detail-img

पोलिटव्यूरो सदस्य रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त

धनगढी । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य राजेन्द्रसिंह रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा नेकपा (एमाले) का संसदीय दलका नेता रावललाई २०७९ पुस २७ गते बुधबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
उहाँ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । सुदूरपश्चिम प्रदेशमा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक सभासद रहेका छन् ।
नेता रावल समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नवनियुुक्त मुख्यमन्त्री रावलको पद तथा गोपनीयताको शपथ ग्रहण विहीबारका लागि तय गरिएको छ । विद्यार्थी जीवनमै राजनीतिमा लाग्नुुभएका रावल लेखक, साहित्यकारका रूपमा समेत परिचित हुनुहुुन्छ ।
बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्डमा २०२१ मा जन्मनुभएका रावल हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा बसोबास गर्दै आउनुभएको छ ।
उहाँ २०५४ सालमा जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति, २०५४ सालमा नेकपा (एमाले) को जिल्ला उपसचिव तथा २०५७ सालदेखि २०६२ सालसम्म नेकपा (एमाले) कञ्चनपुरको सचिव हुनुहुन्थ्यो ।
उहाँ २०६२ मा पार्टीको महाकाली अञ्चल समन्वय कमिटीको सचिव, २०७५ देखि २०७७ सम्म केन्द्रीय कमिटी सदस्य तथा हाल पार्टीको पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम सहइञ्चार्ज हुनुहुन्छ ।