काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा नेपालकोे कम्युनिष्ट आन्दोलनकी अग्रणी नेतृ पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज विहान पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेकोे पार्टीको १८औं सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दिने निर्वाचन कार्यतालिका रहेको छ ।
सचिवालय बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा पनि छलफल भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलहरूले फरक समुदायको पुरूष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेकोप्रति पार्टी गम्भीर रहेको र त्यस खालको व्याख्या संविधानको मर्म विपरीत हुने पार्टीको ठहर रहेको छ । बैठकमा राष्ट्रपति निर्वाचनको परिणामका बारेमा समीक्षा समेत गरिएको छ ।