detail-img

वर्तमान सत्ता गठबन्धनका कारण राष्ट्रिय स्वाभिमान कमजोरः बरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाएको वताउनुभएको छ । 
पार्टीको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत शनिबार सप्तरीको राजविराजमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले दश दलीय गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याएको वताउनुभयो । 
दश दलीय गठबन्धनले मुलुकमा स्थिरतालाई कमजोर बनाई विकास निर्माणका काममा समेत अवरोध पुर्याएको धारणा बरिष्ठ उपाध्यक्ष पोखरेलले राख्नुभयो ।
वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरू बाह्यशक्तिका आड भरोसामा सत्तास्वार्थमा लिप्त रहेको उहाँको भनाई छ । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा (एमाले) पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित र सुदृढ बनाई बहुमत जनताको विश्वास जित्ने योजनाका साथ अगाडि बढेको वताउनुभयो ।  
कुनै पनि राजनीतिक दल भीडमा परिणत भयो भने शक्ति आर्जन गर्न नसक्ने वताउँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय पार्टी कमिटीहरूलाई पालिका तहमा पनि संसदीय दल गठन गरी अगाडि बढ्न निर्देशन दिनुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि जनप्रतिनिधिको काम प्रभावकारी हुनुपर्ने बताउनुभयो । 
नेकपा (एमाले) सप्तरीका अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा भएको जिल्ला भेलामा पार्टीका सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य गुरु बराल, पोलिटव्यूरो सदस्य रामदयाल मण्डल, सुमनराज प्याकुरेल, केन्द्रीय सदस्य सरिता गिरी, राजकुमार लेखी लगायतले मन्तव्य राख्नुभएको थियो ।