detail-img

माओवादीका लेखा आयोग सदस्य वराल एमालेमा प्रवेश 

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य काशिचन्द्र बराल नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बराललाई खादा र अबीर लगाई स्वागत गर्नुभयो ।
उहाँ कालीकोटको रास्कोट नगरपालिकाका पूर्व मेयर हुनुहुन्छ । उहाँ गत मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो । 
महासचिव पोखरेलले नेता बराल पार्टीमा समाहित भएबाट कर्णाली प्रदेशमा पार्टी कामलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कर्णाली प्रदेशमा गत निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको र पार्टीलाई वैचारिक, राजनीतिक र सांगठानिक रूपमा सुदृढ गर्नुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलको भनाई थियो । 
मुलुकको विकास र समृद्धिका लागि एमालेलाई सुदृढ राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कुरा प्राथमिकताको विषय भएकाले साना र अन्य कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरेर ध्रूबीकृत गरिने वताउनुभयो । 
महासचिव पोखरेलले एमालेमा समाहित हुनुहुने अन्य पार्टीका नेताकार्यकर्ता आफ्नो राजनीतिक  इतिहाससहित समाहित हुने वताउँदै बराललाई पनि उचित जिम्मेवारी प्राप्त हुने विश्वास दिलाउनुभयो । 
नवप्रवेशी बरालले नेकपा (एमाले) ले नेकपाको विरासतलाई कायम राख्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न सक्छ भन्ने विश्वासका साथ एमालेमा समाहित भएको वताउनुभयो । 
पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज नगिन्द्र शाही लगायतको उपस्थिति रहेको थियोे ।