detail-img

पोलिटव्यूरो सदस्य गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त 

दाङ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य लीला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम गिरीलाई २०७९ पुस २७ गते बुधबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
उहाँ गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा रूपन्देही निर्वाचन क्षेत्र नं.२(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभई नेकपा (एमाले) संसदीय दलको नेतामा चयन हुनुभएको थियो ।
लुम्बिनी प्रदेशमा कुल ८७ सभासद छन् । त्यसमध्ये नेता गिरीलाई सत्ता साझेदार दलहरू नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी ५८ जना सभासदको  समर्थन रहेको छ ।
उहाँ २०७४ सालको निर्वाचनमा पनि प्रदेश सभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेश सरकारमा मन्त्री  नियुक्त भई विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
नवनियुक्त मुख्यमन्त्री गिरीको बिहीबार प्रदेश राजधानी देउखुरीमा दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ ।
विद्यार्थी जीवनदेखि राजनीतिमा लाग्नुभएका नेता गिरी पार्टीको जिल्ला कमिटी सचिव हुँदै नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य र गतबर्ष चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट पोलिटव्यूरो सदस्य चयन हुनुभएको थियो ।
गुल्मीको रुरु गाउँपालिका–५, बम्घामा २०११ सालमा जन्मिनुभएका गिरीको लामो समयदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगरमा स्थायी बसोवास रहेको छ ।
मुख्यमन्त्री नियुक्त भएपछि गिरीले पहिलो कार्यकालमा प्रदेशको समृद्धिको योजना र आधार तयार भैसकेकाले ती योजना कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाई सुशासन कायम गर्नु आफ्नो प्राथमिकता हुने बताउनुभएको छ ।
सुशासन र समृद्धि नै प्राथमिकतामा राखेर सबैको समन्वयमा प्रदेश सरकार अगाडि बढ्ने उल्लेख गर्दै मुख्यमन्त्री गिरीले साझेदार दलहरुसँगको समन्वय र सहकार्यमा योजना तय गरिने बताउनुभयो ।