cpnuml

प्रेस चौतारी नेपाल : स्थापनाकालदेखि हालसम्म

प्रेस चौतारी नेपाल तथ्यको आधारमा सत्य स्थापित गर्ने र जनताका दबिएका आवाजलाई मुल मुद्धा बनाएर घन्काउने मुल उद्देश्यका साथ स्थापना भएको व्यावसायिक तथा श्रमजीवी पत्रकारहरूको साझा संस्था हो । २०५५ साल मंसिर ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भई आफ्नो यात्रा अघि बढाएको प्रेस चौतारी नेपालको औपचारिक गठन भने २०५५ साल माघ २२ गते अनामनगरस्थित तत्कालीन छलफल साप्ताहिकका प्रबन्ध निर्देशन हेम पाठकको घरमा भेला भएका अगुवा पत्रकारहरूले गरेका हुन् । प्रेस चौतारी नेपालको स्थापना हुनुअघि प्रगतिशील पत्रकार समूह अस्तित्वमा थियो । तत्कालीन नेकपा (एमाले) का प्रचार बिभाग प्रमुख एवं पूर्वसञ्चारमन्त्री प्रदीप नेपालको योजना र अग्रज पत्रकार तथा लेखक अग्नि शिखा, बरिष्ठ पत्रकार गोपाल थपलिया लगायत तीन दर्जन अग्रज पत्रकारहरूको पहलकदमीमा प्रेस चौतारी नेपालको जन्म भएको हो । बहुदलीय लोकतान्त्रिक परिपाटीको प्रवद्र्धन, खोजपूर्ण, व्यवसायिक एवं अनुसन्धानमूलक पत्रकारिता सम्बद्ध क्रियाकलापहरूको सञ्चालन गर्ने प्रेस चौतारीको मूल उद्देश्य रहेको छ । हाल प्रेस चौतारी नेपालले ७७ वटै जिल्ला र सम्भव भएसम्म स्थानीय तहसम्म आफ्नो संगठन विस्तार गरेको छ । प्रेस चौतारी नेपालका संस्थापक सदस्यमध्येका एक गणेश वस्नेत वर्तमान कार्यसमितिमा अध्यक्ष हुनुहुन्छ । २०७३ जेठ ६–८ मा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन हुनुभएका बस्नेत २०७८ फागुन २७–२८ मा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट पुनः सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ ।
प्रेस चौतारी नेपालको संस्थापक सदस्यहरूमा गोपाल थपलिया, अग्निशिखा (स्वर्गीय), कुन्दन अर्याल, विजय चालिसे, जनार्दन पुडासैनी (राजव), युवनाथ लम्साल, शम्भु श्रेष्ठ,बालकुमार नेपाल, कुमार भट्टराई, गोकुल प्रसाद बाँस्कोटा, महेन्द्र विष्ट, गगन विष्ट, राजेन्द्रबहादुर अर्याल, प्रमोद दाहाल, गणेश बस्नेत, आरके धर्मस्थली, सुशीलवीर सिंह कंशाकार, विवशराज श्रेष्ठ, राजेन्द्रबहादुर अर्याल, हेम पाठक, श्रीधर आचार्य, टंक पन्त, केपी गौतमलगायत २७ जना संस्थापक रहने गरी विजयकुमार चालिसेको नेतृत्वमा १२ सदस्यीय तदर्थ समिति बनेको थियो । जसमा उपाध्यक्ष जनार्दन पुडासैनी (राजव), महासचिव युवनाथ लम्साल, सचिव प्रमोदकुमार सिंह, कोषाध्यक्ष टंक पन्त रहनुभएको थियो । सदस्यहरू कुमार भट्टराई, गोकुलप्रसाद बाँस्कोटा, महेन्द्र विष्ट, सुशीलवीर सिंह कंशाकार, विवशराज श्रेष्ठ, राजेन्द्र अर्याललगायत रहनुभएको थियो ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।