detail-img

‘कर्मचारीलाई तलब ख्वाउन ओभरड्राफ्ट लिनुपर्ने अवस्थामा सरकार’

काठमाडौं । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ ।  
तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा आज (२०७९ चैत ७ गते) आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव विष्णु रिमालले विशेष प्रदेश अन्तर्गतका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनुभयो । 
उपमहासचिव रिमालले मुलुक यतिवेला आर्थिकरूपमा सङ्कटमा रहेको र कर्मचारीलाई तलव खुवाउन पनि ओभरड्राफ्ट र आन्तरिक ऋण उठाउनुपर्ने अवस्थामा सरकार पुगेको वताउनुभयो ।


उपमहासचिव रिमालले यो अवस्थाबाट मुलुकलाई जोगाउन एमालेलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । नेकपा (एमाले) को नीति, विचार र संगठन बलियो रहे पनि आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न पार्टीलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । 
उपमहासचिव रिमालले मुलुकमा विशाल कम्युुनिष्ट पार्टी स्थापना गर्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण गरिए पनि त्यसमा सफलता प्राप्त नभएको बरु जुझारु पार्टीमा भयङ्कर खाडल सिर्जना गरेको, विकृति विसंगति, गुटबन्दी, अराजकता, दक्षिणपन्थी अवसरवाद झाङ्गिन पुगेको हुँदा पार्टीभित्रका विकृति हटाई दुरुस्त बनाउन मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको वताउनुभयो । 
मुलुकमा राजनीतिक रूपमा दुई धार (दक्षिणपन्थी यथास्थितिवाद र अग्रगामी परिवर्तन) बीच सङ्घर्ष चलिरहेको वताउँदै उपमहासचिव रिमालले दक्षिणपन्थी यथास्थितिवादको नेतृत्व नेपाली कांग्रेस र अग्रगामी परिवर्तनको नेतृत्व गर्दै समाजवादतर्फको यात्रामा एमाले रहेको स्पष्ट गर्नुभयो । 
उपमहासचिव रिमालले गत निर्वाचनमा नेकपा (एमाले) विरूद्ध चौतर्फी घेराबन्दीबीच पार्टी जनताको रोजाईमा पहिलो पार्टी भए पनि पार्टीविरूद्ध प्रतिक्रियावादीहरूले फैलाएको भ्रम चिर्न नसक्दा निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकिएको स्पष्ट गर्नुभयो । 
उहाँले नेकपा (एमाले) विरूद्धका भ्रम चिर्न र आफ्ना देश र जनताप्रतिका नीति, विचार जनतासम्म पुर्याउन र एमालेलाई जनताले किन रोज्ने ? भन्ने स्पष्ट गर्न पनि मिसन ग्रासरुट सञ्चालन गरिएको वताउनुभयो ।
उपमहासचिव रिमालले पार्टी संगठन र जनसंगठनबीचको अन्तर र सीमाका बारेमा  पनि पार्टीका कार्यकर्ता स्पष्ट हुनुपर्ने वताउनुभयो ।  
देशका लागि आवश्यक पर्दा राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति गर्नुपर्ने भए पनि नेपाली कांग्रेसले २००७ देखिका हरेक परिवर्तनमा कम्युनिष्टहरूलाई धोखा दिने गरेको चर्चा गर्नुभयो । 
कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले उपत्यका विशेष प्रदेशको कामका बारेमा दिशा निर्देश गर्नुभयो । 
उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका उपाध्यक्ष विदुर कार्कीले प्रदेश कमिटीको अवस्था र प्रशिक्षणका बारेमा प्रकाश पार्नुभएको थियो ।  
कार्यक्रममा मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधिका रुपमा खटिनुभएकी केन्द्रीय सदस्य बीना श्रेष्ठ, अजयक्रान्ति शाक्य लगायत नेताहरूको उपस्थिति रहेको थियो । 
उपत्यका विशेष प्रदेश कमिटी अन्तर्गतका चारवटा जिल्ला कमिटी र अन्तर्गतका इलाका कमिटीमा आबद्ध पार्टीका सदस्यहरूको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका उपसचिव उर्मिला सुनुवारले स्वागत गर्नुभएको थियो भने उपसचिव चन्द्र रिजालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।