detail-img

हाम्रा सम्पूर्ण प्रयास सुदृढ राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित हुनुपर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा एउटा सबल र सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक रहेको वताउनुभएको छ । 
देशलाई अस्थिरता, अन्यौल र दिशाहीनताबाट जोगाएर सही बाटोमा अगाडि बढाउन सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) का सम्पूर्ण गतिविधि त्यसतर्फ केन्द्रित रहेको वताउनुभयो । 
आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले हाम्रा सम्पूर्ण प्रयास सुदृढ राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित हुनुपर्छ भन्नुभयो । अध्यक्ष ओलीले नेकपा (एमाले) सम्बद्ध सबै जनसंगठनले पार्टीले आफ्नो गन्तव्य बनाएको समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा साकार पार्ने, पूरा गर्ने कुरालाई आफ्नो मूल गन्तव्य बनाउनुपर्ने वताउनुभयो । 

 
अध्यक्ष ओलीले नेकपा (एमाले) को काँधमा देश बनाउने अभिभारा रहेको र त्यसका लागि पार्टीसँग स्पष्ट दृष्टिकोण, राम्रा विचार हुँदा हुँदै पनि गत निर्वाचनमा अपेक्षित सफलता प्राप्त गर्न नसक्दा  उक्त अभिभारा पूरा गर्ने यात्राका लागि बाधा पुगेको वताउनुभयो । उहाँले देशको विकास र समृद्धिका लागि स्पष्ट दृष्टिकोण र विचार बोकेको एमालेजस्तो पार्टीको निर्वाचनमा बहुमत नआउनुको कारण भनेको जनतामा सही विचारले घर गर्न नसकेको र हामीले जनतामा सही विचार पुर्याउन नसक्नु पनि हो भन्नुभयो ।   
पार्टीले अहिले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) सञ्चालन गरिरहेको र यसमार्फत पार्टी जनतासम्म पुग्ने वताउँदै उहाँले भन्नुभयो– यस अभियानमा पार्टीले जनता र कार्यकर्तामा सही विचार पुर्याउने काम गर्ने छ । 
कार्यक्रममा महासचिव शंकर पोखरेलले नेकपा (एमाले) माथि भइरहेको चौतर्फी आक्रमण र घेराबन्दी राष्ट्रमाथिकै प्रहार भएको बताउनुभयो । 
उहाँले अहिले राष्ट्रिय राजनीतिमा एमाले र यसको नेतृत्वका विरुद्ध भइरहेको आक्रमण र घेराबन्दीको उद्देश्य एमालेलाई मात्र नभई देशलाई नै कमजोर बनाउने रहेको बताउनुभयो । 
नेपाललाई असफल बनाउने उद्देश्यका साथ एमालेमाथि चौतर्फी प्रहार भइरहेको उहाँको भनाइ छ । एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा अघि बढाउन सकेमात्रै मुलुकको रक्षा र नेपालीको समृद्धिको सपना पूरा हुने वताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– अहिले हाम्रो पार्टी र पार्टीको नेतृत्वविरुद्ध जस्तो किसिमको घेराबन्दी र आक्रमण भइरहेको छ, यसको उद्देश्य नेकपा (एमाले) लाई कमजोर बनाउने मात्र होइन, नेपाल राष्ट्रलाई कमजोर बनाउने उद्देश्यका साथ नेकपा (एमाले) माथि प्रहार भइरहेको छ ।
नेपालको एउटा देशभक्त शक्तिमाथिको प्रहार राष्ट्रमाथिको प्रहार हो भन्ने कुरालाई हामीले बुझ्नु र आत्मसात गर्नुपर्ने भनाइ उहाँले राख्नुभयो । 
आदिवासी जनजाति समुदायमा पहिचानको प्रश्न प्रमुख ठान्ने तर विशेषता भाषा, संस्कृति तथा उत्पादनको प्रकृतिलाई बेवास्ता गर्ने रहेको बताउँदै महासचिव पोखरेलले नेपालको विविधतालाई ख्याल गर्दै समुदायको हितमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले महाधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।