detail-img

अध्यक्ष ओलीसँग नेपालका लागि चीनका राजदूतद्वारा शिष्टाचार भेट 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । 
अध्यक्ष ओली निवास बालकोटमा बुधबार साँझ भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ । 
सो अवसरमा अध्यक्ष ओलीले नवनियुक्त राजदूत चेनलाई स्वागत गर्दै दुई देशबीचको हजारौं बर्षदेखिको सुमधुर र घनिष्ट सम्बन्ध राजदूत चेनको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा जानकारी गराउँदै वर्तमान सरकार राष्ट्रवादी दलहरूको साझेदारीमा गठन भएको जानकारी गराउनुभएको थियो । अध्यक्ष ओलीले एक चीन नीति रहेको नेपालले छिमेकी विरूद्ध नेपाली भूमि प्रयोग हुन नदिने वताउनुभएको थियो । 
भेटमा अध्यक्ष ओलीको साथमा नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभागका सचिव डाक्टर अञ्जान शाक्य पनि हुनुहुन्थ्यो ।  
अध्यक्ष ओलीले नेपालको विकासमा मित्रराष्ट्र चीनले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव डाक्टर शाक्यले जानकारी दिनुभयो ।   
भेटमा राजदूत चेनले आगामी दिनमा नेपालका लागि चिनियाँ सहयोग बढाउन आफ्नो प्रयास रहने वताउनुभएको थियो । उहाँले कोभिड१९ का कारण रोकिएका कतिपय सहयोग आदानप्रदानका कामलाई पनि अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।