detail-img

पार्टी सुदृढीकरणका लागि ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय

काठमाडौं । नेकपा (एमाले) ले    पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरणका लागि आगामी फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको आज बसेको सचिवालयको पन्ध्रौं बैठकले उक्त निर्णय गरेको हो । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्नेलगायत विभिन्न निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनाका बारेमा धारणा राख्नुभएको थियो । महासचिव शंकर पोखरेलले बैठकमा एजेण्डा प्रस्तुत गर्नुभएको थियो । 
पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्यहरू दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ । साथै, अभियान सञ्चालन अघि फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिने भएको छ । 
बैठकले गत पुस १० गते पार्टीको पहलकदमी र अग्रसरतामा वर्तमान सरकार गठन भएकोमा जनतामा व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकालेको छ । वर्तमान सरकार गठनपछि मुलुकको आर्थिकलगायत सबै क्षेत्रमा सकारात्मक प्रभाव देखिएको ठहर गर्दै मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।  
त्यसैगरी, सचिवालय बैठकले रिक्त रहेका ठाउँमा कार्यविभाजन गरी जिम्मेवारी तोकेको छ । सो अनुसार पार्टीको अर्थ तथा योजना विभाग प्रमुखमा स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे, प्रदेश–१ को इन्चार्जमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, अपाङ्गता फाँटको इन्चार्जमा पोलिटव्यूरो सदस्य पार्वत गुरूङ र  धनुषा जिल्ला इन्चार्जमा केन्द्रीय सदस्य शीला यादवलाई जिम्मेवारी तोकेको छ ।