detail-img

नेकपा (एमाले) छिट्टै सरकारमा पुग्नेछः विष्ट

काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले नेपाल राजनीतिक र आर्थिक हिसाबले निक्कै जटिल मोडमा रहेको बताउनुभएको छ । 
नेपाल सधैँ परनिर्भरतामा रहोस् भन्ने चाहना राख्नेहरू अहिले बलशाली भएकाले देशमा राजनीतिक अस्थिरता रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘हामीलाई सामाजिक न्यायसहितको समृद्धि चाहिएको छ तर ती शक्तिहरू त्यसो हुन दिन चाहँदैनन्’, सचिव विष्टले भन्नुभयो । 
मिसन ग्रासरुट अन्तर्गत वाग्मती प्रदेशका लागि संयोजक रहनुभएका विष्टले रामेछापमा आयोजित कार्यक्रममा वर्तमान मिश्रित निर्वाचन प्रणालीबाट कुनै एउटा पार्टीले बहुमत प्राप्त गर्ने अवस्था निक्कै चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । सचिव विष्टले भन्नुभयो– ‘एउटा पार्टीले बहुमत ल्याउने अवस्था पनि छैन, धेरै पार्टी मिलेर काम गर्ने अभ्यास पनि हाम्रो देशमा छैन, यो निर्वाचन प्रणाली रहँदासम्म यो देशको अवस्था फेरि पनि यस्तै हुन्छ ।’


देश र र संवैधानिक व्यवस्था अनुसारको पात्र नेपालमा नभएको उहाँले बताउनुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहालमा छेपारो जस्तो छिनको छिन रङ्ग फेर्ने चरित्र रहेको विष्टले बताउनुभयो । प्रचण्डको चरित्रले अहिले बनेको गठबन्धन पनि लामो समयसम्म जाने अवस्था नरहेको उहाँले बताउनुभयो । नेता विष्टले भन्नुभयो– ‘फेरि निर्वाचनमा जाने अवस्था आउँछ, पटक पटकका निर्वाचनले मात्रै पनि देशलाईलाई समृद्ध बनाउन सकिन्छ भन्ने होइन तर देश त्यतै जाँदै छ ।’
समृद्ध नेपाल निर्माणका लागि नेकपा (एमाले) बलियो पार्टी बन्नुपर्ने  भएकाले त्यसैका लागि ग्रासरुट अभियान सुरु गरिएको सचिव विष्टले वताउनुभयो । यो अभियानबाट पार्टीलाई व्यवस्थित र सुदृढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । पार्टीहरू जनताको बीचबाटै स्थापित हुने भएकाले एमाले जनतामा जान लागेको विष्टले प्रष्ट पार्नुभयो । 
अभियानका क्रममा सैद्धान्तिक र वैचारिक रूपमा छलफल चलाउने उहाँले बताउनुभयो । पार्टीले लिएको लक्ष प्राप्तिका लागि तय गरेको कार्यदिशामा लाग्न यो अभियान प्रभावकारी हुने उहाँले बताउनुभयो । नेकपा (एमाले) सरकारमा हुँदा पार्टीको वरिपरि घुम्ने र सरकारमा नहुँदा कोही पनि नहुने पार्र्टी एमाले हुन नसक्ने विष्टले बताउनुभयो । ‘नेकपा (एमाले) को विकल्प फेरि पनि नेकपा (एमाले) नै हो’, उहाँले भन्नुभयो । 
देश अहिले गम्भीर सङ्कटमा रहेकाले पार्टी र कार्यकर्ताको मूल्याङ्कन यही बेला हुने उहाँले प्रष्ट पार्नुभयो । त्यसैले देश, पार्टी र आन्दोलन जोगाउने काममा लाग्न नेता कार्यकर्तालाई नेता विष्टले आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो– ‘नेकपा (एमाले) आफ्नै तागतले यहाँसम्म आएको पार्टी हो, नेकपा (एमाले) फेरि छिट्टै सरकारमा आउँदै छ ।’