detail-img

‘नेकपा (एमाले) सँग एक्लै लड्न नसक्ने भएपछि गठबन्धन’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  नेपालका कुनै पनि राजनीतिक दल नेकपा (एमाले) सँग एक्लै लड्न सक्ने अवस्थामा नरहेकाले गठबन्धन बनाएर प्रतिस्पर्धा गर्ने गरेको वताउनुभएको छ ।  
अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई शनिवार (२०७९ फागुन २७ गते) सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा वताउनुभएको हो । 
अध्यक्ष ओलीले अहिलेको सत्तारूढ गठबन्धन महिला विरोधी रहेको बताउनुभयो ।


अध्यक्ष ओलीले कानून छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडी पार्ने काम सत्तारूढ गठनबन्धनले गरेको बताउनुभयो । 
उहाँले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्गको प्रतिनिधित्व गराउने बिषयमा पनि सत्ता गठबन्धनले जालझेल गर्न खोजेको धारणा राख्नुभयो । अध्यक्ष ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिएकाले यसै अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उपराष्ट्रपतिमा नेकपा (एमाले) ले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएपछि सत्ता गठबन्धनमा रहेका दलहरू डराएको उहाँको भनाई छ । 
अध्यक्ष ओलीले भन्नुभयो– जङ्गली भैंसी एउटैले सिंहसँग लड्ने आँट गर्दैन, त्यसैले जङ्गली भैंसी हुलमा बस्छन् । गठबन्धनमा रहेकाहरू पनि एमालेले यताबाट आक्रमण गर्छ कि उताबाट आक्रमण गर्छ भन्ने डरले दशतिर फर्केर बसेका छन् । 
नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्टको नाममा आफै दक्षिणपन्थी हुँदै गएको र दक्षिणपन्थीको दलाली गर्ने गरेको भनाइ राख्नुभयो ।