detail-img

अध्यक्ष ओलीसँग जापानी पूर्व राज्यमन्त्रीद्वारा भेटवार्ता 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका पूर्व राज्यमन्त्री मासाकी तायराले आज भेटवार्ता गर्नुभएको छ । 
अध्यक्ष ओलीको निजी निवास बालकोटमा करिब दुई घण्टा भएको भेटमा नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध, आगामी दिनमा गर्न सकिने सहयोग आदान–प्रदानलगायतका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । 
अध्यक्ष ओलीले भेटमा नेपाल र जापानबीचको सम्बन्ध कतै पनि दाग नलागेको र अत्यन्त आत्मीय रहेको बताउनुभएको थियो । 
अध्यक्ष ओलीले नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको भए पनि नेपाल र जापानबीचको सम्बन्ध १२४ वर्षदेखि निरन्तर रहेको स्मरण गराउनुभएको थियो । 
उहाँहरूबीच अमेरिकाले जापानका दुई सहर हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेर गरेको नरसंहारका विषयमा पनि खुलेर कुराकानी भएको थियो । 
अध्यक्ष ओलीले जापानी जनताले ती दिनमा भोगेको पीडाको सम्झना गर्दै र जापानी जनताको मुुक्तिको कामना गर्दै परमाणु बम प्रयोगका विरुद्धमा नेपालले हरेक वर्ष नेपालमा ‘परमाणु बमविरुद्धको दिवस’ मनाउने गरेको वताउनुभयो ।


अध्यक्ष ओलीले १८९९ मा जापानका भिक्षु नेपाल भ्रमणमा आएपछि १९०२ मा आठजना विद्यार्थी अध्ययनका लागि जापान पठाइएको, सन् १९७५ मे १६ का दिन जापानी महिला जुनको तावेईले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको विषय स्मरण गराउँदा मन्त्री तायरा पटक–पटक भावुक बन्नुभएको थियो ।  
भेटमा नेकपा (एमाले) परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, एमाले परराष्ट्र विभाग सचिव डाक्टर अञ्जान शाक्यलगायतको  उपस्थिति थियो ।  
भेटको सुरुमै जापानी पूर्व राज्यमन्त्री तायराले नेपाल भ्रमणमा रहेको आफ्नो नेतृत्वको  टोलीलाई निवासमै बोलाएर भेट गरेकोमा खुशी व्यक्त गर्नुभएको नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव डाक्टर अञ्जान शाक्यले वताउनुभयो । 
तायराले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धलाई अझ विस्तार गरेर अघि बढाउने कुरामा आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले भेटवार्ताका क्रममा अध्यक्ष ओलीले उठाउनुभएका विषय स्वदेश फर्केर प्रधानमन्त्रीलाई सुनाउन आफू आतुर भएको बताउनुभएको थियो ।  
तायराले नेपालको विकास र समृद्धिका लागि जापानले सहयोगको हात अघि बढाउने र सहयोगी बन्ने बताउनुभयो ।  
‘नेपाली नागरिक असल र अनुशासित भएकाले जापानले नेपालीलाई पछिल्लो समय फ्रन्ट लाइनमा पनि काम दिन थालेको छ’ तायराको भनाई उधृत गर्दै सचिव शाक्यले भन्नुभयो– नेपाली नागरिकले दिलाएको विश्वासबाट प्रभावित भएर विस्तारै जापानले नेपालीलाई तथ्याङ्क सङ्कलन, प्रविधि, रकेट प्रविधिको उत्पादन जस्ता काममा पनि सहभागी गराउने प्रयास थालेको छ ।’ 
भेटमा जापानी पूर्व राज्यमन्त्री तायराले नेपाललाई कृषि, उर्जा, प्रविधि, पर्यटन जस्ता विषयमा सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।