detail-img

महिला आन्दोलनबाट प्राप्त उपलब्धिबाट गर्व गर्नुपर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको महिला आन्दोलनबाट प्राप्त उपलब्धिबाट गर्व गर्नुपर्ने वताउनुभएको छ । 
११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा महिला अधिकारका सम्बन्धमा गौरव गर्नुपर्ने कामहरू भएको वताउनुभयो । 
अध्यक्ष ओलीले महिलालाई सामाजिकरूपमा अगाडि बढाउने सन्दर्भमा दुनियाँले नगरेको प्रगति हामीले गरेका छौं भन्नुभयो । 
अध्यक्ष ओलीले नेकपा (एमाले) को सरकारका कार्यकालमा सामाजिक न्याय, समानता, महिला सशक्तीकरण र जागरणको क्षेत्रमा अत्यन्तै सजगताका साथ काम भएको वताउनुभयो । 
उहाँले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा महिला प्रतिनिधित्व सुनिश्चित गरिएको मात्र नभई राज्यको विभिन्न अङ्ग र राष्ट्रपतिसमेत महिला आन्दोलनकी नेतृलाई पाउनु गर्वको विषय हो भन्नुभयो ।अध्यक्ष ओलीले राष्ट्रपतिजस्तो गरिमामय पदलाई स्वार्थप्रेरित व्यक्तिले बदनाम गर्न खोजे पनि नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपति विद्या भण्डारीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएको वताउनुभयो ।    
अध्यक्ष ओलीले राणाशासनदेखि नै नेपाली महिलाले अत्यन्तै साहसका साथ विरोधमा उत्रिएको प्रसङ्ग राख्दै अब महिला सशक्तीकरणमा जोड दिनुपर्ने वताउनुभयो । 
उहाँले अबको आन्दोेलन बराबर हक अधिकार र महिलाले हरेक दिन खुशी, सुरक्षित र सम्मानित छु भन्ने अवस्था सिर्जना गरी प्रत्येक दिन मार्च ८ तुल्य हुनुपर्छ भन्नुभयो ।  
अध्यक्ष ओलीले नेकपा (एमाले) को अस्तित्व समाप्त पार्न लागेको अवस्थामा अहिलेको स्थितिमा ल्याउनमा महिला दिदीबहिनीको योगदान असाधारण रहेको वताउँदै महिला योगदान र गौरवपूर्ण इतिहासको प्रशंसा गर्नुभयो ।


उहाँले महिला आन्दोलनको विकास क्रमका बारेमा चर्चा गर्दै २०३७ सालमा शान्ता मानवीको अध्यक्षतामा अखिल नेपाल महिला संघको पुनस्थापना गरिएको र सामाजिक न्याय र समानताको मुद्दालाई उठाई आन्दोलनलाई सफल बनाउने काम खासमा कम्युनिष्टहरूले गरेको वताउनुभयो । 
सो अवसरमा अध्यक्ष ओलीले अनेमसंघले राष्ट्रपति विद्या भण्डारी विशेषका रूपमा प्रकाशित गरेको ‘महिला मुक्ति’ पुस्तक विमोचन गर्नुभयो । 
अध्यक्ष ओेलीले महिला अधिकार, समानता र सामाजिक न्यायको आवाज उठाउँदै ती कुराहरूलाई स्थापित गर्ने कामको नेतृत्व गर्नुभएकी तत्कालीन अनेमसंघकी अध्यक्ष तथा वर्तमान राष्ट्रपति विद्या भण्डारीको योगदानबाट गौरव गर्नुपर्छ भन्नुभयो । 
कार्यक्रममा महासचिव शंकर पोखरेलले अनेमसंघद्वारा आयोजित निबन्ध तथा चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभयो । 
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा अनेमसंघका इन्चार्ज सीता पौडेलले अबको आन्दोलन समानताका लागि, महिला हिंसा अन्त्यका लागि हुनुपर्ने वताउनुभयो । 
उहाँले राजनीतिक अधिकारका सन्दर्भमा एकतिहाईको मुद्दाले सफलता प्राप्त गरे पनि आर्थिक, सामाजिक र साँस्कृतिक विभेद अझै कायम रहेकाले पार्टीले पनि यो विभेद अन्त्यका लागि योजनाबद्ध कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।
नेतृ पौडेलले समानताको कुरा गर्दा पार्टी सदस्य पनि पुरुष बराबर बनाउन खासगरी महिलाले चालू मिसन ग्रासरुटलाई सदुपयोग गर्नुपर्ने वताउनुभयो ।