detail-img

कार्यकर्ताका लागि स्कूल विभागद्वारा प्रशिक्षणको तेस्रो श्रृङ्खला शुरू

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कूल विभागले कार्यकर्ताका लागि आजदेखि पार्टी स्कूल (विषयगत प्रशिक्षण) को तेस्रो श्रृङ्खला  शुरू गरेको छ । 
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सञ्चालन गरिएको तीनदिने स्कूलमा यसपटक अखिल नेपाल महिला संघमा आवद्ध नेताकार्यकर्ता सहभागी हुनुहुन्छ । 
पार्टी स्कूलमा आज पहिलो दिन पार्टीका उपमहासचिव तथा स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । 
त्यसपछि नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराईले ‘कूटनीतिक  सम्बन्ध र भूराजनीति’, स्थायी कमिटी सदस्य तथा जनसंगठन  समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले ‘पार्टी र जनसंगठनबीचको अन्तरसम्बन्ध’ र पोलिटव्यूरो सदस्य तथा स्कूल विभागका उपप्रमुख इश्वरी रिजालले ‘माक्र्सवादी दर्शन र सामाजिक रूपान्तरण’ का विषयमा प्रशिक्षण दिनुभयो ।


स्कूल विभागको कार्यतालिका अनुसार, भोलि दोस्रो दिन महासचिव शंकर पोखरेलले ‘मार्गदर्शक  सिद्धान्त जनताको बहुदलीय जनवाद’  विषयमा प्रशिक्षण दिनुहुने छ भने स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सीता पौडेलले ‘अनेमसंघ र आगामी कार्यदिशा’, केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले ‘सूचना, सञ्चार र प्रविधि’ विषयमा र रामशरण प्याकुरेलले ‘संगठन निर्माण, परिचालन र व्यवस्थापन’ विषयमा प्रशिक्षण दिनुहुने छ । 
त्यस्तै प्रशिक्षणको तेस्रो तथा अन्तिम दिन उपमहासचिव प्रदीप ज्ञवालीले ‘महाधिवेशनको सिद्धान्त, कार्यक्रम र कार्यदिशा’, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमालले ‘निर्वाचन २०७९ को समीक्षा र आगामी कार्यदिशा’ विषयमा प्रशिक्षण दिनुहुने छ । त्यसैगरी लेखा आयोगका सदस्य भीम पौडेलले ‘संगठनमा लेखा व्यवस्थापन’ विषयमा प्रशिक्षण दिनुहुने छ ।
प्रशिक्षणको कति उपयोगी हुनसक्यो, प्रभावकारिता के रह्यो, सहभागीहरूको विषयप्रतिको बुझाई कस्तो रह्यो भन्ने पत्ता लगाउन प्रशिक्षणको शुरू र अन्त्यमा जाँच लिने गरिएको छ । अन्त्यमा स्कुल विभागका प्रमुख ज्ञवालीले त्यसको परिणाम प्रकाशन र सहभागीहरूका थप जिज्ञासाको उत्तर दिने गरी प्रशिक्षण कार्यक्रम तय भएको छ । 
प्रशिक्षणमा यसपाली ३५ जनाको सहभागिता रहेको केन्द्रीय सदस्य तथा स्कूल विभाग सचिव  पेम्वा लामाले जानकारी दिनुभयो । 
विभागले आफ्नो बार्षिक कार्यतालिका बमोजिम गत भदौ महिनामा अखिल नेपाल किसान महासंघ र युवा संघ नेपालका लागि यस्तो प्रशिक्षण सम्पन्न गरेको छ । प्रशिक्षण जनसंगठनहरूबाट शुरू गरिएको छ ।