detail-img

मिसन ग्रासरुट बाग्लुङका सबै वडामा उत्साहका साथ सञ्चालन 

बागलुङ । नेकपा (एमाले) ले सुरु गरेको मिसन ग्रासरूट बागलुङका सबै वडा तहसम्म सञ्चालन भइरहेको छ । 
अभियान वडामा पुग्दा पार्टी कार्यकर्तामा उत्साह देखिएको छ । केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटीको अभिमुखीकरणपछि वडा तहमा केन्द्रित भएको अभियानले पार्टी सदस्यहरूमा नयाँ उत्साह थपेको प्रदेश कमिटी सचिवालय सदस्य लिला रानाले बताउनुभयो ।
पार्टी सबै तहका सरकारमा प्रतिपक्षमा रहने अवस्था आउँदासमेत कार्यकर्ताले अर्को दलको कार्यकर्ता आकर्षण गरिरहेको रानाको धारणा रहेको छ । केही दिनअघि बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा ठूलो संख्यामा युवाहरू एमालेमा प्रवेश गर्नुभएको थियो । आफ्नो सदस्यता आफैं उपस्थित भएर नवीकरण गर्नुपर्ने बाध्यकारी प्रावधानले कार्यकर्ताका लागि उत्साह थपेको उहाँले बताउनुभयो ।
मिसन ग्रासरुट मार्फत नेकपा (एमाले) लाई बागलुङमा पहिलो र सशक्त शक्तिका रूपमा स्थापित गरिने जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताउनुभयो । अभियानले जिल्लामा जनसंगठनलाई समेत क्रियाशील बनाएको केसीको भनाइ छ । अभियानमार्फत जनताको बीचमा पार्र्टी, कार्यकर्ता र जनता बीचको सम्वन्धलाई कसिलो बनाउने तथा पार्टी सदस्यता नवीकरण, विस्तारका साथै जनताका समस्या, गुनासा र अपेक्षाहरू समेत सङ्कलन गरिने नेकपा (एमाले) बागलुङले जनाएको छ ।