तपाईं आफूलाई कति भाग्यमानी ठान्नुहुन्छ ?
छानेर नि हैन, हैन जानी जानी
तर जन्मेँ नेपालमै
म त भाग्यमानी
कति भाग्यमानी
शिशिर योगीले गाउनुभएको यो गीत अप्रेसन सफल भएर अस्पतालको बेडमा मैले रचना गरेको हुँ ।
भाग्यमानीको दुई वटा अर्थ हुन्छ– एउटा भगवानले दिएको, अर्को आफ्नै कमाइ, मेहनत र परिश्रमले होइन स्वतः आइलागेको । कुनै सकारात्मक उपलब्धि स्वतः आइलाग्यो भने पनि भाग्यमानी भन्छौं हामी । यसै त भगवानले गराइदिने कुराका राम्रा नराम्रा पक्षहरू छन् । इतिहासको सानो सन्दर्भ स्मरण गर्न चाहन्छु । १९ औं शताब्दीको अघिल्लो अवधिमा जर्मनीमा जे हुन्छ ईश्वरले भनेको हुन्छ, जे गर्छ ईश्वरले गर्छ भन्ने थियो ।
मैले गीतमा भाग्यमानी निकम्मा भाग्यवादमा विश्वास गरेर भनेको होइन । मेरो देशमा अब मिर्गौला प्रत्यारोपण, मानव अङ्ग प्रत्यारोपणजस्ता शल्यक्रिया हुन थालेका छन् । यस्ता शल्यक्रिया गर्ने विज्ञ चिकित्सक नेपालमा जन्मिएका छन् । मिर्गौला प्रत्यारोपण गर्दा म प्रधानमन्त्री थिएँ । प्रधानमन्त्रीजस्तो मान्छेले पनि सुबिधा खोज्दै अन्त जानु परेन । मैले भरोसा गरेँ, आफ्नो देशलाई, आफ्नो अस्पताललाई । मैले आफ्ना डाक्टर र नर्सहरूलाई भरोसा गरेँ । म सफल भएको छु । त्यसैले यो देशले विकास गर्न सक्छ ।
म छानेर नेपालमा जन्मिएको होइन । तर यो देशमा जन्मिनु, यो शिव भूमि, बुद्धभूमि, व्यास भूमि, विद्वानहरूको भूमिमा जन्मिनु असाध्यै भाग्यमानी लाग्यो मलाई । त्यसरी मैले आफूलाई भाग्यमानी मानेँ र गीतमा लेखेँ ।
नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय कसरी लिनुभयो ?
त्यसबेला म प्रधानमन्त्री थिएँ र सरकारले मेरो उपचार खर्च बेहोथ्र्याे । तर बाहिर जाँदा साधारणतया ३० देखि ५० लाख रूपियाँसम्म खर्च हुन्थ्यो । तर नेपालमा आफैंले मेहनत गरेर त्यो सुविधा र उत्कृष्टता हामीले प्राप्त गरेका छौं । नेपालमै डाक्टरहरू त्यो क्षमता राख्नुहुन्छ । त्यस स्तरको ज्ञान, अभ्यास, उपकरण सबै हामीसँग उपलब्ध छ, हामीले विकास गरेका छौं भने पद ओहोदाको कारणले महङ्गो पैसा तिर्न बाहिर जानु पर्दैन । किन बाहिर जाने ? ती चिज हामी यहाँ गर्न सक्छौं भने टाउको दुख्यो कि विदेश कुद्नु पर्दैन । जे कुरा यहाँ हुँदैन त्यसको लागि बाहिर गएर गर्ने हो । सक्नेले बाहिर गएर उपचार गर्छ, नसक्नेले के गर्ने ?
हाम्रो देशमै त्यो सुविधा भइसकेपछि मैले हाम्रै डाक्टरहरूलाई सोधेँ, तपाईंहरू सक्नुहुन्छ ? उहाँहरूले सक्छु भन्नुभयो । मैले पनि यही भन्न खोजेको हो, तपाईंहरूले सक्नुहुन्छ । प्रत्यारोपण गरिरहनुभएको छ भने मेरो मात्र नसक्ने भन्ने कुरा छैन । तपाईंहरू गर्नुहोस् भनेँ, उहाँहरूले सफलतापूर्वक गर्नुभयो । उहाँहरूलाई धन्यवाद छ । हाम्रो स्वास्थ्य क्षेत्रमा भएको प्रगति खुसीको कुरा हो । हामीले राम्रो प्रगति गरेका छौं । यद्यपि पर्याप्त छैन ।
गीतकार केपी ओली कति सशक्त ?
दुई मिर्गाैला प्रत्यारोपण गर्दा, पाँच सात ओटा अप्रेसन गर्दा पनि अशक्त भइन । तर हरेक कुरामा म एकदमै सशक्त छु भनेर पनि भन्दिनँ । सशक्तता खाली मनको कुरा हो, भावनाको कुरा हो । मैले आफ्नो भावना अभिव्यक्त गरेँ । त्यो भावना गलत छैन, सही छ ।
सङ्गीतबाहेक तपाईंको लगाव ?
जीवन भनेको, सिङ्गो जीवनको कुरा गर्दा, म बच्चा थिएँ, किशोर, युवा, अधबैँसे भएँ, अहिले पनि अधबैँसे अधबैँसे नै छु । बाँची रहे बुढो हुनु पनि अनिवार्य नै छ । म बिरामी भएपछि साथीहरूले चिन्ता गर्नुभयो ।
जीवन भनेको एउटा मात्रै उमेर होइन । बालक हुँदाको, किशोर हुँदाको पनि हो । जीवनका रङ्गहरूजस्तै जीवनका रसहरू पनि विभिन्न प्रकारका हुन्छन् । क्यानभासका रङ्गजस्तै वा साहित्यका रसहरूजस्तै अथवा सङ्गीतका स्वर, सुर र तालहरूजस्तै विविधता हुन्छ जिन्दगीमा ।
राजनीति भनेको खेतमा धान फलाउने कुरा हो कि होइन, बारीमा मकै फलाउने, सुन्तलाका बोट विरुवा लाउने कुरा हो कि होइन ? उद्योगहरूको स्थापना गर्ने कुरा हो कि होइन ? हाम्रा ऐतिहासिक धरोहरहरूको संरक्षण राजनीति हो कि होइन । राजनीति चुलो बाल्नु हो कि होइन ?
यहाँ मैले साग केलाएको कुरा आयो । साग केलाउने मात्र होइन, मैले कयौं वर्षसम्म खाना बनाएको छु । मलाई छिम्कन, निफन्न, सार्न सबै आउँछ ।
राजनीति गर्ने मान्छेले खानु पर्दैन ? खानुपर्छ भने साग खानु पर्दैन । साग खाने हो भने केलाउनु पर्दैन ? भ्याएसम्म, सकेसम्म रमाउनु पर्दैन ? संसारमा केही दुःखी मान्छे हुन्छन् जो कहिल्यै मुस्कुराउँदैनन् । कहिल्यै प्रसन्न चित्त हुँदैन, मानौं यो संसारको सबै पिर चिन्ता उसलाई मात्रै भएको होस् ।
आफ्नो भागको पीर, चिन्ता र कर्तव्य हुन्छ । हामीले काम कर्तव्य आफ्नो भागको गर्ने हो । मैले जे काम गर्नुपर्छ कामचोर नभई नठगीकन गर्नुपर्छ । र मैले प्रसन्न चित्त रहनुपर्छ । बाजा बजाउने, गाउने, नाच्ने ठाउँ , देउसी खेल्ने ठाउँ भेटियो भने धुमधुम्ती बस्ने होइन । त्यहाँ नाच्ने हो । राजनीति गर्ने मान्छे कसरी नाच्छ ? क्यारम कसरी खेल्छ ? फुटबल कसरी खेल्छ ? चित्र कसरी कोर्छ ? सबैले देख्नुभएको छ ।
निर्वाचनको मौन अवधिमा भान्सामा देखियो, अरु बेला भान्सामा कति समय दिनुहुन्छ ?
म दुर्गम गाउँमा जन्मिएको हुँ । मेरो गाउँमा भर्खर बाटो पुग्यो । बिजुली र बाटो पुगेको दुई चार वर्ष भयो । अझै राम्ररी पक्की भइसकेको छैन बाटो । राणा शासनपछि तुरुन्तै विद्यालय पुग्यो । शिक्षामा खासै पछाडि होइन तर विकासका अरु मापदण्डमा धेरै पछाडि हो ।
मेरो ठाउँ यस्तो हो जहाँ सपना देखिथ्यो, तर ठूलो सपना देखिँदैनथ्योे । हाम्रोतिर एक मानाको बन्दोबस्त भन्ने चलन थियो । कोही छोरी माग्न आयो भने एक मानाको बन्दबस्त छ कि छैन भन्ने हुन्थ्यो । यो नै ठूलो सपना थियो । सफा खाना खानुपर्छ भने थाल त माझ्नुपर्छ । नमाझिकन कसरी सफा हुन्छ । माझ्ने काम सानो, सफामा खाने काम ठूलो ! काम सानो, सफा खाना खाने काम ठूलो ! कसरी ? मैले मेलो पाएको थिइनँ ।
सानै उमेर छँदा आमा बित्नु भएकाले पनि थुप्रै काम सिकियो । मलाई गाउँघरमा बाती काट्नेदेखि टपरी दुना खुट्ने काम, गुन्द्री, तान बुन्ने, सुकुल बुन्नेदेखि पराल खोसेलाका चकटी बनाउन आउँछ । जुन काम देख्यो म त्यो सिक्ने मान्छे हो । यहाँ (पोखरा) जेलमा बस्दा कपडा बुन्ने काम पनि गरेँ ।
आफैंले लगाउने लुगा पनि बुन्थेँ । कमिज सुरुवाल काट्न सिलाउन आउँछ । जेलमा हुँदा आफैं काट्थेँ, आफैं सिउँथे । मैले लगाउने कमिज सुरुवाल आफैंले काटेका हुन्थेँ । म जे काम पनि सिक्न रुचि राख्थेँ र कुनै काम सानो ठूलो भन्ने लाग्दैनथ्यो, लाग्दैन । अहिले पनि, खाना बनाउन बढ्तै समय लाग्छ । त्यसैले म भाँडा माझ्छु ।
साथीहरूसँग जेलमा बस्दा पनि भाँडा माझ्ने काम गर्थेँ । छोटो समयमा काम सिद्धिन्छ भनेर म भाँडा माझ्थेँ । फुर्सद भयो, समय भयो भने म जहाँ जे पनि गर्थेँ ।
विद्यार्थी हुँदा, युवा हुँदा, नेता हुँदा कहिले गोठालागोठालीहरू भेटिए भने उनीहरूसँग पनि म रमाएर बस्थेँ । खोला देख्नै हुँदैनथ्यो । पौडी खेल्न मिल्ने खालको खोलामा पौडी खेल्थेँ । मेरो एकदमै रोजाइको काम पौडी हुने गर्थ्यो । खेलकुदमा एकदम रुचि राख्थेँ । घर गृहस्थीमा आफूलाई चाहिने काम आफैं गर्न सक्छु । म पाइलट हुन पाइनँ, त्यसैले मलाई उडाउन आउँदैन । मैले गाडी चलाउन २०२६ सालमा सिकेँ ।
म १७, १८ वर्षको ठिटोहुँदा गाउँमा दोस्रो विश्वयुद्धको थोत्रो ट्रक पाइन्थ्यो । ह्यान्डिलबाट घ्वाईघ्वाई घुमाएर स्टार्ट गर्नुपर्ने । त्यसैबाट मैले ड्राइभिङ सिकेको हुँ । मलाई जे देख्यो त्यही सिक्नुपर्ने । त्यसैले जुनसुकै काम पनि मेरो रुचिभित्र पर्छ । हाम्रो जीवनमा आवश्यक पर्ने सबै काम गर्छु ।
घर नजिकै दमीनी आमाको घर थियो । हाम्रो घर अगाडि बस्नुहुन्थ्यो । कैची चलाउँदा उहाँले बिग्रन्छ भन्नुहुन्थ्यो । उहाँले काम गरेको हेर्थेँ । फलामको कतर्नो बल्टुले बाँधेको छ तर बिग्रन्छ भन्नुहुन्थ्यो । बिग्रने ठावै छैन, छोयो भने बिग्रन्छ भन्नुहुन्थ्यो । कहिले कहिले सोध्थेँ, के भएर बिग्रिन्छ आमा यो ? मलाई भने चलाउँ चलाउँ हुन्थ्यो । तर उहाँले तिम्रो चाल ठीक छैन त्यता हेर्दैछौ भन्नुहुन्थ्यो । मलाई अचम्म लाग्थ्यो । २० सालमा मैले अर्काको साइकल सिकेँ । साइकल पनि नचला बिग्रन्छ भन्थे । जुनसुकै काम पनि मेरो रुचिको कुराभित्र पर्छ । त्यसकारण हाम्रो जीवनमा आवश्यक पर्ने प्रचलित कुरामा रुचि राख्छु ।
तपाईंको साहित्य विशेषता के हो ? कविता कुन सन्दर्भमा लेख्नुभएको थियो ?
म पोखरा जेलमा थिएँ । पोखरामा खर्पन बोक्ने चलन थियो जस्तो लागेको थिएन । पोखरा जेलको गेटमा एक जना खर्पनमा साग बोकेर आएँ । मैले उनलाई देखेपछि आफूूलाई उनी सम्झेर कविता लेखेँ । म जेलभित्र बन्दी थिएँ । मै भएर त म ‘खर्पन’ कविता लेख्न सक्तैनथेँ । मैले आफूलाई खर्पन बोक्नेमा परिणत गर्नुपर्थ्यो । मैले त्यो व्यक्तिको रुपमा आफूलाई रुपान्तरित गरेर कविता लेखेको थिएँ ।
कविता लेख्नुअघि मैले खर्पन बोकेको मान्छेको चित्र बनाएँ । त्यसपछि कविता लेखेँ ।
मेरो बानी के छ भने उहिले भूमिगत कालदेखि जहाँ जहाँ पुग्यो मेरो लेखाइ, कहिले कथा, कहिले निबन्ध, कहिले कविता, कहिले गीत लेख्दा बोकेर हिँड्न सम्भव हुँदैनथ्यो । जहाँ पुग्थेँ, त्यहाँ लेख्थे, त्यहीँ छोड्थेँ ।
जेलमा अनेक कृति लेखेँ । सयौं कविताहरू लेखेँ तर जेलमा खोसिन्थ्यो, लुटिन्थ्यो । लेखेर के गर्ने खोसेर लैजान्थ्यो, निरास हुन्थेँ । अलिअलि हतोत्साहित पनि भएको हो । लेखेर के गर्ने ? दुःख गर्यो, लुटेर लग्थ्यो । त्यसपछि कुनै ग्रन्थ लेख्नतिर लागिएन । छोटा निबन्ध र फुटकरहरू मात्रै लेखेँ ।
मैले पोखरा जेलमा लेखेको ‘खर्पन’ कविता तनहुँका विश्वबन्धु भण्डारीको सम्पादनमा प्रकाशित हुने भन्ज्याङ साहित्यिक पत्रिकामा भूपनिधि पन्तजीको पहलमा प्रकाशित भएपछि चर्चामा आयो । २०४१ सालमा लेखिएको यो कविता ३५ वर्षपछि भूपनिधिजीले उजागर गरिदिनुभयो । मैले पेन्सिलले स्केच बनाएर पेन्सिलले नै लेखेको कविता हो ।
मैले भूमिगत कालमा मेरो नाम कालीचरण भनेर लेखेको रहेछु । त्यो कविता छापिएको छ । मेरा कविता प्रकाशनका लागि भूपनिधि पन्तलाई धन्यवाद । भूपनिधि पन्तजी जो २०४२ सालको आन्दोलनमा उहाँलाई पनि पक्रेर ल्याएको थियो । अलिक समय जेलमेट हुनुभएको थियो । मैले लेखेँ, छोडेँ वा उहाँले यत्तिकै राख्छु भनेर माग्नुभयो मलाई याद छैन ।
म त लेख्यो, छोड्यो, हिँड्यो । म सुरक्षित गर्न सक्दिनथेँ ।
तपाईंले लेख्नुभएको महाकाव्य जेलमा हरायो ?
त्यो अलिकति सिद्धिन बाँकी थियो । करिब छ महिना मेरा रचना लुटपाट भएका थिएनन् । त्यो छ महिनाको बीचमा खण्डकाव्य, महाकाव्य, फुटकर रचनाहरू लेखिरहन्थेँ । एउटाचाहिँ १६ खण्डसम्म लेखिसकेको थिएँ, त्यो लुटियो । त्यो लुटिएपछि त्यतापट्टि नलागौं भन्ने भयो । त्यो एकदम प्रचलित नाम राखिएको थियो ।
आमा बित्नु भयो । तीनवर्षदेखि अहिलेसम्म म आमाको चेहरा सम्झिरहन्छु । तीन वर्षको उमेरमै आमा गुमाएकाले होला, आमा शब्दप्रतिको आत्मीयता विशेष छ । त्यसकारण त्यो महाकाव्यको नाम आमा नै राख्न मन लागेको थियो । तर त्यो लुटेर लगियो, अब इतिहासको कुरा भयो ।
कविताबाहेक निबन्धको विधामा पनि यहाँको ‘दुई आँखा, दुई कान, एक मुख’ पढ्न पाएको थिएँ । यसको विम्बले मलाई रोमाञ्चक बनाएको थियो । यो कुन सन्दर्भमा लेखिएको थियो ?
मैले साथीहरूलाई सामान्य कुरामा सम्झाउँथे । त्यही सन्दर्भमा एकपटक साथीहरूलाई सम्झाउने क्रममा केही कुराहरू राखेको थिएँ । त्यसमा केही अंश–अंशका कुराहरू थिएँ । एउटा अशंमा के थियो भने हाम्रो दुईवटा कान हुन्छन्, चनाखोसँग सुन्नुपर्छ । हेर्नको लागि दुईवटा आँखा छन् । हेर्न पनि सिक्ने कुरा हो । सिक्नु धेरै पर्छ तर दुईवटा कानले सुनेर सिक्ने हो । आँखाले हेरेर सिक्ने हो । तर मुख एउटा मात्रै छ त्यसैले सही कुरा मात्रै बोल्ने, चाहिने कुरा मात्रै बोल्ने हो , सकेसम्म राम्रो सुन्नुपर्यो, राम्रो कुरा मात्रै हेर्नुपर्यो । हाम्रा ज्ञानेन्द्रियमध्ये सबैभन्दा बढी आँखा र कानले ज्ञान आर्जन गर्छन् । मुख त एउटा मात्रै छ । बोलेर ज्ञान कम हुन्छ । सुनेर मात्रै धेरै ज्ञान हुन्छ । बोलेर हुँदै नहुने त होइन तर ज्ञान आर्जन कम हुन्छ । त्यसकारण बोल्दा विचार गरेर थोरै बोल्नुपर्छ भन्ने हो ।
तपाईंले भनेको निबन्ध भद्रगोल जेलमा हुँदा ०३७ सालतिर लेखिएको निबन्ध थियो ।
जेल जीवनमा धेरै अध्ययन गर्नुभयो । पुुस्तक लगायत अध्ययन सामग्री कसरी प्राप्त हुन्थे ?
मलाई सुरुमै गोल घरमा लगियो । त्यहाँ पानी खाने भाँडो पनि दिइँदैन । त्यहाँ ठूलो लडाई गरेर माटाको सुराई झिकाइयो । सिसाको कुनै पनि चिज दिइँदैनथ्यो । त्यहाँ सबै कुरामा शङ्का गरिन्छ । दुःख दिने नियतले मात्रै लगिन्थ्यो त्यहाँ । पत्रिका, किताब कलम, कागज केही दिइँदैनथ्यो । रेडियो नेपालबाट बज्ने नेपालको समाचार मात्रै सुन्न पाइन्यो । बेलुकी सुत्नेबेला वीरगन्जका हवारीहरूले हिन्दी गीतका लागि फर्माइसहरू पठाउँथे । त्यसको विज्ञापन मात्रै आउँथ्यो । त्यो बाहेक केही सुन्न पाइँदैनथ्यो । त्यसबेला म निकै बिरामी परेको थिएँ । त्यसबेला गेटको छेउमा डाक्टरकहाँ जाँच गर्न लग्यो । फर्कंदा जेलभित्र मैले चुरोटको खोल भेटेँ । मैले कागज नदेखेको केही महिना भएको थियो । त्यो चुरोटको खोल भेट्दा साथी भेटेजस्तो भयो मलाई । कागज भेट्दा आफन्त भेटाए जस्तो भएको थियो । संयोगले एउटा पेन्सिल सानो टुक्रो पनि भेटाएँ । मेरो लागि त्यो सुन्दर संयोग थियो । चुरोटको खोल र पेन्सिलको टुक्रा टिप्दा मलाई सबैले मानसिक रोगी रहेछ क्या हो भनेर हेरे । जेलमा मलाई असाध्यै नियन्त्रणमा राख्न खोजिन्थ्यो । आफूलाई शासक देखाउन खोज्ने त्यहाँका कामदार थिए । जेलभित्र पनि विभिन्न श्रेणीका नाइके हुन्थे । मलाई एकजना कामदारले आफूलाई शासकका रुपमा देखाउन खोज्थे र मलाई नियन्त्रण गर्न खोज्थे । तीनको जीवन कहानी सुनेको थिएँ । एकदमै मार्मिक जीवन कहानी थियो । उनीमाथि प्रहरी, वकिल लगायत सबैले नभएको कुरालाई पनि भएको बनाएर ठूलो सजायको भागीदार बनाएका थिए । उनको त्यस्तो पीडा थियो । उनको जीवन साच्चै टिठलाग्दो थियो । उनको जीवन र परिवारसँग जोडेर हेर्दा निकै मार्मिक थियो । त्यो चुरोटको खोलमा मैले उनकै जीवन सम्झिएर लेखेँ । र उनलाई मैले सुनाए । मैले चुरोटको खोलमा लेखेको कविता सुनाउँदै गर्दा उनी आँखाबाट आँसु खसाल्दै रोए र मसँग त्यो कविता मागे । मैले उनलाई तपाईकै लागि लेखिदिएको भनेर दिएँ । त्यसपछि मलाई चुरोटका खोलको खाँचो भएन । त्यसपछि मैले कागज पाएँ । पेन्सिल सिमेन्टमा घोट्दै तिखार्दै लेख्थेँ । त्यसरी लेखनको सुरुवात भयो ।
यो लेखनको विषय भयो, अध्ययन गर्न कसरी वातावरण बन्यो ?
गोलघरको बाहिरपट्टि लाइबे्ररी छ । त्यसमा केही हजार किताबहरू होलान् । लाइब्रेरीको सदस्य भएपछि दिनमा दुई तीन वटाको दरले पढ्न सुरु गरेँ । त्यहाँ उपलब्ध भएका सबै शास्त्र पढेँ । त्यहाँ जे उपलब्ध छ सबै अध्ययन गर्दै गएँ । सबै शास्त्रमा केही न केही ज्ञान हुँदो रहेछ । सबै रुचिसाथ पढेँ । त्यसले मलाई लाभ नै गर्यो । त्यो लाइब्रेरीका किताव एक वर्षमा लगभग सबै पढेर सकेँ । कपितय पुस्तकहरू दोहोर्याएर पनि पढेँ ।
त्यसबेला जेलमा हुनुहुन्थ्यो, समय थियो । अहिले धपेडी हुनेखालको राजनीतिको जेलमा हुनुहुन्छ । लेख्ने पढ्ने समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
पढ्ने लेख्ने समय राती मात्रै हो । दिउँसो समय निकाल्छु भनेर सम्भव छैन । म अलि कम सुत्छु । तर समय मिल्यो भने सुतिहाल्छु । जति बेला सुत्छु त्यतिबेला नै निदाई हाल्छु । जति समयको लागि सुत्छु, त्यति समयको लागि सुत्छु । चार घण्टा सुत्ने भन्यो भने त्यति मात्रै सत्छु । त्यसैले विहान उठेदेखि व्यस्तता हुने भएकाले रातीको समयमा मात्रै अध्ययन गर्छु ।
यहाँको अनुभूतिमा पढ्नु र लेख्नु कुन चाहिँ आनन्द आउने विषय हो ?
लेख्नु भनेको ज्ञानलाई संगठित गर्नु हो । पढ्नु सरसर्ती सूचना प्राप्त गर्नु हो । तर ज्ञानको रुपमा त्यसलाई संगठित गर्नको लागि लेख्नैपर्छ । ज्ञानलाई संगठित गर्न योजना नै गर्नुपर्छ । नत्र ज्ञान संगठित हुँदैन ।
तपाईंले श्रष्टाहरू सत्यमोहन जोशी, माधव घिमिरे, वैरागी काइँला, भक्तराज आचार्यहरूसँग भेटाघाट गर्नुहुन्थ्यो । यहाँले केका लागि श्रष्टाहरू भेट्नुहुन्थ्यो ?
राष्ट्रकवि माधव प्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशी वा वैरागी काइँला लगायत सबै लेखकहरू हाम्रा लागि तीर्थ जस्ता हुनुहुन्छ । उहाँहरूको सम्मानका लागि उहाँहरूको घरमा जाने गर्छु । उहाँहरूकहाँ गएपछि अनौठो वात्सल्य प्राप्त हुन्छ । त्यस वात्सल्यले एक ढङ्गले ज्ञान प्रवेश हुन्छ । त्यसकारण उहाँहरूसँग भेट्छु । उहाँहरूलाई आफैले बोलाएर पनि साहित्यिक कुराकानी गर्छु । कोभिडपछि बन्द भएको छ । त्यस्तो कार्यक्रम फेरि गर्छु ।
खर्पन कवितामा चित्र कोर्नु भएको थियो । यहाँले चित्रकारिता कसरी सिक्नु भयो ?
जुनसुकै कुराको पनि रुचि राख्थेँ । पौडी खेल्न नजान्दै पनि पोखरी हाम फाल्थेँ । कहिलेकही सङ्कटमा पनि पर्थेँ । त्यही सङ्कटबाट सिक्थेँ । मलाई जिज्ञासा धेरै हुन्थ्यो । त्यसैले चित्रकारिता विद्यालयमा कहिले काहीँ सिकाउने कुरा हुन्थ्यो । नाटक सिकाउने काम पनि हुन्थ्यो । नाटक र चित्रकारितामा केटाकेटी बेलामा भाग लिन्थेँ । मैले पनि चित्र कोर्ने गर्थेँ । कलम वा पेन्सिल जे भेटाए पनि चित्र कोर्ने गर्थेँ ।
विश्वकप रातभर बसेर हेर्नुभयो ?
विश्वकपको फाइनल खेल रोमान्चक थियो । तटस्थ ढङ्गले अर्जेन्टिनाको पक्षमा थिएँ । मौका मिल्दा पहिले खेल्थेँ । नियम पनि आउँछ । पास दिएको मिल्यो मिलेन भनेर पनि बुझ्छु । यस पटकको फाइनल म पनि उठेर हेरेँ । खेलको सेन्टिमेन्टसँग बगेको थियो । ।
कुन कुन खेलमा विज्ञता र रुचि छ ?
विज्ञता कतिलाई भन्ने ? मभन्दा नजान्ने खेलाडि पाएँ भने हराउन सक्छु । त्यसैले केलाई विज्ञता भन्ने ? त्यसकारण फुटबल, भलिबल, टेवलटेनिस, स्नूकर, क्यारमबोर्ड खेल्छु । नजान्ने पाएँ भने हराउँछु । सानोबेलामा गिर पनि खेल्थेँ । त्यसबेला क्रिकेट थिएन । अहिलेको गिर जस्तो जस्तो थिएन । त्यसबेला गिर निकै खतरनाक हुन्थ्यो । अलि कम खेल्थेँ । गिरको बल खतरनाक हुन्थ्यो ।
तपाई पहिले एकदमै कडा नास्तिक हुनहुन्थ्यो रे । उत्तर कोरिया गएको बेला नेताको सालिक अगाडि झुक्न लगाए । त्यसपछि आस्तिक बनेर फर्किएँ भनेको सुनेको थिएँ । त्यो कुन प्रसंगमा भएको थियो ?
उहाँहरूको चलन अनुसार नेताको सालिकअघि पुगेपछि ‘गो डाउन प्लीज’ भन्ने र त्यसपछि झुकेर सम्मान गर्नुपर्ने रहेछ । त्यहाँ बुद्धको स्तुपा पनि छ । त्यहाँ बुद्धको मूर्ति भएको ठाउँ पुगेपछि मैले पनि ‘गो डाउन प्लीज’ भनेँ, मलाई त्यसअघि मूर्तिका अगाडि पुगेपछि निउरिनुपर्छ भन्ने लाग्दैनथ्योे । त्यहाँ नेताको अगाडि पुग्दा निउरिनु परेपछि मैले पनि बुद्धको मूर्ति अगाडि पुगेपछि सबैलाई ढोक्न लगाएँ । त्यो यथार्थ घटना थियो । म सत्यमा विश्वास गर्छु । त्यसकारण मेरो दृष्टिकोणको मुल थिम सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने भन्ने हो ।
म सुकरात र बुद्ध जस्तो सत्यको अंगिकार गर्ने गर्छु । योगको सन्दर्भमा शिवबाट सुरु भएर योगका प्रणेताहरू त्यसका विकासकर्ता भनेर मानिने कपिलमुनि र त्यसलाई पछि विकसित गरेको पताञ्जली योगको पहिलो सूत्र आठ वटा छन् । त्यसमा पहिलो सूत्र यमो, यमो भनेको अहिंसा र सत्य । सत्य र अहिंसा नै यसको सत्य कुरा हो । त्यस्तै मैले योगमा जोड दिएको छु । सत्यको मार्ग अपनाएको छु ।
(कास्कीको पोखरामा २०७९ पुस ८ गते नेपाल लिट्रेचर फेस्टिभलमा अध्यक्ष केपी शर्मा ओलीसँग पत्रकार अखण्ड भण्डारीले गरेको कुराकानीको सम्पादित अंश)