केशव पौडेल, रुस्तम अन्सारी, हेम पुन, लक्ष्मण भण्डारी, खुबीराज चौधरी, कल्पना छतकुल्ली, रामकुमार उप्रेती, सीताकुमारी चौधरी लगायत हुनुहुन्छ । उहाँहरुलाई एमाले केन्द्रीय सदस्य जेएन थपलिया, खैरहनी नगरपालिकाबाट एमालेका नगरप्रमुख उम्मेदवार लालमणि चौधरी, एमाले नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीले स्वागत गर्नुभएको थियो ।
समाजवादी परित्याग गर्नुभएका खैरहनी नगर कमिटी उपसचिव समेत रहनुभएका ढुंगानाले समाजवादीको नेतृत्व तहबाट राम्रो काम भएको अनुभव नभएपछि एमालेमा समाहित भएको बताउनुभयो । समाजवादीबाट सबै नेता कार्यकर्ताहरु एमालेमा आउने उहाँको विश्वास छ ।
कांग्रेस र माओवादी कार्यकर्ता एमाले प्रवेश
नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस परित्याग गरी रत्ननगरका छजना कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा (एमाले) रत्ननगर– ११ को घरदैलो कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेमा माओवादीबाट चार जना र कांग्रेसबाट दुई जना रहेको एमाले रत्ननगरका निर्वाचन प्रचारप्रसार समितिका सह संयोजक प्रताप डल्लाकोटीले जानकारी दिनुभयो । पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेमा माओवादी रत्ननगरका चिरञ्जीवी पोखरेल, मञ्जु अम्गाई, सञ्जु पुडासैनी, रमेश पोखरेल तथा कांग्रेसबाट रेवती थापा सारु मगर र सरिता थापा मगर रहनुभएको छ ।