detail-img

प्रेस चौतारी नेपाल २५औँ बर्षमा  

 काठमाडौं । नेकपा (एमाले) को जनसंगठन प्रेस चौतारी नेपालले आफ्नो २५औँ स्थापना दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । 
सो अवसरमा काठमाडौंमा प्रेस चौतारी नेपाल केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष, उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद  पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताउनुभएको छ । 
अर्थमन्त्री पौडेलले अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभावकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने बताउनुभयो ।
उहाँले भन्नुभयो–पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारकोे व्यवस्था गर्ने प्रबन्ध गरियो, बजेटमा पनि प्रस्तुत गरियो तर अहिले पनि प्रभावकारी रूपमा व्यवस्थापन हुन सकेको छैन । पत्रकारका लागि दुर्घटना बीमामा ५० प्रतिशत शुल्क तिरे पुग्ने  व्यवस्था पनि सरकारको अर्काे महत्वपूर्ण काम भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सरकार सदैव श्रमजीवी पत्रकारको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले सरकारले सञ्चार क्षेत्रसँग जोडिएर बीमा, क्लिन फिडजस्ता महत्वपूर्ण व्यवस्था गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । श्रमजीवी पत्रकार व्यक्तित्व विकास र नेतृत्व विकासमा चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै नेकपा (एमाले) का उपाध्यक्ष पौडेलले जनता र राष्ट्रको न्यायको पक्षमा पत्रकारिताको अगुवा भएर काम गर्न आग्रह गर्नुभयो ।


 

नेकपा (एमाले) का उपमहासचिव एवं प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले श्रमजीवीहरूको सबैभन्दा योग्य र भरोसायुक्त सङ्गठनका रूपमा चौतारीलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका सह इन्चार्ज विष्णु रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, बरिष्ठ पत्रकार गोपाल थपलिया, पत्रकारहरूका विभिन्न संगठनका नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा प्रेस चौतारी नेपालले स्थापना गरेका विभिन्न पुरस्कारहरू वितरण गरिएको थियो । 
सो अनुसार, यसबर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईंलाई प्रदान गरियो । 
त्यसैगरी, अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार लमजुङका पत्रकार कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार दैलेखका याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार बाराका लक्ष्मी साहलाई प्रदान गरिएको छ ।  सावित्री–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार डडेलधुराकी ममता भट्टलाई प्रदान गरियो ।