detail-img

उपनिर्वाचनका लागि चितवन, बारा र तनहुँमा उम्मेदवारी दर्ता 

काठमाडौं । प्रतिनिधि सभामा रिक्त तीन सदस्यका लागि आगामी २०८० बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारहरूले सोमबार (२०७९ चैत २० गते) उम्मेदवारी दर्ता गराउनुभएको छ । 
निर्वाचन आयोगले प्रकाशित गरेको उपनिर्वाचन तालिका अनुसार, चितवन निर्वाचन क्षेत्र नं. २, बारा निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा बैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ताको मिति रहेको थियोे ।


चितवन क्षेत्र नं. २ मा नेकपा (एमाले) बाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावक र समर्थकमा पार्टीका नेताहरू विजय सुवेदी र कृष्णभक्त पोखरेल रहनुभएको छ । न्यौपाने पार्टीका चितवन जिल्ला अध्यक्ष हुनुहुन्छ । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे, पोलिटव्यूरो सदस्य गोकुल बास्कोटा लगायतका नेताकार्यकर्तासहित न्यौपाने उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय जानुभएको थियो ।

 
त्यसैगरी, बारा निर्वाचन क्षेत्र नं.२ मा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेलले उम्मेदवारी दिनुभएको छ । उहाँ प्रतिनिधि सभाका पूर्व सांसद हुनुहुन्छ । पौडेलको प्रस्तावक र समर्थकमा पार्टीका नेताहरू बलवीर चौधरी र बन्दना सिंह रहनुभएको छ । उम्मेदवारी दिन पार्टीका नेताहरू सचिव रघुवीर महासेठ, पोलिटव्यूरो सदस्य अच्यूत मैनाली,ज्वालाकुमारी साह लगायतका नेताकार्यकर्ताहरू निर्वाचन अधिकृतको कार्यालय जानुभएको थियो ।


त्यसैगरी, तनहुँ निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) बाट सर्वेन्द्र खनालले उम्मेदवारी दिनुभएको छ । पार्टीका सचिव पदमा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, केन्द्रीय सदस्य भगवती न्यौपानेसहितका नेताकार्यकर्ताका साथमा सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी दर्ता गराउनुभएको हो । खनालको प्रस्तावक र समर्थकमा पार्टीका नेताहरू क्रमशः भगवती न्यौपाने र एकबहादुर राना रहनुभएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा विजयी तनहुँका प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि त्यहाँको प्रतिनिधि सभा सदस्य पद रिक्त भएको थियो भने बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित हुनुभएपछि उक्त क्षेत्र खाली भएको थियो  । त्यसैगरी चितवन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको  सांसद पद नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले खारेज गरी दिएपछि पुनः निर्वाचन हुन लागेको हो । 
सही र इमान्दार उम्मेदवारलाई विजयी बनाउन आग्रह 
चितवनमा उम्मेदवारी दर्ता गराउन पार्टीका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटासहितका नेताकार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो । उम्मेदवारी दर्ता गराउन जानु अगाडिको सभामा सम्वोधन गर्दै नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले सही उम्मेदवारलाई जनताले विजयी नगराउँदा पुनः निर्वाचन हुन पुगेको भन्दै इमान्दारलाई जिताउन अनुरोध गर्नुभयो ।
उहाँले जनताको हितमा काम गर्ने सांसद हुँदा र नहँुदा त्यस क्षेत्रको विकास कस्तो हुन्छ भन्ने कुरा जनताले महसुस गरिसकेको बताउनुभयो । उहाँले स्थानीयको समस्या बुझेका र स्थायी वासिन्दालाई विजयी गराउन अनुरोध गर्नुभयो ।