detail-img

सत्ताका लागि घुँडा टेक्नेहरूसँग प्रतिस्पर्धाः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देशमा सबल राष्ट्रिय शक्ति निर्माण गर्ने प्रयासमा रहेको वताउँदै सत्ता नै सबै चिज हो भन्ने मान्यता बोकेका सङ्कीर्ण र स्वार्थी तत्व राष्ट्रिय शक्ति निर्माण हुन नदिने प्रयासमा रहेको वताउनुभएको छ । 
पार्टीले आजदेखि शुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ कार्यक्रमको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताका लागि घुँडा टेक्नेहरूसँग प्रतिस्पर्धा रहेको वताउनुभयो ।   
पार्टी केन्द्रीय कार्यालयबाट सात प्रदेश र राजधानीमा आयोजित विशेष कमिटीको अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको पार्टीको अभियान आउने निर्वाचनमा एक्लै स्पष्ट बहुमत ल्याउने हुने वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– पार्टीको अबको अभियान मिसन ५१ प्रतिशत हुने छ । अर्को निर्वाचनमा स्थानीय तह, प्रदेश र संघमा आफ्नै बलबुतामा ५१ प्रतिशतमा विजय प्राप्त गर्ने लक्ष्यका लागि ‘मिसन ग्रासरुट’ ले बलियो जग निर्माण गर्ने छ । 
गत निर्वाचनमा अलिकति पछि परे पनि सङ्घर्ष र आन्दोलनबाट स्थापित हामी एमालेहरू निराश नभई अगाडि बढ्नुपर्छ भन्दै अध्यक्ष ओलीले  भन्नुभयो– ग्रासरुट अभियानका क्रममा पार्टीमा माथिदेखि तलसम्म हाम्रा कमजोरी कहाँ छन् पत्ता लगाई सुधार गर्नुपर्छ । 
अध्यक्ष ओलीले अहिले देशभक्त परिवर्तनकारी शक्तिलाई समाप्त पार्न खोजिएको, न्यायको पक्षमा बोल्ने, चल्ने शक्तिलाई कमजोर पार्न खोजिएको छ, राष्ट्रियता, राष्ट्रिय हित दमित गर्न खोजिँदै छ भन्नुभयो ।  
अध्यक्ष ओलीले निकट विगत निर्वाचनमा सबै प्रकारका घेरावन्दीबीच जनताको रोजाइको पहिलो पार्टी बनाउन सफल भएकामा पार्टीपङ्तीलाई धन्यवाद दिनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– धेरै ठाउँमा जित्न सक्ने अवस्था हुँदा पनि हामी आफैले सक्ने जति काम गरेनौं कि ?, जति सक्रिय हुनुपर्ने हो भएनौं कि ?, इमान्दारी देखाएनौं कि ? एकपटक आफै सौँचौं । निष्ठावान कार्यकर्ता भएँ भइन भनेर आफै विचार गर्नु जरूरी छ । 
अध्यक्ष ओलीले भन्नुभयो– म विनम्र आग्रह गर्न चाहन्छु, पार्टीका नेता कार्यकर्ताहरूमा आफूभित्र अहङ्कार छ भने हटाउनुस् विनम्रता अङ्गिकार गर्नुस् । पार्टीको नीति, विधिविधान र समाजले तय गरेका राम्रा काम अनुसार चल्नुस्, अनुशासित हुनुस् । समाजको  आदर्श व्यक्ति बन्नुस् ।  एउटा नेताको सफलताका लागि शालिनता, विनम्रता र सहनशीलता हुनुपर्छ । यि मामुली कुरा लाग्न सक्छन् तर समस्या त्यही छ । 
पार्टीलाई अव अपराजित शक्तिका रूपमा स्थापित गर्नुपर्छ भन्दै अध्यक्ष ओलीले भन्नुभयो– पार्टीलाई हरेक जनताका घर आँगनमा पुर्याउनुस्, जसले गर्दा आगामी निर्वाचनमा सहज विजय हासिल गर्न सकियोस् ।  मानिसहरूलाई मानसिक, वैचारिक अन्यौलता र हाम्रा विरोधीले फैलाएको भ्रमबाट मुक्त गर्ने काम गर्नुस् । भ्रमको तुवालोबाट मुक्त भएपछि मानिसले राम्रो बाटो समात्ने छन् । 
हामी आन्दोलनको जटिल मोडमा छौं । हामीले जित्ने कि हार्ने, सफल हुने कि असफल हुने ? भन्नुहुँदै अध्यक्ष ओलीले अभियानको उद्देश्य पार्टीलाई वैचारिक रूपमा सशक्त र संगठनका हिसावले सुदृढ बनाउने रहेको स्पष्ट गर्नुभयो ।  
उहाँले भन्नुभयो– हामी प्रतिस्पर्धामा छौं भन्ने कुरा पार्टीपङ्तीले बुझ्नुपर्छ । हाम्रा विरोधी स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गर्ने अवस्थामा छैनन् उनीहरू प्रतिस्पर्धा गर्दा अस्वस्थ तरिका अपनाउँछन्, त्यो अस्वस्थ प्रतिस्पर्धालाई पनि पराजित गर्ने गरी विचारमा आधारित सुदृढ संगठन बनाई पराजित गर्नुपर्नेछ । निकट विगतमा जुन प्रकारका समस्या भोग्नुपर्यो भविष्यमा पनि त्यस्तो समस्या भोग्नुपर्ने हुनसक्छ किनकि हाम्रा विरोधी तिनै शक्ति र प्रवृत्ति छन् । 
गएको निर्वाचनमा थुप्रै अस्वस्थता देख्यौं, राज्यसत्ताको चरम दुरुपयोग, गुण्डा परिचालन । लोकतान्त्रिक मूल्य मान्यता बुझि बुझिकन पनि जसरी पनि जित्नुपर्छ भन्ने मान्यतामा हाम्रा विरोधी प्रतिस्पर्धी रहे र त्यो प्रवृत्ति बदलिएको छैन । उनीहरुलाई लोकतान्त्रिक आचरण स्वीकार्न बाध्य पार्नुपर्ने आवश्यकता छ । 
अध्यक्ष ओलीले पार्टीमा विचारमा कुनै समस्या अन्यौल नरहेको तर पार्टीको संगठनात्मक जीवन कमजोर रहेको वताउँदै त्यसलाई स्वीकार गरी पाटीलाई सर्वाधिक मजदुत शक्तिका रूपमा स्थापित गर्नुपर्छ भन्नुभयो ।  
राजनीतिक अधिकारका लागि गरिएको बलिदानी सङ्घर्ष र विगतमा खासगरी नेपाली काँग्रेसबाट कम्युनिष्ट पार्टी र नेताकार्यकर्ताले भोग्नुपरेको पीडा, कष्ट र यातनाको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– हामीले राणाशाही, पञ्चायती तानाशाही र ज्ञानेन्द्र शाहको प्रतिगामी कदमलाई पराजित गरेर आजको अवस्थामा आइपुगेका हौं । तर, विगतमा हामीले नेपाली काँग्रेसबाट धेरै प्रताडित हुनुपर्यो । २००८ सालदेखि २०१३ सालसम्म नेपाली काँग्रेसका सभापति मातृकाप्रसाद कोइराला प्रधानमन्त्री रहेकै समयमा कम्युनिष्ट पार्टीले प्रतिबन्धित अवस्थामा रहनुपर्यो । राणाशाही फालिसकेपछि पनि चिनियाकाजी, भीमदत्त पन्त लगायत धेरै साथीहरू मारिए । वीपी कोइरालाको आदेशमा कमलराज रेग्मीलाई गाडि चलेको अवस्थामा पनि पक्राउ गरी पैदल काठमाडौं ल्याइयो । के भौग्यौं, के भोगेनौं । 
२००७ सालदेखि हालसम्मको आन्दोलन र तिनका उपलब्धि हाम्रो बलिदानबाट प्राप्त भएको हो । हाम्रा अग्रजहरूको बलिदानी सङ्घर्षबाट प्राप्त भएको हो तर विपक्षीले बाह्य शक्ति र सञ्चारमाध्यमको जोडबलमा एकलौटी जस लिए ।
अभिमुखीकरण कार्यक्रममा महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ का बारेमा प्रकाश पार्नुभएको थियो । 
महासचिव पोखरेलले अभियानका क्रममा पार्टीका कार्यकर्तालाई आधारभूत तहको प्रशिक्षण दिने, राजनीतिक सम्भावना भएका नयाँ पुस्ता, युवालाई पार्टीमा जोड्ने, पार्टीभित्रको एकतालाई बलियो बनाउने, कमी कमजोरी र अन्तरविरोध छन् भने तिनको समाधान गर्ने लगायतका काम गर्न निर्देशन दिनुभयो । 
महासचिव पोखरेलले पार्टीलाई आगामी चारबर्षपछि हुने निर्वाचनमा बहुमत प्राप्त गर्ने गरी स्थापित गर्नुपर्ने वताउनुभयो ।