detail-img

‘लगानीकर्तामा देखिएको उत्साह एमालेप्रतिको विश्वास हो’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशमा आज सिर्जना भएको राजनीतिक अस्थिरताको आधार परमादेशी फैसला हो भन्नुभएको छ । 
कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने योजनाका साथ नेकपालाई विभाजन गरी सरकार ढाल्ने जुन षडयन्त्र भयो, त्यो मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नदिने योजनाका साथ भएको विचार महासचिव पोखरेलले व्यक्त गर्नुभयो । 
पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण दिंदै महासचिव पोखरेलले मुलुकलाई अस्थिरता र जनमतको प्रतिकूलतातिर जान नदिन साझा नीति र कार्यक्रमका साथ वर्तमान सरकार गठन गरिएको र यसलाई सफल पार्नुपर्ने वताउनुभएको छ । 
परमादेशी पाँचदलीय गठबन्धन सरकारको समयमा देशको अर्थ व्यवस्था तहस नहस भएको वताउँदै महासचिव पोखरेलले वर्तमान सरकार गठनपछि पूँजीबजार नाटकीय रूपमा सकारात्मक दिशामा उकालो लागेको छ, लगानीकर्ता उत्साहित भएका छन्, यो हामी (एमाले) प्रतिको विश्वास हो भन्नुभयो । 
महासचिव पोखरेलले पार्टीको समग्र कामको  योजना वर्तमान सरकारलाई सफल पार्दै आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने दिशामा अगाडि बढ्ने रहेको वताउनुभयो । 
जब जब नेकपा (एमाले) ले सरकारमा गएर देश र जनताका लागि राम्रो काम शुरू गर्छ, एमाले विरूद्ध घेराबन्दी शुरू हुने गरेको विगत चर्चा गर्दै महासचिव पोखरेलले गत निर्वाचनको परिणामले नेकपा (एमाले) जस्तोसुकै घेराबन्दी चिर्न सक्ने सामथ्र्य भएको बलियो पार्टी हो भन्ने पुष्टि गरेको छ भन्नुभयो ।


देश बनाउन योग्य पार्टी पनि एमाले नै भएको हुँदा राजनीतिक ध्रूवीकरण अभियानका क्रममा पार्टीमा समाहित हुनुभएका कमरेडहरू ठीक ठाउँमा आउनुभएको भनाई महासचिवले राख्नुभयो ।  
‘देशको विकासको गतिलाई तिब्रता दिने एमाले, सामाजिक सुरक्षा कार्यक्रम शुरू गर्ने एमाले, नाकाबन्दीको डटेर सामना गर्ने एमाले, भोट भने अर्कोले लैजाने कुरा स्वीकार्य छैन,’ विगतमा पार्टीले सरकारको नेतृत्व गर्दा भएका कामको चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो– आगामी दिनमा जनताका सरोकारका विषय प्रभावकारी ढङ्गले उठाउने पार्टीका रूपमा आफूलाई तयार गर्दै एमालेलाई देशको बहुमत प्राप्त पार्टीका रूपमा स्थापित गर्ने छौं ।
वर्तमान  निर्वाचन प्रणालीबाट कुनै एउटा पार्टीको बहुमत प्राप्त हुने कुरा असम्भव छ भन्ने गरिएपछि पार्टीका नीति, कार्यक्रम जनतामा पुर्याउनसक्दा यही निर्वाचन प्रणालीमा पनि बहुमत प्राप्त गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । 
महासचिव पोखरेले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने पार्टीको दशौं महाधिवेशनको कार्यदिशामा अगाडि बढ्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा पार्टीपङ्ती जुट्नुपर्ने वताउनुभयो ।  
महासचिव पोखरेलले नेकपा (एमाले) ले नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने मान्यतालाई आत्मसात गर्दै जनताको बहुदलीय जनवादलाई राजनीतिक कार्यक्रमका रूपमा अँगालेपछि विभिन्न कोणबाट आलोचना गरिए पनि त्यसयताको राजनीति जनताको  बहुदलीय जनवादमार्फत अगाडि सारिएका विभिन्न मान्यतामा केन्द्रित रहेको छ भन्नुभयो ।