detail-img

‘वर्तमान सरकारले  विदेशीको स्वार्थमा मात्र काम गर्छ’ 

विराटनगर । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले वर्तमान सत्ता गठबन्धनले विदेशीको स्वार्थलाई केन्द्रमा राखेर मात्र काम गर्ने बताउनुभएको छ । 
आज मोरङको केराबारी गाउँपालिकामा आयोजित मिसन ग्रासरुट कार्यक्रममा प्रशिक्षण दिंदै दाहालले वाम गठबन्धनलाई असफल पारेर दक्षिणपन्थीहरूसँग गठबन्धन गर्न प्रचण्ड माहिर रहेको उल्लेख गर्नुभयो । 
‘जनताबाट बहिष्किृत हुँदै गएको माओवादीलाई एमालेले रेस्क्यू गरेको हो तर उसले एमालेको उदारतालाई कमजोरी ठान्यो’ दाहालले भन्नुभयो ‘हाम्रा अध्यक्ष केपी शर्मा ओलीको भिजन र जनताप्रति उतरदायी भएर काम गर्नुपर्ने कुरालाई प्रचण्डले बोझ मानेपछि पुरानै गठबन्धनतिर फर्किएका हुन् ।’
राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता समेत रहेका दाहालले संसदमा एमालेको उपस्थिति कमजोर नभएको बताउनुभयो । ‘अब हामी संसदमा प्रतिपक्ष कस्तो हुनुपर्दछ भनेर देखाउछौं’ उहाँले भन्नुभयो– ‘जनताका एजेण्डा उठाउने र सरकारका गैह्र जनमुखी कामको भण्डाफोर एमालेले गर्नेछ ।’
मिसन ग्रासरुट जनतालाई एमालेप्रति आकर्षित गर्ने एउटा महत्वपूर्ण अभियान भएको दाहालको भनाइ छ । यस अभियानमा सदस्यता नवीकरण, युवालाई पार्टी प्रवेश लगायतका काम गरिने दाहालले बताउनुभयो ।