detail-img

 भूकम्प प्रभावितको उद्धार र राहत सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टर्की र सिरियामा भूकम्प प्रभावितहरूको उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोवासको व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले आज एक विज्ञप्ति प्रकाशित गरी  माघ २३ गते सोमबार बिहान टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्प र बुधबार दिउँसोसम्म गएका ३१२ भन्दा बढी पराकम्पनबाट  हुन गएको जनधनको क्षतिप्रति पार्टीको तर्फबाट गहिरो दुःख व्यक्त गर्नुभएको छ । 
विनाशकारी भूकम्पबाट टर्की र सिरियामा १५ हजारभन्दा बढीको ज्यान गएको र ठूलो सङ्ख्यामा भौतिक पूर्वाधार र जीविकोपार्जन प्रभावित भई हजारौं परिवार घरवारबिहीन  भएको अवस्थाप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्तिमा भनिएको छ– नेपाल सरकारले विनाशकारी भूकम्पबाट प्रभावित देश टर्कीमा मेडिकल रेस्पोन्स टिमसहित न्यानो लत्ताकपडा र अत्यावश्यक राहत सामग्री पठाउने स्वागतयोग्य निर्णय गरेको र राहत तथा उद्धारमा समयानुकूल शीघ्र प्रतिकार्यको निकै महत्व हुने भएकाले उक्त निर्णय यथाशीघ्र कार्यान्वयनका लागि नेकपा (एमाले) हार्दिक अपील गर्दछ । 
अध्यक्ष ओलीले भन्नुभएको छ– यस महाविपत्तिबाट प्रभावित टर्की र सिरियाका आम नागरिकलाई तत्कालका लागि विपद् प्रतिकार्य, खोज—उद्धार, प्राथमिक उपचार र राहत वितरणमा जुट्न र आवश्यकताअनुसार राहत र पुनःस्थापनामा सहयोग गर्न सम्बद्ध सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौं ।