काठमाडौं । नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको पाँचौँ पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णय गरी सम्पन्न भएको छ ।
यही माघ १६,१७ र १८ गते बुद्ध जन्मस्थल लुम्बिनीमा सम्पन्न बैठकले आम निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पार्टी केन्द्रीय कोषको चालु आर्थिक बर्षको आन्तरिक लेखा परीक्षण गर्ने, पार्टीको लेखा व्यवस्थापनको लागि प्रशिक्षण पुस्तिका तयार गर्ने, पार्टी कमिटी, जनसंगठन र लेखा कमिटीका लागि लेखा व्यवस्थापन प्रशिक्षण सञ्चालन गर्ने, आर्थिक व्यवस्थापनका आधारमा पार्टी कमिटी र जनसंगठनको मूल्याङ्कन गर्ने परिपाटी स्थापना गर्ने निर्णय गरेको छ ।
बैठकले सम्पूर्ण पार्टी कमिटी र जनसंगठनको लेखा परीक्षण/ अनुगमन गर्ने, पार्टी विधान र नियमावलीको व्यवस्था विपरीत आयोगबाट लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टिकरण सोध्ने र यसरी आयोजना हुने अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध गर्ने, कम्तीमा प्रदेश तहको आर्थिक हिसाबलाई जोड्ने गरी अत्याधुनिक सफ्टवेयर जडान गरी लेखा व्यवस्थित गर्न पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
आयोगका अध्यक्ष डा.पुष्प कँडेलको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि हुनुहुन्थ्यो । बैठकमा पार्टीका सचिव गोकर्ण विष्ट, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल र रूपन्देही जिल्ला कमिटीका अध्यक्ष तेजेन्द्र केसीले पार्टी निर्माणमा लेखा व्यवस्थापनको महत्व र आवश्यकता एवं आर्थिक कारोबारको अवस्थाबारे जानकारी सहितको मन्तव्य राख्नुभएको थियो ।
बैठकमा आयोगका पदाधिकारी तथा सदस्यहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफूहरूले निर्वाह गरेको भूमिकाका बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।
बैठकले गत निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका आयोगका उपाध्यक्ष विष्णु पन्थी र सदस्यहरू मालती लिम्बु, पदमा जिसी (श्रेष्ठ) र रामेश्वर श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ ।
त्यस्तै, बैठकमा गत मंसिर १८ गते दिवंगत आयोगका सदस्य खम्ब खत्रीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।