उपस्थित कमरेडहरू, साथीहरू !
आज देशमा एउटा शान्तिपूर्ण महासङ्ग्रामपछि हामी त्यसको परिणाम लिएर यहाँ उपस्थित भएका छौं र उल्लासपूर्ण वातावरणमा यहाँ उपस्थित भएका छौं । यतिबेला हाम्रो मनोवल उच्च भएको छ, आत्मविश्वास बढेको छ । हामीले अहिले प्राप्त गरेको सिट सङ्ख्याले होइन, सिट सङ्ख्या भन्दा बढी जस्तो परिस्थिति, जस्तो घेराबन्दी, जस्तो षडयन्त्र, जस्तो अफवाह, धाँधली र बुथ क्याप्चरिङका बीचमा ती सबै कुरालाई पराजित गरेर नेकपा (एमाले) देशको सर्वाधिक लोकप्रिय पार्टीको रूपमा उदाएको छ । यस कुराका लागि हामी खुशीयाली मनाइरहेका छौं, उत्सव मनाइरहेका छौं र वास्तवमा आगामी दिनमा महान् सफलतातर्फ उन्मुख हुने, त्यसका निम्ति तयारीमा आजैदेखि जुट्ने नयाँ सङ्कल्पका साथ अगाडि बढिरहेका छौं । यसका निम्ति आज हामीले यस कार्यक्रमको आयोजना गरिरहेका छौं ।
हामी प्रतिनिधि सभामा निर्वाचित सम्पूर्ण सांसदहरूलाई र प्रदेशसभामा निर्वाचित सम्पूर्ण सभासदहरूलाई हार्दिक बधाई भनिरहेका छौं । म मेरोतर्फबाट र सिंगै पार्टीको तर्फबाट निर्वाचित साथीहरूलाई हार्दिक बधाई भन्न चाहन्छु । तपाईंहरू एउटा चक्रब्यूह, ठूलो षडयन्त्र, ठूलो अफवाहको दुष्चक्रबाट त्यसलाई पराजित गरेर यहाँ आइपुग्नुभएको छ । तपाईंहरूलाई धेरैधेरै बधाई छ । तपाईंहरूको कार्यकाल अत्यन्तै सफल रहोस्, धेरैधेरै शुभकामना भन्न चाहन्छु । त्यसै गरेर प्रदेश सभाका सभासद् साथीहरू तपाईंहरूलाई पनि त्यसै अनुसार धेरैधेरै बधाई र धेरैधेरै शुभकामना भन्न चाहन्छु । समानुपातिकतर्फबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा र प्रदेशसभाका सम्पूर्ण सांसद र सभासद्हरूलाई त्यसैगरी म हार्दिक बधाई भन्न चाहन्छु । सफल कार्याकालका लागि शुभकामना भन्न चाहन्छु ।
निर्वाचनमा हामीले अपेक्षा गरेको सिट अलिक ल्याउन सकेनौं । अपेक्षा गरेजस्तो सिट नआए पनि हामी उल्लासमय वातावरणमा छौं र उत्सव मनाइरहेका छौं । अघि हामीले भिडियो हेर्यौं, किन हामी उत्सव मनाइरहेका छौं, किन हामी हारेका छैनौं ? कस्तो परिस्थितिमा हामी चुनाव लड्यौं र परिणाम कस्तो पायौं ? यो दुईवटा चिजलाई हेर्दा, विभिन्नका राजनीतिक भविष्यवाणीहरू कस्ता थिए ? ती भविष्यवाणी नितान्त भविष्यवाणी मात्रै थिएनन् । ती आकाङ्क्षा थिए, ती प्रयास थिए र त्यो उनीहरूले निकाल्न खोजेको निष्कर्ष थियो । हामीलाई धुलो चटाउँछौं, भित्तामा टाँस्छौं केके भनेका थिए । एमालेलाई दिउँसै टर्च बालेर खोज्नुपर्छ भने । टर्च बालेर होइन, टर्च बाल्न पर्दैन । नेकपा (एमाले) को आवाज, नेकपा (एमाले) को गति, नेकपा (एमाले) को गतिविधि र त्यसको चाल जसले विश्वभरिबाट पनि सुन्न सक्छ, नेपालमा मात्रै होइन । राष्ट्रनिर्माणको सन्दर्भमा एउटा नयाँ विचार, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा र त्यस आकाङ्क्षालाई आफ्नो गन्तव्य बनाएर, त्यसलाई आफ्नो उद्देश्य बनाएर त्यहाँ कसरी पुग्ने ? विभिन्न क्षेत्रका बाटाहरू तय गरेर नेकपा (एमाले) अगाडि बढिरहेको छ ।
त्यसकारण नेकपा (एमाले) का आवाज कुनै सामान्य ध्वनी होइनन् । यो युगको आवाज हो, समयको आवाज हो, देश निर्माणको सङ्कल्प हो । यसका विभिन्न पक्ष छन् र त्यो आवाज, त्यो सङ्कल्प, त्यो उद्देश्य, ती बाटाहरू जस्तासुकै प्रहारबाट पनि जोगाएर सफतापूर्वक अगाडि बढाउन सकिन्छ भन्ने यस निर्वाचनले देखाएको छ, निर्वाचनको परिणामले देखाएको छ । फेरि एकपटक नेकपा (एमाले) सर्वाधिक लोकप्रिय पार्टीको रूपमा अगाडि बढेको छ ।
आज प्रतिनिधिसभा र प्रदेश सभामा केही साथीहरूले जित्नुभएको छ, त्यसैगरी समानुपातिकमा केही साथीहरूले जित्नुभएको छ । तर, सिङ्गो पार्टी, सिङ्गो पार्टीपङ्क्ति, पार्टीका कमिटीहरू, कमिटीमा आबद्ध साथीहरू, कमरेडहरू, जनवर्गीय संगठनहरू, पेशागत संगठनहरू, सामुदायिक संगठनहरू र अरू संघसंस्थाहरू अनेकको पनि यस विजयमा योगदान रहेको छ । म सबै साथीहरूको योगदानको प्रशंसा गर्न चाहन्छु । सबै योगदानप्रति आभार व्यक्त गर्न चाहन्छु, योगदान गर्नुहुने सबैप्रति कृतज्ञता जाहेर गर्न चाहन्छु र सबैलाई पार्टीको तर्फबाट धेरैधेरै धन्यवाद भन्न चाहन्छु ।
हामी सम्पूर्ण अग्रजहरूप्रति ऋणि छौं
हामीले हाम्रो आन्दोलनलाई यस ठाउँसम्म ल्याइपुर्याउनका लागि हामीले धेरै लामो सङ्घर्ष गर्नुपर्यो । बलिदानपूर्ण सङ्घर्ष, कष्टपूर्ण सङ्घर्ष, आँशु र आर्तनादले भरिएको सङ्घर्ष, त्यो सङ्घर्ष हामीले गर्नुपर्यो र धेरै बलिदानबाट हामी आज यस ठाउँसम्म आइपुगेका छौं । यस घडीमा म सम्पूर्ण हाम्रा ज्ञात अज्ञात अमर शहीदहरूप्रति फेरि एकपटक श्रद्धासुमन अर्पण गर्न चाहन्छु । त्यसैगरेर आन्दोलनको सिर्जना, विचारको संगठन, सामाजिक परिवर्तन, रूपान्तरण, सामाजिक न्याय, सुशासन, प्रगति उन्नति कसरी हुनसक्छ भन्ने र विशेषगरी समाजको समग्र परिवर्तन र रूपान्तरण कसरी हुनसक्छ भन्ने विचारहरू व्यवस्थित गर्ने, ती विचारका आधारमा संगठन निर्माण गर्ने, विस्तार गर्ने, संगठनमा जनतालाई आबद्ध र गोलबद्ध गर्ने र त्यस संगठनलाई एउटा आन्दोलनको रूपमा, एउटा सङ्घर्षको रूपमा अगाडि बढाउने हाम्रा अग्रजहरूले जुन योगदान गर्नुभयो, जुन भूमिका खेल्नु भयो, त्यसप्रति हामी नतमस्तक छौ, हामी अत्यन्तै कृतज्ञ छौं, हामी ऋणी छौं । तसर्थ म हाम्रा सम्पूर्ण अग्रजहरूप्रति पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी लगायतका सम्पूर्ण अग्रजहरूप्रति अत्यन्तै आदर सम्मान सिङ्गो पार्टीको तर्फबाट र मेरो तर्फबाट पनि यस अवसरमा अर्पण गर्न चाहन्छु ।
हाम्रो विजय खोसिएको छ
कमरेडहरू !
हामी एउटा गम्भीर परिस्थितिमा छौं, गम्भीर मोडमा छौं । यतिबेला हामी उच्च मनोबलका साथ यहाँ उपस्थित भएका छौं । अगाडि बढ्ने र विजय हासिल गर्ने सङ्कल्प र आत्मविश्वासका साथ यहाँ उपस्थित छौं । तर, यथार्थ के हो भने हाम्रो देशभक्तिपूर्ण आन्दोलन, साँचो अर्थमा लोकतान्त्रिक आन्दोलन, परिवर्तनको आन्दोलन माथि, यस न्याय र समानता र न्यायको आन्दोलन माथि, सुशासनका निम्ति हाम्रो प्रयासको आन्दोलनमा हामीमाथि चौतर्फी हमला हुँदैन्थ्यो भने हामीले आज देशलाई स्थिरता, स्थायित्व दिने, विकासको भरपर्दो मार्गचित्र प्रस्तुत गर्ने, भ्रष्टाचार विरुद्धको सङ्कल्प गर्ने, सुशासनको प्रत्याभूति गराउने, जनताका समस्या पहिचान र समाधान दिने, छिमेक र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित र प्रभावकारी ढङ्गले राष्ट्रिय हितको पक्षमा अगाडि बढाउने सरकार दिने बिन्दुमा हुन्थ्यौं र हाम्रो उत्साह अझ बेग्लै हुन्थ्यो । हामीले राष्ट्र निर्माण, राष्ट्रको विकास, राष्ट्रमा शान्ति सुव्यवस्था, सुशासन यी चिजहरूको प्रत्याभूति दिन्छौं, अब हामी देशमा सुशासन दिन्छौं र अगाडि बढ्छौं भनेर गरेका थियौं । तर, आज हाम्रो विजय खोसिएको छ । हामीले बहुमत प्राप्त नगरेका होइनौं । हामीले कम्युनिष्ट आन्दोलनलाई मजबुत स्थितिमा पुर्याएका थियौं । एकता गरेर, पार्टी निर्माण गरेर, अनेक एकीकरण गरेर, चुनावी तालमेल गरेर, फेरि एकीकरण गरेर राष्ट्रिय राजनीतिको मुलधार मात्रै होइन, एकमात्र विश्वसनीय धार राष्ट्रको एउटा अभिभावका रूपमा, शान्ति र विकास, सामाजिक न्याय र समानताको एउटा अभियन्ताको रूपमा नेकपा (एमाले) नै झण्डै दुईतिहाइका साथ देश हाक्ने स्थिति बनाएका थियौं । त्यसलाई प्रहार गर्दै कमजोर बनाउँदै लगियो र अहिले चुनावसम्म आइपुग्दा चुनावमा यस निर्वाचनमार्फत हाम्रो विजय फेरि पनि खोसिएको छ ।
निर्वाचनमा राज्यसत्ताको चरम दुरूपयोग
राज्यसत्ता र शक्तिको चरम दुरूपयोग भएको छ । राज्यका विभिन्न अङ्गहरूको दुरूपयोग भएको छ । सार्वभौम सत्ता सम्पन्न जनताको सार्वभौम अधिकारमाथि हमला भएको छ । सार्वभौम जनताले स्वतन्त्र ढङ्गले, शान्तिपूर्ण ढङ्गले, निर्भय ढङ्गले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसिएको छ । वास्तवमा यो सार्वभौमसत्ता सम्पन्न जनता माथिको प्रहार हो । यो लोकतन्त्र माथिको प्रहार हो, संविधान माथिको प्रहार हो, कानून माथिको प्रहार हो, कानूनीराज माथिको प्रहार हो । यो लोकतान्त्रिक अभ्यास माथिको प्रहार हो । लोकतन्त्रलाई जीवन्त राख्न, सुदृढ गराउन आवधिक निर्वाचन गरिन्छ । निर्वाचनको अर्थ र महत्व त्यतिबेला रहन्छ जब निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन्छ । तर यसपटक जनताको मताधिकार खोसिएको छ । सार्वभौम जनताको सार्वभौमसत्ता माथि प्रहार भएको छ, निर्वाचनमा सहभागी भइरहेका दुईजना सचेत नागरिकको हत्या भएको छ । निर्वाचन, मतदान र हत्या यो मिल्ने कुरा होइन, कहीँ यो मेल खाने कुरा होइन, तर भएको छ । गएको निर्वाचन(स्थानीय)मा पनि त्यस्तो भयो । हामीले आवाज उठायौं र हामीले यसपटक अपेक्षा गरेका थियौं–त्यसप्रकारको कुरा नदोहोरिएला तर त्यस्तो भएन । धेरै मानिसहरू अङ्गभङ्ग भएका छन्, घाइते भएका छन् । धाँधलीको सन्दर्भमा अहिले म धेरै चर्चा गरिरहन चाहन्नँ । निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरूको समेत भूमिका निष्पक्ष प्रभावकारी हुन सकेन । कानूनसम्मत र कर्तव्यनिष्ठ भूमिका त्यस्ता निकायहरूले पूरा गरे भन्न सकिने अवस्था छैन । धाँधली भएका ठाउँमा, बुथ क्याप्चर भएका ठाउँमा सबैलाई थाहा छ, बुथ क्याप्चर भएको छ, प्रमाणहरू छन् तर पुनः निर्वाचन गरिएन । जे भएको छ, त्यही गन्ने भनियो । नेपालजस्तो ठाउँमा ९८÷९९ प्रतिशत निर्वाचनमा भोट खस्नु, मरेका मान्छेका नाममा भोट हाल्नु, विदेश भएकाका नाममा भोट हाल्ने जस्ता कुराहरू भए । देख्नुपर्ने ठाउँबाट ती देखिएनन्, नदेखेझैं गरियो । यो कुराको मैले किन चर्चा गरेको हुँ भने– यदि आगामी दिनमा पनि हामीले यस्ता अलोकतान्त्रिक, अवाञ्छित, गैरकानूनी क्रियाकलापलाई रोक्न सकेनौं र यस्तै कुरा भइरहने हो भने लोकतन्त्र भन्ने कुराको के अर्थ हुन्छ ? लोकतान्त्रिक अभ्यास र निर्वाचन भन्ने कुराको के अर्थ हुन्छ ? बुथ कब्जा नै गर्ने हो भने के अर्थ हुन्छ ? त्यसकारण यस्ता कुराहरूप्रति हामी सजग हुनु र रोक्नु जरुरी हुन्छ । यदि यस्ता कुराहरूलाई रोक्न सकिएन भने जनताको विश्वास लोकतान्त्रिक अभ्यासप्रति हट्दै जान्छ र विस्तारै प्रणालीप्रति नै यो विश्वास कमजोर हुँदै जान्छ । यस्ता प्रवृत्तिहरूलाई नरोक्ने हो भने यसले विस्तारै विस्तारै अभ्यासलाई मात्रै होइन, प्रणालीप्रतिकै विश्वास हटाइदिने, प्रणालीलाई नै अलोकप्रिय बनाइदिने, जनताको नजरमा अविश्वसनीय बनाउने र अन्तिममा असफल बनाइदिन्छन् ।
नेपालको इतिहासमा ००७ साल यतादेखि पटक पटक प्राप्त भएका उपलब्धिहरू, प्राप्त भएका सफलताहरू फेरि ती गएर असफलतामा किन टुङ्गिनपर्ने ? किन तिनीहरूमाथि अतिक्रमित हुनुपर्ने ? सङ्घर्ष गरेर जनताले ल्याएका उपलब्धिहरू जनताले नै रक्षा गर्न नसक्ने ? यस्तै कुराहरू हुने गर्छन्, जसले गर्दा जनता यस्ता कुराहरूबाट विरत हुन्छ र टाढा हुन्छ ।
हामी हारेका छैनौं, हामी हार्दैनौं
कमरेडहरू !
यसको अर्थ–हामी हार्यौं भन्ने होइन, हामी हारेका छैनौं, हामी हार्दैनौं । हामीले जितेका छौं र हामी जित्छौं । हामीले हार्नु हुँदैन, हामीले हार्नै हुँदैन । हामीले हार्दा हाम्रो उद्देश्य हार्छ । देशको आकाङ्क्षा हार्छ । हामीले हार्दा देशको गन्तव्य हार्छ । हाम्रो गन्तव्य भनेको देशको गन्तव्य हो, जनताको गन्तव्य हो, जनताको आन्दोलनको गन्तव्य हो–समृद्ध नेपाल सुखी नेपाली ! त्यस राष्ट्रिय आकाङ्क्षाले हार्छ । त्यसकारण हामी हार्नु हुँदैन । हामीलाई हार्ने सुविधा पनि छैन र हामीलाई हार्ने छुट पनि छैन । हामी हार्दा देशको भविष्य हार्छ । त्यसकारण अघि मैले भनेको हुँ कि हामी आगामी दिनमा ठूला सफलताका निम्ति, निर्णायक सफलताका निम्ति र यस देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाइछोड्ने, त्यो सङ्कल्पलाई साकार पार्न आत्मविश्वासका साथ अगाडि बढ्छौं ।
हामीले अघि नै चर्चा गर्यौं, हाम्राविरुद्ध के कस्ता प्रपन्च, जालझेल, षडयन्त्र भए, के कस्ता भ्रम, अफवाह फिजाइए, हामी माथि के कस्ता झुटा लाञ्छना र अभियोगहरू लगाइयो र जनतालाई हामीबाट टाढा पार्नका निम्ति अनेक प्रकारका जालीखेलहरू खेलिए । तर, फेरि पनि परिणाम हेरौं । परिणाम अहिले पनि जनताले सबैभन्दा मन पराएको पार्टी नेकपा (एमाले) नै हो । सबैभन्दा बढी २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ । विभिन्न आँकडा, विभिन्न कोणबाट हामीले हेर्यौं । नेकपा (एमाले) फेरि पनि अरुभन्दा उँचै छ । नेपाली जनताले नेकपा (एमाले) लाई होच्याउन खोज्ने, हाँेचो बनाउन खोज्ने, कमजोर बनाउन खोज्ने प्रयासहरूलाई फेरि पनि असफल बनाइदिएका छन् । नेकपा (एमाले) यसरी सर्वाधिक लोकप्रिय, सर्वाधिक महत्वपूर्ण र सात प्रदेशमध्ये छ वटा प्रदेशमा त १ नम्बर पार्टी भएको छ । हामी गर्व गरांै–हाम्रो पार्टी नेकपा (एमाले) सर्वाधिक जनताले मन पराएको लोकप्रिय पार्टी हो । मलाई लाग्छ, हामी गर्व गर्न सक्छौं ।
एमालेको अध्यक्षलाई फलानो बिनाको एमाले भनेर कम्ति कराएनन् । साँझको बेलामा बाँसघारीमा सारु त्यति कराउँदैन होला, तिनीहरू त्यति कराए । केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल, एमाले बिनाको संसद भनेर कम्ति कराएनन् । तर, नेकपा (एमाले) को अध्यक्षलाई पनि जनताले सर्वाधिक मत दिएर विजय बनाउनु भएको छ ।
हिजैदेखि हाम्राविरुद्ध कहिले अभियोग लगाउने, कहिले मुद्दा हाल्ने, हामीले जुन जनादेश प्राप्त गरेका थियांै, त्यो जनादेशलाई अस्वीकार गर्ने, त्यसलाई कुल्चिने, देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयासहरू भए । हामीलाई कमजोर पार्नकै निम्ति ज–जसको जे–जे अधिकार क्षेत्र हो, संवैधानिक अङ्गका, राज्यका अङ्गका अधिकार क्षेत्रमा पनि अतिक्रमण गरेर परमादेशबाट हामीलाई हटाउने काम मात्रै भएन, संसदको अधिकार क्षेत्रमा अतिक्रमण भयो । लोकतान्त्रिक मूल्य मान्यताहरू कुल्चिए । संवैधानिक व्यवस्थाको पालना भएन । संविधानमा नभएका कुराहरूको व्याख्या भयो । ती कुराहरूमा म पछि जाउला । तर एक ढङ्गले भन्ने हो भने यो अदालती ‘कू’ जस्तोबाट हामीलाई सरकारबाट हटाइयो । आजभन्दा ठीक दुईवर्ष अगाडि पुस ५ गते जब पुरानो जनादेशलाई उल्लङ्घन गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने, कुशासनतर्फ धकेल्ने, अनेक प्रकारका अनुचित लेनदेन, सेटिङका खेलहरू प्रारम्भ भए र देश अप्ठ्यारो र असहज अवस्थातर्फ बलजफ्ती धकेलिने सङ्केतहरू देखिए । त्यसबेला हामीले स्थिरता, स्थायित्वका लागि, ताजा जनादेशका लागि जनताको जनादेशभन्दा परबाट कसैले अनुचित ढङ्गले कसैले देशलाई बर्बाद पार्ने दिशामा धकेल्न नसकोस्, जनादेशबाट फेरि हामी देशलाई अगाडि बढाऔं भनेर ताजा जनादेशका लागि मिति घोषणा गर्यौं, प्रतिनिधिसभा भङ्ग गर्यौं र ताजा जनादेशबाट देशलाई अगाडि बढाउने, लोकतान्त्रिक मूल्य मान्यता अनुसार सहज र सरल ढङ्गले देशलाई अग्रगमनतर्फ लाने प्रयासहरू गर्यौं । तर पुरानो जनादेश कुल्चिने, नयाँ जनादेशमा जान नदिने, अदालतको दुरूपयोग गर्ने, परमादेश जारी गर्ने यस्ता खालका कामहरूबाट देशलाई धकेल्दै आजसम्म ल्याइपुर्याइयो ।
त्यसपछि के भयो ? हामीले ताजा जनादेशमा जाने भनेका थियौं । देशलाई अस्थिरतातर्फ धकेलिँदैछ भनेर सजग गराउन खोजेका थियौं । ताजा जनादेशबाट यी सबै बेठीक दिशातर्फका यात्रा, प्रयास, क्रियाकलाप, अस्वस्थ गतिविधि, अराजकता सबै कुरालाई रोक्न हामीले खोजेका थियौं र लोकतान्त्रिक बाटोमा अगाडि बढाउन खोजेका थियौं । त्यसलाई अस्वीकार गरेर कता लगियो ? बितेका यी १६ महिनामा के भयो ? र आज परिणाम के भयो ? आज देश असाधारण र अभूतपूर्व ढङ्गले अस्थिरतामा गएको छ । राजनीति अराजकतातर्फ गएको छ । सामाजिक, साँंकृतिक विचलनतर्फ र अधोगतितर्फ गएको छ । आर्थिक हिसाबले समाल्न नसकिनेगरी बर्बादीतर्फ गएको छ । यस्तो अवस्थामा हामी एउटा नयाँ सङ्कल्प लिएर अगाडि बढ्दैछौं ।
जनप्रतिनिधिलाई अध्ययनशील र अनुशासित बन्न निर्देशन
हाम्रा नयाँ प्रतिनिधि सभाका सदस्यहरू र प्रदेशसभाका सदस्यहरू, जो नवनिर्वाचित हुनुहुन्छ, सबैले आफूलाई साँचो जनप्रतिनिधि कस्तो हुन्छ ? साच्चैको जनप्रतिनिधिले संसदमा कस्तो भूमिका खेल्नुपर्छ ? बाहिर कस्तो भूमिका खेल्नुपर्छ ? यी कुराहरूमा अत्यन्तै गम्भीरतापूर्वक ध्यान दिन र क्रियाशील हुन जरूरी छ । म हाम्रा सम्पूर्ण साथीहरूलाई त्यस भूमिकाका लागि अध्ययनशील हुन, योजनाबद्ध ढङ्गले काम गर्न, दृढताका साथ, स्पस्टताका साथ प्रस्तुत हुन, टिम स्प्रिटमा दलका निर्णय, पार्टीका नीति, पार्टीका निर्णय, दलको अनुशासन, दलका आदेश, दलका निर्देश अनुसार चल्ने दृढ अभ्यासमा कायम रहन आग्रह गर्न चाहन्छु । किनभने दलले देश र जनता बाहेक, राष्ट्र र राष्ट्रियता बाहेक, सुशासन बाहेक वा सकारात्मक सोच बाहेक अरु कुनै सोचेको हुँदैन । त्यसकारण पार्टीभन्दा आफैँ पृथक जान्ने, पार्टीले भनेको नमान्ने, पार्टीभित्र अस्वस्थ गतिविधि, गुटगत क्रियाकलाप जस्ता कुराहरू वास्तवमा आन्दोलनलाई गम्भीर ढङ्गले क्षति पुर्याउने र कमजोर पार्ने कुराहरू हुन् । ती कुराहरूबाट हाम्रो पार्टी जोगिँदै आएको छ र त्यस्ता प्रवृत्तिहरूलाई पराजित गर्दै सफलतापूर्वक आएको छ । म साथीहरूलाई आग्रह गर्न चाहन्छु,–यस बीचमा देशलाई जसरी लगियो र हिजो संसदलाई जसरी अकर्मण्य, अप्रभावकारी, अनाकर्षक विषयको रूपमा जस्तो लगियो, त्यसबाट जोगाएर आगामी दिनमा हामीले संसदलाई अगाडि बढाउन हामीले आफ्नो भूमिका त्यसअनुसार बढाउनुपर्छ ।
आज देश वास्तवमै गम्भीर अस्थिरतातर्फ गएको छ । १६५ सिटका साथ गठन भएको हुँँ भनेको गठबन्धन निर्वाचनको परिणाममा आइपुग्दा गठबन्धनले मात्रै सरकार गठन गर्न नपुग्ने अवस्थामा आइपुगेको छ । गठबन्धनले मात्रै सरकार गठन गर्न सक्दैन । अरू पनि सहयात्रीहरू उसले खोज्नुपर्ने अवस्था छ । आज मुलुकको राजनीति फेरि लेनदेन, फेरि सेटिङतर्फ जान थालेको छ । हिजो ४ वटा राष्ट्रिय पार्टी थिए । आज ७ वटा छन् । अहिले पार्टी धेरै भए, परिणाम के भइराखेको छ भन्दा सरकार गठनको बारेमा बोल्नसक्ने अवस्था कसैको पनि छैन । कसको सरकार बन्छ, कसको नेतृत्वमा बन्छ, यो कसैले भन्न सक्ने अवस्था छैन । कस्तो अन्योलको स्थिति ? लोकतन्त्रमा यस्तो अन्योल हुन हुने होइन । लोकतन्त्रलाई कमजोर बनाएपछि अन्योलहरू सुरु हुन्छ । अन्योल सुरु भएको छ । आज राजनीतिक दल भनेको के हो ? त्यसको परिभाषा नै अन्योल, अस्पस्ट भएको छ । राजनीतिक दल भनेको एउटा आदर्शमा, एउटा उद्देश्यमा गठन भएको हुन्छ । त्यसका विचार, सिद्धान्त, दर्शन हुन्छन्, त्यसका नीति कार्यक्रम हुन्छन् । त्यसको गन्तव्य हुन्छ । त्यसका कामहरू के के हुन्, तोकिएका हुन्छन् र त्यस उद्देश्यमा राजनीतिक दल गठन भएको हुन्छ । म कसैलाई केही भन्न चाहन्नँ । तर, आज दलहरू कसरी गठन भइरहेका छन् ? आदर्शमा होइन, उद्देश्यमा होइन, नीतिमा होइन, विचारमा होइन । केमा गठन भएका छन्, केमा गठन भएका छन् । दल कसरी चल्नुपर्ने ? त्यसरी चलिराखेका छैनन् । दलहरू त नीति, विधि, विचार अनुसार चल्नुपर्ने हो । नियम हुन्छन्, नीति हुन्छन्, विधि हुन्छन्, विचार हुन्छन्, पद्धति हुन्छन् । तर, प्रतिक्रिया वा लहडमा दल बन्ने र स्वार्थ, लेनदेन र भागबण्डामा दल चल्ने ? सरकार पनि त्यस्तै एउटा खास उद्देश्यका लागि होइन, लेनदेन, सेटिङ, गठबन्धन, वैयक्तिक स्वार्थ, कसले कुन पद पाउने ? कुन पद पाउनका लागि सरकार बन्ने ? योभन्दा दुखद् स्थिति के हुन्छ ? आज तपाईं हामी सरकार केका लागि बन्ने सुनिराखेका छौं ? को प्रधानमन्त्री हुने ? को राष्ट्रपति हुने ? कसले प्रधानमन्त्री छोड्दिन भन्यो अरे, कसले प्रधानमन्त्री म पनि छोड्दिन भन्यो अरे । यस्तै कुरामा सरकार गठनमा अल्झिएको छ । गठन हुँदा पनि यस्तै कुराको लेनदेनबाट सरकार गठन हुने हो ।
विचारका लागि, उद्देश्यका लागि, गन्तव्यका लागि, देशका लागि, विचारका लागि, सुशासनका लागि सरकार बनिराखेको छैन । सरकार बन्ने प्रयास अहिले कसरी भइराखेका छन् ? नेकपा (एमाले) बाहेक दलहरूको कुरा भन्ने हो भने, आज दलहरू नेताका स्वार्थ, लोभ र पदीय आकाङ्क्षाका भद्दा बनेका छन् । उनीहरू त्योभन्दा बाहिर जान सक्दैनन्, उनीहरूसँग विचार छैन, उद्देश्य छैन, गन्तव्य छैन । हालत त्यो छ । दलहरूलाई देशको अवस्थाप्रति चिन्ता छैन । आफूले कुन पद प्राप्त गर्ने, आफ्नो स्वार्थ कसरी पूरा हुन्छ, यसैअन्तर्गत सरकार बनाउने जुन कसरत भइराखेको छ, त्यो पनि यसै अन्तर्गतको भद्दा कसरत हो । जो देशका लागि एउटा दुखद् कुरा हो, चिन्ताको विषय हो ।
आम चुनावपछि सरकार बन्नु अपरिहार्य छ । तर, सरकार किन र केका लागि बन्ने ? किन बन्ने सरकार ? यी चिजहरूको उत्तर आएपछि मात्रै सरकार कस्तो बन्ने भन्ने कुरा आउँछ । सरकार त देशका लागि हुनुपर्ने, जनताका लागि बन्नुपर्ने, सुशासन र विकासका लागि बन्नुपर्ने, जनतालाई सेवा सुविधा पुर्याउनका लागि हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्न, गरिबी निवारण गर्न र लोकतन्त्रलाई सुदृढ गर्न सरकार बन्नुपर्ने हो । यस विषयमा चर्चा हुनुपर्ने र यस विषयमा केन्द्रित हुनुपर्ने हो । तर, हाम्रो दलबाहेक यस दिशामा सरकार कस्तो बन्ने, किन बन्ने, कसको बन्ने होइन कि अरु नै कुरामा केन्द्रित छन् । यी उद्देश्यका लागि अहिले सरकार बन्ने अभ्यास भइराखेको छैन । यिनका विपरीत र यी कुराहरूलाई कमजोर पार्न लागि सरकार बन्ने अभ्यास र खेल अहिले चलिराखेको छ । जुन देशको भविष्यप्रतिको डरलाग्दो सङ्केत हो । सरकार गठनको यस्तो अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यासप्रति हाम्रो पार्टी नेकपा (एमाले) पूर्णरूपमा असहमत छ र त्यसको विरुद्धमा छ । यस्ता कुराहरूमा हाम्रो पार्टी जाँदैन । हामी सत्ता अथवा प्रतिपक्ष जहाँसुकै रहौं, जहाँ रहेपनि राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, सुशासनयुक्त कानूनीराज, आर्थिक र सामाजिक विकास, सामाजिक न्याय र समानता, शान्ति सुव्यवस्था लगायत नागरिक सम्मान एवं राजनीतिक स्थिरता र स्थायित्वका पक्षमा दृढतापूर्वक अडिन्छौं र आफ्नो सक्रिय भूमिका र जिम्मेवारी बहन गर्नेछौं । म हाम्रा सबै माननीयज्यू र सबै साथीहरूलाई भन्न चाहन्छु, हामी जहाँ भए पनि कहाँनिर छौं भनेर चिन्ता नगरौं । तर, हाम्रा उद्देश्यहरू महान् छन्, हाम्रा भावनाहरू पवित्र छन्, हाम्रो क्रियाकलाप ती महान् उद्देश्य र पवित्र भावनाहरूप्रति समर्पित छन् । हामी के प्राप्त गर्छौं भन्ने कुरालाई केन्द्र भागमा राखेर होइन, कसले कुन पद पाउँछ भन्ने कुरालाई केन्द्रभागमा राखेर होइन, आफ्नो निजी र व्यक्तिगत स्वार्थलाई केन्द्रभागमा राखेर होइन, अहिले मैले भनेको जस्तै देश र जनतालाई सर्वोपरि राखेर हाम्रो भूमिका जहाँ भएपनि हामी भूमिगत भए पनि, हामी जेलमा भए पनि, निर्वासनमा भए पनि वा जहाँसुकै भए पनि यिनै कुराहरूलाई केन्द्रभागमा राखेर चलेका थियौं । अहिले हामी सडकमा आउँला, संसदमा आउँला वा सरकारमा आउँला । जहाँ जहाँ हामी छौं, त्यहाँ देश र जनताको पक्षमा आवाज उठाउँछौं, देश र जनताको पक्षमा हामी उभिन्छौं । त्यसका निम्ति हामी काम गर्छौं । अरु र हाम्रो फरक त्यो हो ।
मैले धेरै अगाडिदेखि भन्ने गरेको छु, हाम्रो पार्टी अरुले ल्याइदिएको लोकतन्त्रमा बिना मूल्य कुनै लाभ लिइहालौं भनेर आएको पार्टी होइन । यो राणा शासनको अन्धकार युगमा खुलेर अनेक उचारचढाव झेलेर नेपाली जनताको काखमा जन्मिएर, हुर्किएर, बढेर र अनेक प्रकारका हावाहुरी, घामपानी, बतास, आँधी बेहेरी, सुख्खा, खडेरी सबै झेल्दै, प्रतिकुलताहरू झेल्दै यहाँसम्म सङ्घर्ष गरेर आएको पार्टी हो । यो सभ्रान्त अभिभावकले पुल्पुल्याएर हुर्काएको सन्तान होइन तर यो धुलोमा लड्दै उठ्दै गरेर र बलिदानपूर्ण सङ्घर्षको आरनमा खारेर स्पात बनाएको पार्टी हो । त्यसकारण यो पार्टी त्यसैअनुसार देश र जनताको हितको पक्षमा अगाडि बढ्दै जान्छ । त्यसैकारण यसको प्रतिरोधी क्षमता असाधारण छ, यसको लड्ने क्षमता असाधारण छ । यसको सोच्ने क्षमता वैज्ञानिकता छ, मानवतावादी छ, विश्वव्यापी छ, विश्व शान्तिको पक्षमा छ, विश्व बन्धुत्वको पक्षमा छ, विश्वमा कोही पनि मानव गरिब नहोस्, सबै सुखी होउन् भन्ने पक्षमा छ र यो विश्व एउटा न्यायोचित नयाँ विश्व व्यवस्था, शान्तिपूर्ण विश्वव्यवस्था, न्यायोचित विश्व व्यवस्था, बलको होइन तर्क र तथ्यको, सत्यमा आधारित रहेको विश्व व्यवस्थाको पक्षमा छ । अन्तर्राष्ट्रिय क्षेत्रमा यो वास्तवमा लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा छ, सामाजिक न्याय र समानताको पक्षमा छ । लोककल्याणकारी विश्वव्यवस्थाको पक्षमा छ । देशभित्र पनि र त्यसैगरी लोककल्याणकारी सुशासनयुक्त, विकासमुखी, सामाजिक न्याय र समानतासहितको शान्तिपूर्ण समाज, सम्मानजनक व्यक्तिको विकास, सम्मानजनक ढङ्गको वातावरणको पक्षमा छ ।
अहिले कस्तो सरकार बन्छ ? यतापट्टी हाम्रो धेरै चिन्ता होइन । कस्तो सरकार बन्छ, कसले नेतृत्व गर्छ, यो धेरै चिन्ताको विषय होइन । चिन्ताको विषय देशप्रति, जनताप्रति, देशको भविष्य, जनताको भविष्यप्रति हाम्रो पार्टीको चिन्ता हो । खासगरी यतिबेला हाम्रो पार्टीलाई ३ वटा मूल विषयमा चिन्ता छ ः
राजनीतिक क्षेत्रमा अस्थिरता र अराजकता
यतिबेला डरलाग्दोगरी अगाडि बढेको छ, मौलाएको छ– इतिहास चाहिँदैन, योगदानको कुनै अर्थ छैन, योगदानलाई अनादर गर्नु्पर्छ, अनुभवको कुनै आवश्यकता छैन, बलिदानको केही अर्थ छैन, देशमा लोकतन्त्रको कुनै अर्थ छैन, कर्तव्यपालनाको कुनै अर्थ छैन, सत्य र निष्ठाको कुनै अर्थ छैन भन्ने यस प्रकारका गलत धारणाहरू, गलत मान्यताहरू स्थापित हुन खोजेका छन् । तसर्थ यस कुराबाट हामी चिन्तित छौं । यो अस्थिर राजनीतिलाई स्थिरतातर्फ र अराजकतालाई आदर्श बनाउने ठाउँबाट अनुशासित लोकतन्त्र, अनुशासित प्रणाली, राज्यका सबै अङ्गहरू सबै आफ्ना आफ्ना ठाउँमा बसून् । त्यस दिशातर्फ लाने कसरी ? यसमा हाम्रो पार्टी चिन्तित छ ।
सांस्कृतिक विचलन र सामाजिक विशृङ्खलता
एउटा परिवार, एउटा व्यक्ति, एउटा समाज, उसको आर्थिक अवस्था बिग्रियो भने केही वर्षको प्रयासपछि फेरि पुनःस्थापित गर्न सकिन्छ, पुनर्उत्थान गर्न सकिन्छ । तर, एउटा व्यक्तिको चारित्रिक पतन भयो भने, नैतिक पतन भयो भने, इमानको पतन भयो भने, साँस्कृतिक पतन भयो भने त्यो उसको जिन्दगीमा उठ्दैन । एउटा समाज यदि साँस्कृतिक रूपले विचलित भयो भने आफ्नो संस्कृति, सभ्यता, इतिहास त्यसप्रति कुनै गर्व छैन र बहकिन थाल्यो भने त्यसले आफ्नो वास्तविक पहिचान गुमाउँछ र त्यो अधोपतनतिर जान्छ र त्यो अधोपतनलाई दुईचार वर्ष, दुईचार दशकमा पनि सच्याउन सकिँदैन, लामो समय लाग्छ । त्यसकारण यस कुरामा हामी चिन्तित छौं ।
गठबन्धन सरकारको १६ महिनामा अर्थतन्त्र धराशायी
देशमा भर्खरै भित्तो समात्दै बामे सर्दै उठ्न थालेको अर्थतन्त्र, अलिकति टुकुर टुकुर हिँड्न थालेको अर्थतन्त्रलाई गठबन्धन सरकारका १६ महिनामा अपाङ्ग बनाउने, धराशायी बनाउने काम भएको छ । केही वर्षसम्म सच्याउन मुस्किल पर्नेगरी अर्थतन्त्र ध्वस्त भएको छ । हामी आत्मनिर्भर अर्थतन्त्र भनिराखेका छौं र लगातार परनिर्भरतातर्फ अगाडि बढिराखेका छौं । यी १६ महिनामा हाम्रो यात्रा परनिर्भरतातर्फको भयो । उल्टो बाटो हामी गयौं । निर्यात गर्नका लागि हामीसँग वस्तु छैन, हामीसँग उत्पादन छैन । आयात गर्नका लागि पैसा छैन । हामीसँग विदेशी मुद्राको सञ्चिति छैन । अहिले कर उठ्ने कुरा त्यो पनि माइनसमा जाने भनेको बहुत डरलाग्दो हो । पहिले कोभिड हुँदा पनि अलिकति तल खस्किएको हुँदो हो, व्यापार नहुँदा पनि अलिकति तल खस्किएको हुँदो हो तर माइनसमा गएको थिएन । अहिले २२÷२५ प्रतिशत राजश्व माइनसमा छ । बजारमा पैसाको कारोवार, क्रियाकलाप घटेको छ । बैंकको ब्याज घटेको छ, बैंकसँग ऋण दिने पैसा छैन । बैंकमै तरलताको अभाव भएपछि, बैंकले नै नागरिकलाई पैसा दिन नसकेपछि आर्थिक क्रियाकलाप ठप्प हुने नै भयो । अहिले शिक्षा क्षेत्रको लगानी होस् कि स्वास्थ्य क्षेत्रको, पूर्वाधार क्षेत्रको लगानी होस् कि अथवा सामाजिक क्षेत्रको, सबै क्षेत्रका लगानी घटेको छ । बनिरहेका बाटाहरूको निर्माण कार्य रोक्ने आदेश दिइएको छ । विकास निर्माणका कामलाई ठप्प पार्ने र देशलाई ओरालो बाटो लगाउने काम भएको छ । ठेक्कापट्टा रद्द भएका छन् । डरलाग्दोगरी बेरोजगारी बढेको छ, रोजगारीका अवसरहरू सिर्जना गर्ने स्थिति छैन । हाम्रो चिन्ता यतापट्टी छ । हाम्रा युवाहरू लगातार विदेश जाने क्रम बढ्दो छ र हाम्रो जम्माजम्मी अर्थतन्त्र विप्रेषणमा मात्रै आधारित हुने दुखद् स्थिति छ । एक दुईवटा देशमा मन्दी लाग्यो र हामीले त्यहाँ पठाउन नसक्ने स्थिति बन्यो भने के हुन्छ, हाम्रो विप्रेषण अर्थतन्त्रको ? त्यसकारण हामी अत्यन्तै भयावहक स्थितिमा छौं ।
मुख्य रूपमा हामी यो तीनवटा कुरामा चिन्तित छौं । सर्वत्र बेहाल छ तर यी तीनवटा कुरा मुख्य बेहाल छन् । यतिबेला डरलाग्दो प्रवृत्तितर्फ देश जाँदैछ ।
म मेरो पार्टीका सम्पूर्ण साथीहरूलाई, माननीय सांसदहरूलाई, सबै प्रदेश सभाका सदस्यहरूलाई, हाम्रा स्थानीय तहमा काम गरिरहेका स्थानीय तहका जनप्रतिनिधि साथीहरूलाई र यस देशका अलिकति अर्थशास्त्र बुझ्ने, जान्ने सम्पूर्ण साथीहरूलाई, प्रशासकहरू सबैलाई यतातर्फ गम्भीरताका साथ ध्यानाकर्षण गर्न चाहन्छु र आग्रह गर्न चाहन्छु, यी विषयहरूप्रति गम्भीर होऔं । यी विषयहरूलाई बिलम्व नगरी सम्बोधन गर्ने परिपाटी मिलाऔं । म राजनीतिक दलहरूलाई पनि आग्रह गर्न चाहन्छु । यद्यपि राजनीतिक दलहरूको अवस्था यी कुराहरू बुझ्ने तहमा छैन । नेकपा (एमाले) का विचार, भाषा, उद्देश्य बुझ्ने तहमा राजनीतिक दलहरू देखिँदैनन् । तर पनि हाम्रो कर्तव्य हो । हामी सम्पूर्ण राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छौं, राजनीतिक अस्थिरता र अराजकता, सामाजिक, सांस्कृतिक विचलन र आर्थिक दुरावस्थातर्फ जुन उल्टो बाटोतर्फ देश तीव्र गतिमा धकेलिएको छ, यसलाई रोक्न सबैले ध्यान दिऔं । म साथीहरूलाई आग्रह गर्न चाहन्छु, यी कुराहरूमा सकारात्मक प्रयास अत्यन्त गम्भीरताका साथ, अत्यन्तै संयमका साथ, अत्यन्तै जिम्मेवारीपूर्वक यी कुराहरूमा हाम्रो सकारात्मक प्रयास केन्द्रित हुनुपर्दछ ।
अहिले मैले अर्थतन्त्रका सूचकहरू, समाजका अन्य पक्षहरू अथवा राजनीतिमा अस्थिरताका पक्षहरूको अलिक सविस्तारमा व्याख्या गरेँ भने धेरै समय लाग्छ । त्यसकारण म त्यतातिर जान चाहन्नँ । संक्षिप्तमा हामी सबैको ध्यानाकर्षण गर्न खोजेको हुँ र मैले देशकै पनि ध्यानाकर्षण गर्न खोजेको हुँ ।
देशमा हामीले लोकतान्त्रिक प्रणाली ल्याएका छौं । लोकतन्त्रले कमसेकम चार वटा चिज देशलाई दिनुपर्छ
सुशासन
सामाजिक न्याय र समानता
विकास
जनतालाई सेवा दिनुपर्छ
अहिले लोकतन्त्र, सुशासन दिन कति सफल भइराखेका छौं ?, अहिले सामाजिक न्याय र समानता दिन कति सफल भइराखेको छौं ?, अहिले देशमा विकासको अभियानलाई अगाडि बढाउन, गति दिन कत्तिको सफल भइराखेका छौं ?, जनतालाई सेवा सुविधा पुर्याउन, मौलिक हकहरूको परिपूर्ति गर्न कति सफल भइराखेका छौं ?
वास्तवमा यि कुराहरूमा चिन्ताजनक स्थिति छ । लोकतन्त्रले जे गर्नु पर्थ्यो, जे उपलब्ध गराउनुपर्थ्यो, जे दिनुपर्थ्यो, त्यो दिन नसक्नेगरी लोकतन्त्रलाई अशक्त बनाइएको छ । लोकतन्त्र भनेको यस्तै रहेछ भन्ने एउटा गलत नजिर, गलत धारणा जनमानसमा स्थापित गर्न खोजिएको छ ।
हामी कता भर पर्न थाल्यौं ?
वास्तविक लोकतन्त्रमा सार्वभौमसत्ता जनतामा हुन्छ र राज्यशक्तिका स्रोत जनता मानिन्छन् । वास्तविक लोकतन्त्र त्यो हो, जहाँ सार्वभौमसत्ता जनतामा छ र राज्यशक्तिका स्रोत वास्तवमा जनता हुने गर्छन् । आज राज्यशक्तिका स्रोत को हुन थाले ? के हुन थाले ? हामी कसको मुख हेर्न थाल्यौं ? कता भर पर्न थाल्यौं ? धेरै नै गम्भीर स्थिति छ । हामी जनतामा सार्वभौमसत्ता हुने भएकाले नै र राज्यशक्तिका स्रोत जनता हुने भएकाले लोकतन्त्रमा जनताको शासन हुन्छ भन्छौं । जनताको शासन हुन्छ भने जनताले आफ्नैविरुद्ध कुशासन त लाद्दैन । लोकतान्त्रिक प्रणाली छ, लोकतन्त्रमा जनता सार्वभौमसत्ता सम्पन्न हुन्छन् र राज्यशक्तिको स्रोत हुन्छन् । जनता आफैँले शासन गर्छन् भने जनताले आफ्नैविरुद्ध कुशासन त लगाउँदैन तर पनि सुशासन किन हुँदैन ? किन कानूनी राज हुँदैन ? किनभने जनता हरेकले आफैँले प्रत्यक्ष रूपमा लोकतान्त्रिक राज्यका सबै कामकाज गर्न सम्भव हुँदैन । प्रत्यक्ष रूपमा आफैँ ती काम गर्न सक्दैन । तसर्थ जनताले आफ्ना तर्फबाट राजकीय कामकाज, राज्य सञ्चालन आदिका लागि प्रतिनिधि छान्छ र प्रतिनिधि आवधिक निर्वाचनमार्फत छानिन्छन् र ती प्रतिनिधिमार्फत राज्य सञ्चालन गर्ने मूल कानून संविधानको निर्माण, कानूनको निर्माण, सरकारको निर्माण र राज्यका विभिन्न अङ्ग र निकायको निर्माण, संरचनागत निर्माण र तिनको परिचालनगत पक्षहरू यी सबै कुरा जनताले आफ्ना प्रतिनिधिमार्फत गर्छन् । त्यसका लागि प्रतिनिधि छान्छन् । यहाँनिर महत्वपूर्ण कुरा के हो भने, लोकतन्त्रको सफलता र असफलताको मार्ग छुट्टिने ठाउँ यही हो । एउटा कुरा उपयुक्त पात्र छान्ने वातावरण भयो कि भएन ? अर्को जनताले उपयुक्त प्रतिनिधि छान्न सक्यो कि सकेन ? सबैभन्दा महत्वपूर्ण परिघटना लोकतन्त्र वा असफल हुने महत्वपूर्ण परिघटना र मोड हो । देशको राजनीतिक मोड नै यहाँ हुन्छ । सही प्रतिनिधि छानिए भने लोकतन्त्र फल्छ, फुल्छ, सही बाटोमा अगाडि बढ्छ । तर कारण जेसुकै होस्, सही प्रतिनिधिको सट्टा गलत प्रतिनिधि चुनिए भने लोकतन्त्र गलत बाटो र गलत अभ्यासतिर धकेलिन्छ । त्यसो भयो भने, लोकतन्त्र जनताबाट अलग हुँदै जान्छ र जनविरोधीमा परिणत हुँदै जान्छ । लोकतन्त्र जनताको कष्टको कारण आफैँ भइदिन्छ । यदि ठीक ढङ्गले प्रतिनिधिको छनोट हुन सकेन भने उसैले छानेका प्रतिनिधि, प्रतिनिधिमार्फत बनेको प्रतिनिधिको सरकार, राज्यका संयन्त्र तिनै उसका निम्ति कष्टका कारण भइदिन्छन् । त्यसो भएपछि जनताको असहमति र विरोध बढ्दै जान्छ । जनतामा घृणा, आक्रोश बढ्छ र विरोध बढ्दै जान्छ । जनताको सहभागिता लोकतान्त्रिक अभ्यासका नाममा कम हुँदै जान्छ, घृणा र आक्रोश बढ्छ । फलतः प्रणाली नै असफल हुने विन्दुमा पुग्छ । लोकतान्त्रिक प्रणाली किन असफल हुन्छ ? त्यसैकारण असफल हुन्छ । त्यसकारण निर्वाचन र निर्वाचनको परिणाममार्फत सही प्रतिनिधि, देशभक्त जनप्रतिनिधि, जनपक्षीय जनप्रतिनिधि, लोकतन्त्रपक्षीय जनप्रतिनिधि, सुशासनका पक्षधर जनप्रतिनिधि, स्वच्छ आचरण भएका जनप्रतिनिधि छान्न जरुरी हुन्छ । त्यो छान्न सकिएन भने लोकतन्त्र अधोगतितर्फ जान्छ । त्यसकारण हामीले निर्वाचनमा सही प्रतिनिधि छानिउन्, गलत प्रतिनिधि नछानिउन् भन्ने कुरामा ध्यान दिनुपर्छ र त्यसका निम्ति सचेत, संगठित, योजनाबद्ध ढङ्गले सक्रिय हुनुपर्दछ । सही प्रतिनिधि छान्न सक्रिय हुनुपर्दछ । त्यसो भनेको जनतालाई सही विचार र जनतालाई सुसूचित एवं त्यस विचारमा संगठित गरेर प्रतिबद्ध बनाउनुपर्छ र जनतालाई परिचालित गर्नुपर्छ ।
यस पटक हामीले आवश्यक पर्ने सिटहरू ल्याउन सकेनौं । आवश्यक सिट ल्याउन सकेनौं भनेको केभन्दा अघि मैले भनेका कुराहरू गर्न सकेनौं । हामीलाई आवश्यक पर्ने सिटहरू आएनन्, कम सिट आए । हामीले जनतालाई सचेत गर्न, त्यस चेतनामा संगठित गर्न, भ्रमबाट मुक्त गर्न र आफ्ना उद्देश्यहरू, आफ्ना हितहरू र आफ्नो गन्तव्य जनतालाई सही ढङ्गले बुझाउनुपर्छ र जनताले पनि बुझ्नुपर्छ । ती बुझाइमा जनतालाई संगठित गर्नुपर्छ । ती बुझाइमा जनतालाई त्रासमा नपर्ने, भ्रममा नपर्ने, अलमलमा नपर्ने, लोभमा नपर्ने, नबेचिने, नकिनिने अवस्थामा पुर्याउनु आवश्यक छ । देशको पक्षमा, लोकतन्त्रको पक्षमा उभिने गरी हामीले लानुपर्ने देखियो । हामीले जनतालाई आवश्यक मात्रामा सचेत र संगठित गर्न सकेनौं भन्ने कुरा पनि यसबाट देखिन्छ । त्यसकारण अब हाम्रो पार्टीले आगामी दिनमा यो भएनछ, त्यो भएनछ, सचेत बनाउन सकिएन छ, संगठित गर्न सकिएन छ, जनतालाई प्रतिबद्ध बनाउन सकिएन, आफ्नै हितप्रति साच्चै सचेत, सजग गराउन सकिएन, आफ्नै हितप्रति जनतालाई परिचालित गर्न वा आफ्नै हितप्रति सक्रिय गराउन सकिएन भन्ने कुरा रहन नपाओस् । यस दिशामा हाम्रो ध्यान जानुपर्छ ।
लोकतन्त्र स्वेच्छाचारी व्यवस्था होइन
राज्यका तीन प्रमुख अङ्गहरू हुन्छन्
पहिलो, राज्यका अङ्गहरूको सांगठनिक संरचना, तिनका अवयव, तिनका काम, कर्तव्य र अधिकार आदिको किटानी गरिएको हुन्छ । राज्यका लागि मार्गदर्शक सिद्धान्त, जनताका मौलिक हकहरू समेत समाजका सम्पूर्ण कुराहरू मूलतः समेटेको राज्यको मूल कानून संविधानको निर्माण वा संशोधनसहित कानून निर्माण र सरकारको गठन आदिको अधिकार भएको व्यवस्थापिका संसद हुन्छ । संसदका काम कर्तव्य अधिकार त्यसप्रकारका हुन्छन् । जसले संविधान, कानून, सरकार निर्माण र परिवर्तन गर्छ । राज्यका संरचनाहरू समेत बनाउने र ती संरचनाहरूको सञ्चालन विधिसम्मत बनाउने, संविधान, कानून बनाउने काम पनि व्यवस्थापिका संसदको हुन्छ ।
दोस्रो, आमरूपमा राष्ट्रप्रति र ठोस रूपमा संसद र संविधान, कानूनप्रति निष्ठावान् र उत्तरदायी संस्थाबाट निर्वाचित, संसदबाट निर्वाचित सरकार हुने गर्छ अर्थात् त्यसलाई हामीले कार्यपालिका भन्छौं ।
त्यसकारण विकास, निर्माण, सुशासन, शान्ति सुव्यवस्था, जनतालाई सेवा सुविधा उपलब्ध गराउनेदेखि लिएर अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन, राष्ट्र र जनताका हितका निम्ति, राष्ट्रको सुरक्षा, जनताको सुरक्षा लगायत शिक्षा, स्वास्थ्य सबै चिजको चाँजोपाँजो गर्ने अधिकार दिएको कार्यकारी हुन्छ, जसलाई हामी सरकार भन्छौं । जो हाम्रो देशमा जनप्रतिनिधि संस्थाबाट नै गठन हुन्छ । कतिपय देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रधानमन्त्रीको पनि प्रचलन छ, तर हाम्रो देशमा संसदबाट जनप्रतिनिधिबाट सरकार गठन हुने व्यवस्था छ ।
तेस्रो, जनप्रतिनिधि संस्था वा संसदबाट निर्मित र संविधान वा कानूनबाट तोकिएको, निर्दिष्ट विधिद्वारा गठित र सञ्चालित न्यायालय हुन्छ । मैले भनेको कुरा कमरेडहरूले राम्ररी ध्यान दिनु भएको होला । जनप्रतिनिधि संस्था वा संसदबाट निर्मित संविधान र कानूनबाट तोकिएको वा निर्दिष्ट विधिद्वारा गठित र सञ्चालित न्यायालय हुन्छ । न्यायालयलाई स्वतन्त्र न्यायालय भनेर मान्ने गरिन्छ । राज्य व्यवस्था समग्रतामा सन्तुलित रूपमा सञ्चालित होस् भनेर शक्ति पृथकीकरणको सिद्धान्त अबलम्बन गरिएको हुन्छ । सन्तुलन पनि कायम होस्, नियन्त्रण पनि कायम होस् । कुनै निकाय पनि आफ्ना दायराभन्दा स्वेच्छचारी ढङ्गले नजाओस् । लोकतन्त्र स्वेच्छाचारी व्यवस्था होइन । लोकतन्त्र आफ्ना आफ्ना थान्को, मानको मर्यादा, सीमा, अधिकार, कर्तव्यका दायराहरू तोकिएको निर्दिष्ट ढङ्गले चल्ने बाटोबाट हिँड्ने प्रणाली हो, कुबाटोमा जाने प्रणाली होइन । संविधान र कानुन अनुसार चल्ने, मर्यादा अनुसार चल्ने, देश र जनताका हितमा चल्ने प्रणाली हो । त्यस्तो प्रणाली शक्ति पृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रणको सिद्धान्तबाट अगाडि बढ्छ । जहाँ राज्यको एउटा अङ्गले अर्का अङ्गको अधिकार क्षेत्रभित्र हस्तक्षेप पनि नगरोस् र काम कारबाहीमा व्यवधान पनि नपुर्याओस् भन्ने प्रबन्ध पनि गरिएको हुन्छ । यी तीनवटा अङ्ग हुन्छन् र यिनीहरूले आफ्ना आफ्ना कर्तव्यहरू पूरा गर्छन् । तर हाम्रो देशमा मैले भनिरहनु परेन, सरकार कस्तो हालतमा छ ? देशप्रति गैरजिम्मेवार छ । राष्ट्रियताको कुरा गर्यो भने सरकार छाती पिटेर रुन थाल्छ, राष्ट्रियताको कुरा पनि गर्ने भनेर । कुनै जिल्ला गयो भने सरकार चिच्याउन थाल्छ, त्यो जिल्ला किन गएको ? भनेर । देशका निम्ति आवाज उठायो भने सरकार भन्न थाल्छ वा सत्तागठबन्धन कराउन थाल्छ, देशका निम्ति किन बोलेको ? भनेर । छिमेक सम्बन्ध थिचोमिचोका आधारमा होइन, अन्याय गर्ने र सहनेका आधारमा होइन, समानताको आधारमा, परस्परमा लाभ होस्, पारस्परिक सम्मान होस्, सबैको पारस्परिक हित होस्, त्यस आधारमा मित्रतापूर्ण सम्बन्ध, जहाँ मित्रतालाई कमजोर पार्ने कुनै पनि अनुचित त्यस्ता क्रियाकलापहरू नहुन्, त्यसका निम्ति हामी क्रियाशील हुन्छौं । तर नेपालमा अहिलेको गठबन्धन (शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय) सरकार त्यस्ता कुराहरूसँग डराउँछ । अन्तर्राष्ट्रिय सन्धि सम्झौता गोप्य रूपमा गर्छ । संसदमा पेश भयो भने उसलाई आपत हुन्छ । अनधिकृत ढङ्गले विदेशीसँग पत्राचार गर्छ । अनुचित मान्छेहरू, संविधानले नचिनेका मान्छेहरू पत्राचार गर्छन् र देशको भाग्य अनधिकृत ढङ्गले, कृतिम ढङ्गले बिना हैसियत कोर्ने काम गरिन्छ । देशको स्वाभिमानमाथि हमला गर्ने काम गरिन्छ । यो दुःखको कुरा हो । राज्यप्रति जिम्मेवार छैनन् ।
अहिले डेंगु आयो सरकार कहाँ छ ? कसैलाई थाहा भएन । पहिले त मान्छेहरू, सञ्चार माध्यमहरू विरोधमा कराउँथे, बद्धिजीवीहरू विरोधमा कराउँथे, लेख्थे, बोल्थे, भाषण गर्थे, आक्रोश व्यक्त गर्थे । विश्वव्यापी महामारी कोभिड आयो, त्यसको तत्कालीन सरकारले बहुतै दृढताका साथ र सफलतापूर्वक मुकाविला गर्यो । जनताको जीवन रक्षा पहिलो कुरा, जनताको जीवन पहिलो भनेर सरकारले काम गर्यो । त्यसका विरुद्ध अनेक प्रकारले मजाक र खिल्ली उडाउने काम गरे । तर, जाबो लामखुट्टेले टोकेर डेंगुु भइरहँदा सरकारले लामखुट्टे मार्ने कामसम्म गर्न सकेन । नेपाली जनताले डेंगुबाट ज्यान गुमाउनुपर्यो । गम्भीर भएर बाँच्नु पर्यो । सरकार छ कि छैन ? को अवस्थामा । बजारमा सिटामोल नपाइने स्थिति बन्यो ।
न्यायालय विश्वास विसाउने ठाउँ हुन सकेन
नेपालमा संविधान कार्यान्वयनमा राज्यका कुनै अङ्गहरूबीच वा राज्य र अन्य संघसंस्थाहरूका वा व्यक्तिका बीच वा अरु कोही सरोकारवालाहरूका बीच उल्लेखित व्यवस्थाको व्याख्याको सम्बन्धमा मतभिन्नता पैदा भएको अवस्थामा सर्वोच्च अदालत संविधानको अन्तिम व्याख्याता भनेर मानिन्छ । हाम्रो संविधानमा त्यसैगरी व्यवस्था गरिएको छ, तर यहाँ त व्याख्याका नाममा संविधानमा नभएको, संविधानको आशय, मर्म र भावना विपरीतका संविधानमा धारा नै थप्नु पर्नेगरी अपव्याख्या ! न्यायालयको राजनीतिकरण । डर, त्रास वा प्रलोभनमा न्यायालय स्वतन्त्र, निष्पक्ष, स्वच्छ र मर्यादित रहन नसक्ने अवस्था भएमा त्यो देशका लागि नै ठूलो समस्याको विषय बन्न सक्छ । अहिले नेपालको अवस्था त्यस्तै बनेको छ । जब न्यायालयबाट न्याय पाइन्छ भन्ने कुराबाट जनविश्वास हट्छ र न्यायालय अविश्वसनीय, आलोच्य र अमर्यादित बन्न जान्छ, यो दुखद् कुरा हो । हाम्रो चाहना र हाम्रो प्रयास न्यायालय स्वतन्त्र होस्, निष्पक्ष होस्, स्वच्छ होस् र मर्यादित होस् भन्ने हो । जनताले कहीँ न्याय पाएनन् भने पनि संविधानले, कानूनले वा संविधान र कानूनको व्याख्या गर्दा वा दोषी प्रमाणहरूले अपर्याप्त भएर कुनै कारणवश मैले न्याय पाइँन भन्ने महशुस हुन सकोस् तर न्यायालयले ममाथि अन्याय गर्यो भन्ने भावना पैदा नहोस् । न्यायालय त्यस्तो हुनुपर्छ । न्यायालयका सम्बन्धमा अरु धेरै केही नभनौं । लोकतन्त्रमा न्यायालय जस्तो हुन्छ भनेर मानिन्छ र हाम्रो संविधानले जस्तो न्यायालयको परिकल्पना गरेको छ, न्याय क्षेत्र त्यसरी चलेको छैन भन्ने कुरा हामी देख्छौं । नेपालबार, सर्वोच्चबार, सर्वोच्च अदालतका न्यायाधीशहरू आफैँ हडतालमा उफ्रिनुहुन्छ, आन्दोलन गर्नुहुन्छ । सर्वोच्च अदालतको प्राङ्गण आन्दोलनको थलो बन्छ । बारहरू हात हालाहालको थलो बन्छन् । बौद्धिक बहस, कानूनी बहस होइन । योभन्दा दुखद् स्थिति के हुन्छ ? सर्वोच्च अदालतको प्राङ्गणमा उभिएर, न्यायालयतर्फ औंला फर्काएर, तेर्साएर, ठड्याएर वरिष्ठ अधिवक्ताहरू र कानून क्षेत्रका मर्यादित संस्था बारहरू न्यायालयको हुर्मत लिन्छन् र त्यहाँ भाषाको कुनै नियन्त्रण हुँदैन, योभन्दा न्यायालयका लागि दुखद् कुरा के हुन्छ ? तर यी सबै सहज, ग्राह्य, स्वीकार्य, स्वाभाविक कुरा हुन् जस्तो स्थिति बनिसकेको छ । यसमा म धेरै जान चाहन्नँ । हाम्रो चिन्ता के हो भने–न्यायालय मर्यादित हुन सकेन भने, न्यायालय विश्वास बिसाउने ठाउँ हुन सकेन भने, न्यायालयमा न्याय पाइन्छ भन्ने कुराको विश्वासको आधार बन्न सकेन भने अब पनि न्याय खोज्न कहाँ जाने कहाँ जाने भनेको जस्तै गर्ने हो र ? अदालत जाने होइन र न्याय खोज्न ? तर न्याय खोज्न अदालत जाँदा पाइँदैन भन्ने स्थिति भयो भने के भन्ने त्यसलाई ?
राज्यका अङ्गहरू मर्यादित रहेनन्
अर्कोतिर विगत दुई वर्ष यता राज्यका सम्पूर्ण अङ्गहरू अर्थात् व्यवस्थापिका÷ संसद, सरकार र अदालतका काम कारबाहीहरू दुःखका साथ भन्नुपर्छ, ती संविधानसम्मत, कानूनसम्मत, लोकतान्त्रिक र मर्यादित रहेनन् । यो नेपालको दुखद् यथार्थ हो । जसले गर्दा नेपाल आज अधोगतितर्फ गइराखेको छ । व्यवस्थापिकामा एमसीसीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न सभामुखको टेबुलमा राख्दा दुई वर्षसम्म त्यो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदैन । त्योभन्दा पदीय मर्यादाको उल्लङ्घन सभामुखबाट के हुन्छ ? यस्ता कुराहरू भए ।
हाम्राविरुद्ध अविश्वासको प्रस्ताव राख्न लगियो । संसद विघटन भइसकेको थियो । त्यसपछि विघटित संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने भनेर एकथरी मान्छेहरू हस्ताक्षर गरेर संसद सचिवालयमा दर्ता गर्न पुगे । संसद सचिवालयले ३ः३० बजे ल्याएको प्रस्ताव हो भनेर समय अङ्कित गर्यो । त्यसलाई बदर गरेर सभामुखकोमा एउटा गुट पुग्यो । सभामुखले १०ः२०÷३० को समय भनेर किर्ते काम गर्नुभयो । एउटा सभामुखको अधिकारको कुरा थिएन, अर्को कुरा ३ः३० मा पुर्याएको कुरालाई १०ः३० मा पुर्याएको भनेर सभामुखले किर्ते काम गर्नुभयो । दुनियाँको लोकतन्त्रमा संसदीय प्रणालीमा सभामुखबाट यस्ता कुराको कल्पना पनि गरिँदैन । यो विल्कुल कल्पना गरिँदैन तर त्यस्तो भएको छ । हामीले केही सांसदहरू निष्काशनको सूचना संसद सचिवालयमा प्रस्तुत गर्यौं । त्यसको सूचना जारी गर्ने हो सभामुखले । हाम्रो पार्टीका साथीहरू निष्काशन कसैले गर्यो भने तुरुन्त २४ घन्टा नभइकन जारी हुने, हामीले गरेको सूचना जारी नहुने खालका कामहरू संसदबाट भए । यस्ता क्रियाकलापमा सभामुखको असंसदीयपन, कानूनको अपव्याख्या गर्ने, ओहदाको विवेकहीन ढङ्गले दुरूपयोग गर्ने, विभेदकारी व्यवहार गर्ने र अनेक त्यस्ता खालका कामहरू भए । निर्वाचन आयोगलाई हामीले निष्काशन गरिएका सांसदहरू निष्काशन गरिएका हुन् भन्ने सूचना पनि ठीक ढङ्गले पठाइएन । त्योसम्मको जालझेल अर्थात् सभामुखबाट संसदको गरिमा माथि हमला गर्ने काम भयो, जनताको प्रतिनिधिको सर्वोच्च थलोको मर्यादा राखिएन । त्यो सर्वोच्च थलोको नायकत्व लिने, त्यसको सञ्चालनको जिम्मा लिने, त्यसलाई सही मर्यादित र कानूनसम्मत ढङ्गले देश र जनताको हितमा सञ्चालन गर्ने सभामुखको भूमिका, पछिल्लो समयमा सत्तापक्षको भूमिका अत्यन्तै गैरजिम्मेवार रहे । प्रधानन्यायाधीश जस्तो पदको व्यक्तिका विरुद्ध सत्तापक्षले महाअभियोगको प्रस्ताव ल्याउँछ । महाअभियोगको प्रस्ताव सभामुख कहाँ, संसदमा दर्ता हुन्छ तर तीन महिनाभित्र टुङ्ग्याउनुपर्ने प्रस्ताव छ महिनासम्म सभामुखले अगाडि बढाउँदैनन् । किनभने त्यहाँ राजनीतिक दाउपेच, कसोगर्दा हारिन्छ, कसोगर्दा जितिन्छ । सभामुखले कुन दलको, कुन पक्षको हारजितका लागि काम गर्छ कि सभालाई उसले सुसञ्चालन गर्छ ? तर हाम्रो संसदमा सभामुखले सुसञ्चालन होइन, दल विशेषको, पक्ष विशेषको हारजित र खासगरी एमालेका विरुद्ध क्रियाशील हुने उद्देश्यअन्तर्गत, यसलाई केन्द्रभागमा राखेर चल्ने बदनियतपूर्ण काम गर्नुभयो । यसरी सत्तापक्षका स्वार्थरक्षा र प्रतिपक्षका विरुद्ध उभिने खालका काम र हामी सरकारमा हुँदा हाम्रा विरुद्ध प्रतिपक्षसँग दलभित्रका पनि केही सांसदसँग साँठगाँठ र सभामुखको समेत साँठगाँठ जस्ता कुराहरू हामीले सामना गर्नुपर्यो ।
संसदलाई अमर्यादित थलो बन्न दिनुहुँदैन
संक्षिप्तमा भन्दा संसद वास्तवमा जसरी चल्नुपथ्र्याे, जस्तो हुनुपथ्र्यो, त्यो सभामुखका कारणले भएन, कतिपय सभापतिका कारणले भएन, मन्त्रीहरूका कारणले भएन, प्रधानमन्त्रीका कारणले भएन र संसदलाई मर्यादित ढङ्गले प्रस्तुत पनि गरिएन, संसद अर्मादित भयो । संसद राष्ट्रपतिलाई मुख छाड्ने, प्रधानमन्त्रीलाई मुख छाड्ने अभद्र थलोका रूपमा पनि दुरूपयोग गरियो । आगामी दिनमा हामीले यस्ता कुराहरूप्रति अत्यन्तै सजग हुनुपर्ने छ र यस्ता कुराहरूबाट संसदलाई जोगाएर देश, जनतका पक्षमा, लोकतन्त्रको हितको पक्षमा, एउटा मर्यादित जनप्रतिनिधि संस्थाका रूपमा स्थापित गर्ने र सभामुखलाई त्यसअनुसार लाने कुरामा पनि ध्यान दिनुपर्ने छ । संसदलाई निष्प्रवाही र अर्मादित थलोको रूपमा जसरी परिणत गर्दै लगिएको छ, त्यसलाई रोक्ने र अगाडि बढाउने काम पनि आगामी दिनमा गर्नुपर्ने छ । अब हामीले विधेयकहरू, प्रस्तावहरू, संसदका समितिहरूमा सांसदहरूको उत्तरदायित्व र प्रभावकारी भूमिका आदिका बारेमा हाम्रो दलभित्र गम्भीर ढङ्गले छलफल गर्नेछौं र त्यसरी चलाउने छौं ।
कार्यपालिकाको सन्दर्भमा मैले धेरै केही भन्नुपर्ला जस्तो लाग्दैन । कार्यपालिका कसरी चल्यो, सरकार कसरी चल्यो, योभन्दा भद्रगोल, मन्त्रीले लाज लाग्ने गरी अश्लील बोलेको छ, खुलेआम भ्रष्टाचार, कमिशन, ओहो ! पैसा बाहेक केही नहुने, पैसामा जे पनि हुने । यसप्रकारको तमासा नै भयो । सरकार भनेको त घिनलाग्दो, जनविरोधी तमासा नै भयो । यस स्थितिबाट कसरी जोगाउने ? शक्ति तिनै छन्, व्यक्ति तिनै छन्, विचार तिनै छन्, प्रवृत्ति तिनै छन्, क्रियाकलाप त्यस्तै दोहोरिने हुन् । यस्तो अवस्थाको चुनौतीलाई सामना गरेर हाम्रो दल कसरी अगाडि जाने भन्ने कुरा अत्यन्तै गम्भीर छ ।
हामी थप प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने नै छौं । कार्यपालिका भनेको कमिशनखोर, भ्रष्ट, सत्तामुखी, आफ्नामुखी र काम नै नलाग्ने जनविरोधीको रूपमा, नगर्नुपर्ने कामको नायकत्व लिनुपर्ने कुरामा देखापर्यो ।
हाम्रा काम नै लोकप्रियताको कारक
त्यसकारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामीले अब अलिक नयाँ ढङ्गले देशलाई कसरी अगाडि लैजाने भन्ने कुरा गर्नुपर्छ । सबै कुरा हाम्रो हातमा छैन तर पनि हाम्रो भूमिका मैले अघि नै भनेँ, हामी जहाँ रहेपनि हाम्रो भूमिका देश, जनता, लोकतन्त्रको पक्षमा हुन्छ, शान्ति सुव्यवस्था, स्थिरता, स्थायित्व, सुशासनको पक्षमा हुन्छ । यिनै कुराहरूबाट हामी आगामी दिनमा सफलताको बाटोमा अगाडि जान सक्छौं । हामीले हिजो सरकारमा नहुँदा देश र जनताको पक्षमा जुन सङ्घर्ष गर्यौं, बलिदान गर्यौं, त्यसले हामीलाई पहिलो पटक सरकारमा पुर्यायो । त्यसपछि हामीले गरेका कामहरूले, म प्रधानमन्त्री भएका बेला, पहिलो पटक सरकार हुँदा केही ऐतिहासिक कसैले मेट्न नसक्ने महत्वपूर्ण कामहरू गर्यौं । जसबाट जनतामा हाम्रो पार्टीको लोकप्रियता ह्वातै बढ्यो । त्यसैकारण हाम्रो सरकार नढाली नहुने खण्ड विभिन्न शक्तिहरूका लागि आइपर्यो । हामीले रोक्न सकेनौं तर फेरि निर्वाचनबाट हामी आयौं । अझ मजबुत ढङ्गले आयौं । हामीले देशका लागि, जनताका लागि, विकासका लागि, सुशासनका लागि, भ्रष्टाचार नियन्त्रणका लागि र राष्ट्रिय स्वाधीनता, स्वाभिमान, देशको हित रक्षा र सम्वद्र्धनका लागि जुन काम गर्यौं, त्यसले हामीलाई लोकप्रिय बनायो । फेरि सरकार नढाली नहुने, पार्टी नफुटाई नहुने स्थिति सिर्जना भयो । जेहोस् यी सबै कुराहरूलाई पराजित गरेर हाम्रा कामहरूले नै आज हामी देशको सर्वाधिक लोकप्रिय पार्टीको रूपमा फेरि पुनःस्थापित भएका छौं ।
हामीले अझ ठूलो विजय हासिल गर्ने छौं
अहिले हामीले बहुमत सिट ल्याउन सकेनौं भनेर निराश हुनुपर्ने अवस्था होइन । यस्तो अवस्थालाई तोडेर, त्यति प्रतिकूलता अब कहिल्यै आउन सक्नेछैन, त्यति धेरै प्रतिकूलता थियो । हाम्रा विरुद्धको षडयन्त्रको त्यो उचाईं अब कहिल्यै पनि प्राप्त हुन सक्दैन । अब हामीले त्यो चक्रब्यूह तोड्यौं, तोड्यौ ! अब हामीले हाम्रो हैसियत प्रकट गर्यौं, गर्यौं ! तपाईंहरूलाई थाहा छ हाम्रो पार्टी फोडेको समयमा म लगायत कतिपय साथीहरूलाई केही तत्वहरूले पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरेका थिए । बोकेकाले मृग मार्दैन भन्थे, यहाँ त बोकेकै ठाउँबाट नै एमाले सिध्याउँछौं भनेर आइलागे । तर त्यसलाई हामीले असफल बनाइदिएका छौं । सुन्दर भविष्यको सुनिश्चिता गर्ने एमालेको अस्तित्व रक्षा मात्रै हामीले गरेनौं, अस्तित्व नै सिध्याउँछौं भनेका थिए, अस्तित्व रक्षा मात्रै गरेनौं, एमालेलाई देशको सर्वाधिक लोकप्रिय पार्टी बनायौं । एमालेलाई सफल बनायौं । एमालेको मनोबल अब दह्रो बनाएर हामी अगाडि बढ्नसक्ने स्थितिमा पुगेका छौं । हाम्रो आत्मविश्वास बढेको छ, बढ्नुपर्छ । म साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामीले जितेका छौं र अझ ठूलो विजय हासिल गर्ने छौं । अहिलेबाट नयाँ विजयका लागि हरदम योजनाबद्ध ढङ्गले, एकताबद्ध ढङगले हामी सक्रिय होऔं । हामीलाई कसैले रोक्न सक्ने छैन । यही आग्रहका साथ म फेरि एकपटक सबै विजयी साथीहरूलाई बधाई तथा शुभकामना भन्न चाहन्छु र विजयी बनाउनु हुने सम्पूर्ण पार्टी कार्यकर्तापंक्ति लगायत ज–जसको योगदान छ, मतदाता सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । सिङ्गो नेपाली जनतालाई धन्यवाद भन्न चाहन्छु । यहाँहरू सबैमा शुभ रहोस्, धन्यवाद !
नेकपा (एमाले) द्वारा २०७९ पुस ५ गते मङ्गलबार राजधानीमा आयोजित ‘एमाले जनताको रोजाईको पहिलो पार्टी’ विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको सम्बोधनको सम्पादित पूर्णपाठ ।