detail-img

नेतृ शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी

काठमाडौं । उपराष्ट्रपति पदका लागि आगामी चैत ३ गते हुने निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट नेपालको कम्युनिष्ट आन्दोलनकी अग्रणी नेतृ पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिनुभएको छ । 
उहाँको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र रघुवीर महासेठ हुनुहुन्छ । त्यस्तै समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवती न्यौपाने र यशोदा रिजाल रहनुभएको छ । उम्मेदवार बन्नका लागि पाँचजना सांसद प्रस्तावक र पाँचजना सांसद समर्थक हुनुपर्ने व्यवस्था छ । 
अध्यक्ष ओलीसहितका नेताहरूका साथ उपाध्यक्ष शाक्य नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा जानुभई उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ताको मिति हो । उम्मेदवारी दर्ता गराउनुभएपछि संसद्भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपतिका  उम्मेदवार शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । 
नेकपा (एमाले) को आजै विहान बसेको सचिवालयको  बैठकले नेपालको कम्युनिष्ट आन्दोलनकी अग्रणी नेतृ पार्टीका उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उपराष्ट्रपति पदका लागि अन्य तीनजनाको उम्मेदवारी परेको छ ।