detail-img

मिसन ग्रासरुटः विराटनगरमा सदस्यता नवीकरण अभियानको रूपमा

विराटनगर । कोशी प्रदेशको एकमात्र महानगर विराटनगर महानगरमा नेकपा (एमाले) का पाँच हजार सदस्यको सदस्यता  नवीकरणको कामलाई अभियानका रूपमा अगाडि बढाइएको छ । मिसन ग्रासरुट अन्तर्गत यतिवेला महानगरका १९ वटा वडा कमिटी र १७४ वटा टोल कमिटीका भेला बैठक धमाधम भइरहेका छन् ।
महानगर कमिटीका अध्यक्ष सागर थापाले महानगरभित्र नेकपा (एमाले) का पाँच हजार संगठित सदस्य रहेका र तिनीहरूको अवस्था बुझ्ने र सदस्यता नवीकरण गर्दै मिसन ग्रासरुटलाई अघि बढाउने काम भइरहेको जानकारी दिनुभयो ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा केन्द्रीय प्रतिनिधि विशाल भट्टराईले सबै वडा र टोलटोलमा पुगेर कार्यकर्तालाई उर्जा दिने काम गर्नुभएको थापाले बताउनुभयो ।


सोमबार विराटनगर ११ स्थित बुद्धबिहार टोल संगठनको आयोजनामा वृक्षरोपण सम्पन्न गरिएको छ । मिसन ग्रासरुटको कार्यक्रम महानगरभित्र दिनहुँ भइरहेको र चैत १० गतेभित्र टोलका सबै अधिवेशन सम्पन्न गरिसक्ने थापाले जानकारी दिनुभयो ।
ज्यामिरेमा अभिमुखीकरण
यसैगरी, मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९ मा अभिमुखीकरण तथा योजना निर्माण कार्यक्रम भएको छ । 
कार्यक्रममा मिसन ग्रासरुटलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने विषयमा छलफल भएको नेकपा (एमाले) प्रदेश कार्यालयका नेता नरेन्द्र बरालले जानकारी दिनुभयो ।
पार्टीप्रति बृद्धहरूको चासो बढ्दै
मिसन ग्रासरुटलाई तेह्रथुममा बृद्धहरूले उत्साह र चासोपूर्वक सहभागिता जनाएका छन् । जनसङ्ख्याको चाप घट्दै गएको तेह्रथुममा मिसन ग्रासरुट भने उत्साहपूर्वक अगाडि बढिरहेको छ । पूर्वी पहाडी जिल्लाहरूमा पछिल्ला वर्षहरूमा युवा विदेश जाने र स्थानीयहरू बसाइसर्ने क्रम बढ्दो छ । यसको चापमा परेको तेह्रथुमका गाउँमा रहेका वृद्धहरू पार्टीका बैठक र छलफलमा सहभागी हुने गरेका छन् ।


जिल्लाको छथर गाउँपालिका–३ पञ्चकन्यामा एमाले नेता लक्ष्मण तिवारीको नेतृत्वमा भएको कार्यक्रममा वृद्धहरूले चासोका साथ सहभागिता जनाएका छन् । नेकपा (एमाले) ले अहिले के गरिरहेको छ ? र अब के गर्छ ? भन्ने विषयमा उनीहरुको चासो थियो ।