detail-img

ललितपुर महानगरपालिका–५ मा भेला सम्पन्न

ललितपुर । पार्टी सुदृढीकरण तथा विस्तार अभियानको लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत ललितपुर महानगरपालिका– ५ मा मङ्गलबार (२०७९ चैत ७ गते) कार्यकर्ता  भेला सम्पन्न भएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला सहइन्चार्ज हरिकृष्ण व्यन्जनकारको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद रघुनाथ महर्जन, पूर्व प्रदेश सांसद ज्ञानेन्द्र शाक्य, जिल्ला सल्लाहकार परिषदका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना, बाग्मती प्रदेश कमिटी सदस्य महेश कुमार चालिसे, ललितपुर महानगरकी उपप्रमुख मन्जली शाक्य, वडा नं ५ का वडाध्यक्ष तथा पार्टीका वडा इन्चार्ज विकासमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य हरिकृष्ण व्यन्जनकारले समाजवाद उन्मुख पार्टीका कार्यक्रम मिसन ग्रासरुट मार्फत तल्लो तहसम्म लैजाने अभियानको मुख्य लक्ष्य रहेको बताउनुभयो । 
पार्टीभित्रका आन्तरिक समस्या समाधान गर्दै भविष्यमा देशको पहिलो पार्टी निर्माण गर्नका लागि सबै वडा तथा टोल कमिटी सक्रियतासाथ लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टी बलियो बनाउन स्थानीय कमिटीहरुलाई मजबुत बनाउँदै युवा पङ्क्तिलाई पार्टीमा अवसर र विशेष जिम्मेवारी दिनुपर्ने बताउनुभयो । 
कार्यक्रममा प्रदेश कमिटी सदस्य महेश कुमार चालिसेले पार्टी सदस्य संख्या बृद्धि, पुराना सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, पार्टी संगठन निर्माण, सुदृढीकरण तथा व्यवस्थित गर्ने जस्ता अभियानका प्रमुख कार्य रहेको वताउनुभयो । 
यसैगरी महानगर कमिटीका अध्यक्ष, ललितपुर महानागरकी उपप्रमुख मन्जली शाक्यले पार्टी, संगठन निर्माण तथा विकास निर्माणको सवालमा ललितपुर महानगर–५ पार्टी कमिटीको भूमिका गर्व गर्न लायक रहेको र अन्य वडा तथा कमिटीहरुले पनि यसको अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो । 
पार्टीका महानगर कमिटीका सचिव ज्ञानेन्द्र शाक्यले पार्टीले गरेको राम्रा कामलाई मिसन ग्रासरुट अभियान मार्फत जनताको घरघरमा पुर्याउनुपर्ने बताउनुभयो । 
पार्टीका जिल्ला सल्लाहकार परिषद संयोजक पुरुषोत्तम ढुङ्गानाले ठूलो सङ्घर्षबाट ललितपुर महानगर– ५ मा पार्टी आजको सफलताको अवस्थासम्म आईपुगेको बताउनुभयो ।