detail-img

चौथो महाधिवेशनको उच्च मूल्याङ्कन गर्दै केन्द्रीय सचिवालयको विशेष बैठक सिरहामा सम्पन्न 

लहान(सिरहा) । नेकपा (एमाले) केन्द्रीय सचिवालयको विशेष बैठक नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनको ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनका साथ स्मरण गर्दै सम्पन्न भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज २०८० भदौ १३ गते नेकपाको चौथो महाधिवेशन सम्पन्न भएको स्थल र हल सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्बासमा बसेको बैठकले महत्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्तावहरूसहित विशेष प्रस्ताव पारित गरेको छ ।


पारित प्रस्तावहरू देहायबमोजिम छन्ः
नेपाल कम्युनिष्ट पार्टी (एमाले) (तत्कालीन नेकपा– माले)द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन २०४६ साल भदौ ९ देखि १४ सम्म सिराहाको विष्णुपुरकट्टी, सर्रे अम्बास (हाल धनगढीमाई नगरपालिका, वडा नं. ४) मा सम्पन्न भएको थियो । निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही शासन व्यवस्थाको चरम दमनको त्यस प्रतिकूल अवस्थामा देशभित्र, श्रमजीवी जनताहरूको आश्रय, संरक्षण र सुरक्षामा आयोजना गरिएको त्यस महाधिवेशनको ऐतिहासिक महत्व छ । भदौ ९ गते चौथो राष्ट्रिय महाधिवेशन आरम्भ भएको दिन हो । महाधिवशेन सम्पन्न भएको ३५ औं बर्ष प्रवेशको सन्दर्भ पारेर आज २०८० साल भदौ १३ गते नेकपा (एमाले) केन्द्रीय सचिवालयको विशेष बैठक महाधिवेशन आयोजना गरिएको सोही स्थान र उही हलमा सम्पन्न भएको छ । बैठकले चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारी र तत्कालीन सन्दर्भ समेतलाई सम्मान साथ स्मरण गर्दछ र यसको भावनालाई आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गर्दछः
१.     तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनको एउटा विशिष्ट र ऐतिहासिक परिघटना थियो । २०१९ सालमा आयोजित तेस्रो राष्ट्रिय महाधिवेशनपछि विभाजित र विखण्डित हुँदै क्षतविक्षत अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई जगैदेखि पुनर्गठन, पुनर्निर्माण र क्रान्तिकारी धारमा एकताबद्ध बनाउने प्रयासस्वरुप सुरु भएको झापा आन्दोलन, त्यसको प्रकाशमा को–अर्डिनेशन केन्द्रको गठन र नेपाल कम्युनिष्ट पाटी (माले)को गठन आफैमा आन्दोलनको पुनर्जीवनका कोसेढुङ्गाहरू थिए । दर्जनौं क्रान्तिकारी समूहहरूलाई एकताबद्ध पार्दै मुलुकको मुख्य कम्युनिष्ट शक्तिका रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी (माले)द्वारा आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टीको यस ऐतिहासिक महाधिवेशनले झण्डै ३० वर्ष अगाडि टुटेको कम्युनिष्ट आन्दोलनको कडीलाई जोड्ने काम ग¥यो । हामीले महाधिवेशनलाई ‘नेकपा (माले) को महाधिवेशन’ नभई ‘नेकपाको चौथो महाधिवेशन’ नामाकरण गर्नुको मुख्य उद्देश्य पनि यही टुटेको कडीलाई जोड्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु थियो । महाधिवेशनबाट पारित प्रस्तावमा भनिएको छ– महाधिवेशन नेपाल कम्युनिष्ट पार्टीको पहिलो र दोस्रो राष्ट्रिय महाधिवेशन तथा सन् १९६२ मा केशरजङ्ग रायमाझी गुटका विरुद्ध सङ्घर्ष गर्दै सम्पन्न भएको तेस्रो राष्ट्रिय महाधिवेशनको वैधानिकतालाई मान्यता प्रदान गर्दछ र हाम्रो पार्टीलाई नेपाल कम्युनिष्ट पार्टीभित्रको क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी धाराको पुनस्र्थापना र विकासको अनिवार्य परिणामका रुपमा मूल्याङ्कन गर्दछ ।’ त्यो निर्णय कति दूरदर्शी र सही थियो भन्ने कुरा २०४७ पुसमा भएको नेकपा (माले) र नेकपा (माक्र्सवादी)को एकीकरण, २०५० मा तेस्रो राष्ट्रिय महाधिवेशनबाट महासचिवका रुपमा निर्वाचित कमरेड तुल्सीलालले नेतृत्व गर्नुभएको समूहसँगको एकीकरणलगायतका घटनाक्रमले पुष्टि गर्छन् । यिनै ऐतिहासिक मोडहरू हुँदै अगाडि बढेको नेकपा (एमाले)ले आज नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति, मूलप्रवाह र सही क्रान्तिकारी धारको प्रतिनिधित्व गर्छ । 
२.     यस महाधिवेशनबाट कमरेड मदन भण्डारीको प्रस्तावमा नेपाली क्रान्तिको विशिष्ट कार्यक्रम पारित गर्दै इतिहासमा पहिलोपल्ट ‘बहुदलीय जनवादी शासन प्रणाली स्थापना गर्ने’ सङ्कल्प गरिएको थियो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा उत्पन्न ठूला विवादहरूको पृष्ठभूमि, कम्युनिष्ट पार्टी हुनका लागि त्यसले हिंसात्मक बाटो र जनवादी (या सर्वहारा) अधिनायकत्वको अवधारणा बोकेकै हुनुपर्ने जस्तो गरेर स्थापना गरिएका कतिपय गलत सङ्कथनहरू र कम्युनिष्ट आन्दोलन जडसूत्रवाद तथा विसर्जनवादको चुनौतीबीचबाट गुज्रिरहेको बेला निकालिएको यो निष्कर्ष आफैमा ऐतिहासिक महत्वको थियो । यस पार्टीमा २०३७ साल र त्योभन्दा अघिदेखि सञ्चालित विचारधारात्मक बहसको वस्तुनिष्ठ संश्लेषण तथा सही निष्कर्ष थियो । यसले नेपाली क्रान्तिको आफ्नै मौलिक, सिर्जनात्मक तथा विशिष्ट बाटोको दिशानिर्देश गरेको थियो ।
चौथो राष्ट्रिय महाधिवेशनको यसै निष्कर्षलाई अझ मूर्त, व्यापक र सैद्धान्तिकीकृत गर्दै २०४९ सालमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट हामीले नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा ‘जनताको बहुदलीय जनवाद’ पारित ग¥यौैं, जुन आज नेपाली विशिष्टतामा माक्र्सवादको सिर्जनात्मक प्रयोग तथा नेपाली क्रान्तिको मौलिक सिद्धान्तका रुपमा स्थापित छ । गएका ३० वर्षका व्यवहारिक परीक्षणका क्रममा यस सिद्धान्तको सच्चाइ बारम्बार पुष्टि भएको छ र यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई मात्रै होइन, सिङ्गो नेपाली समाजलाई सही दिशाबोध र मार्गदर्शन गरेको छ । जबजको विजारोपण गर्ने महाधिवेशनका रुपमा चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक महत्व छ ।
३.     चौथो महाधिवेशनले कमरेड मदन भण्डारीलाई सर्वसम्मत रुपमा महासचिव निर्वाचित गरेको थियो । त्यसो त २०३० को दशकको उत्तराद्र्धदेखि नै वैचारिक नेताको रुपमा कमरेड मदन भण्डारीको पार्टीमा गहिरो छाप पर्न सुरु भइसकेको थियो । नेपाली समाजको प्रधान अन्तरविरोध के हो ? नेपाली क्रान्तिको मौलिक कार्यक्रम कस्तो हुनुपर्छ र यसका आम तथा विशिष्ट पक्षहरूबीचको अन्तरसम्बन्ध के हो ? राजनीतिक स्वतन्त्रता र पार्टी स्वतन्त्रताका अर्थ, महत्व र सीमाहरू के हुन् ? जनमत सङ्ग्रहको घोषणालाई कसरी हेर्ने र यससम्बन्धी कस्तो नीति अवलम्बन गर्ने ? सङ्घर्षका मुख्य स्वरुप र सङ्गठनका मुख्य चरित्र कस्तो हुनुपर्छ ? कम्युनिष्ट पार्टीले प्रजातन्त्र र मानव अधिकारसम्बन्धी कस्तो दृष्टिकोण लिनुपर्छ र यसको अगुवाइ कसरी गर्नुपर्छ ? आन्दोलनको मञ्चका रुपमा पञ्चायती निर्वाचन र निकायहरूको उपयोग गर्न सकिन्छ÷सकिन्न ? जस्ता अनेकौं गम्भीर वैचारिक–राजनीतिक प्रश्नहरूमा उहाँले पार्टीलाई सही मार्गदर्शन गरिरहनुभएको थियो । त्यसैले महाधिवेशनबाट महासचिवका रुपमा उहाँको चयन स्वाभाविक, सही र दूरदर्शी निर्णय थियो । मदन भण्डारीजस्ता मेधावी, नवीन विचारक र लोकप्रिय नेतालाई महासचिव चयन गर्ने चौथो राष्ट्रिय महाधिवेशनको निर्णयको विशेष महत्व छ ।
४.     महाधिवेशनले निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाहीका विरुद्ध ‘जनवाद, जनजीविका र राष्ट्रियताका न्यूनतम् साझा सवालहरूमा एकजुट हुन र राष्ट्रव्यापी रुपमा संयुक्त जनआन्दोलनको उभार सिर्जना गर्न’ देशमा विद्यमान सबै वामपन्थी तथा गैरवामपन्थी शक्तिहरूलाई आह्वान ग¥यो । त्यस नीति र आह्वानलाई व्यवहारमा सार्थक तुल्याउनु सहज थिएन, तर पार्टीले त्यस सम्बन्धमा ठोस पहल पनि ग¥यो । महाधिवेशनबाट पारित संयुक्त जनआन्दोलनको यसै कार्यदिशाका आधारमा लगत्तै संयुक्त वाममोर्चाको गठन भयो, नेपाली काङ्ग्रेससँग सहकार्य र संयुक्त मोर्चाको निर्णय भयो र २०४६ साल फागुन ७ गतेबाट सुरु भएको ऐतिहासिक जनआन्दोलनले ५१ दिन लामो कठोर र बलिदानी सङ्घर्षपश्चात् राजतन्त्रको निरङ्कुशता र पञ्चायती तानाशाहीको अन्त्य ग¥यो । यसरी महाधिवेशनले कमरेड पुष्पलालले दशकौं अगाडि प्रस्ताव गर्नुभएको तर नेपाली काङ्ग्रेसका गलत सोचका कारण कार्यान्वयन हुन नसकेको संयुक्त जनआन्दोलनको कार्यदिशालाई मूर्तरुप दिने र कार्यान्वयन गर्ने ऐतिहासिक अभिभारा सम्पन्न ग¥यो । ३० वर्ष लामो पञ्चायती तानाशाहीको अन्त्य गर्न संयुक्त जनआन्दोलनको जग बसाल्ने र पार्टीलाई संयुक्त आन्दोलनको वैचारिक नेताको रुपमा स्थापित गर्ने ऐतिहासिक मञ्चका रुपमा चौथो राष्ट्रिय महाधिवेशनको युगीन महत्व छ ।
५.     चौथो राष्ट्रिय महाधिवेशनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले आफ्नो जीवनकालमा पार्टी र क्रान्तिलाई अघि बढाउन दिनुभएका सकारात्मक योगदानहरूको उच्च मूल्याङ्कन ग¥यो र उहाँप्रति हार्दिक सम्मान प्रकट ग¥यो । नेपाली कम्युनिष्ट आन्दोलनमा विभाजन आएसँगै इतिहासलाई निषेध गर्ने, त्यसको अवमूल्यन गर्ने र पार्टीका संस्थापकसहित अन्य नेताहरूलाई कतिपय विषयमा असहमति भएकै आधारमा अपमान, निन्दा र विरोध गर्नेजस्ता अपसंस्कृतिहरू पनि देखापरेका थिए । यस्तै अपसंस्कृति, सङ्कीर्णता र गुटगत मान्यताको शिकार कमरेड पुष्पलाललाई पनि बनाइएको थियो । उहाँलाई लाञ्छित गर्ने र उहाँका योगदानहरूलाई अस्वीकार गर्ने प्रवृत्ति विभिन्न समूहमा देखापरेको थियो । महाधिवेशनले यस्ता प्रवृत्तिहरूलाई अस्वीकार गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालका योगदानहरूलाई पुनस्र्थापित गर्ने अत्यन्त महत्वपूर्ण निर्णय गरेको थियो ।
६.     महाधिवेशनले कमरेड माओ त्सेतुङले दिनुभएका योगदानहरू र चिनियाँ क्रान्तिका अनुभवहरूबाट सिक्ने तर मार्गदर्शक सिद्धान्तका रुपमा भने माओ त्सेतुङ विचारधारालाई कायम नराख्ने निर्णय ग¥यो । यो निर्णय नेपाली क्रान्तिलाई आफ्नै यथार्थ धरातलमा उभ्याउने, आन्दोलनलाई कुनै पनि विदेशी अनुभवहरूको यान्त्रिक अन्धानुकरण र नक्कलबाट मुक्त गर्ने, माक्र्सवादको सिर्जनात्मक प्रयोगबाट क्रान्ति तथा समाजवाद निर्माणको आफ्नै मौलिक बाटो अन्वेषण गर्ने सन्दर्भमा अत्यन्त महत्वको निर्णय थियो । 
७.     अत्यन्त कठिन र प्रतिकूल परिस्थितिका माझ, भूमिगत रुपमा आयोजना गरिएको भए पनि महाधिवेशनमा जनवाद र पार्टीको आन्तरिक लोकतन्त्रको उच्चतम् अभ्यास गरिएको थियो । सबै प्रतिनिधिहरूका लागि यो आफ्नो जीवनको पहिलो राष्ट्रिय महाधिवेशन थियो, पहिलो अनुभव थियो । तर सबै प्रतिनिधि जीवन्त बहसमा सहभागी हुनुभयो । अनेकौं प्रश्नमा बहसमात्रै भएनन्, मार्गदर्शक सिद्धान्त, मूल कार्यनीतिक नारा तथा विभिन्न राजनीतिक शक्तिहरूका वर्ग¬–चरित्र सम्बन्धमा मतदान समेत भयो । आफ्ना मतहरू मतदानका क्रममा पराजित भए पनि विचार प्रस्तोता कमरेडहरूले अनुशासन, पार्टी गोपनीयता र महाधिवेशनका निर्णयहरूप्रतिको प्रतिबद्धता उदाहरणीय रहेको थियो ।
८.     २०१७ सालमा राजा महेन्द्रले पार्टीहरूमाथि प्रतिबन्ध लगाउँदै निर्दलीय र निरङ्कुश शासनसत्ता थोपरेपछि देशभित्र पार्टी गतिविधिहरू आयोजना गर्न कति कठिनाइ थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । सयौं नेताहरू गिरफ्तार भएर बन्दीजीवन बिताउन बाध्य भएको, दर्जनौं नेताहरू निर्वासित भएको, सयौं–सय नेता– कार्यकर्ताहरूले कष्टकर भूमिगत जीवन जिउन बाध्य भएको र पार्टी सङ्गठन त परको कुरा, जनसङ्गठनहरू, सामुदायिक सङ्गठनहरू र सरोकारवाला सङ्गठनका गतिविधिहरूमा समेत कडाइका साथ रोक लगाइएको त्यो कालखण्ड असाध्यै प्रतिकूल कालखण्ड थियो । जेल सार्ने निहुँमा राजनीतिक बन्दीहरूको हत्या गरिनु, बाटोमा जम्काभेट भएका राजनीतिक नेताहरूलाई त्रूmरतापूर्वक मारिनु र शान्तिपूर्ण आन्दोलनमा समेत बर्बर दमन गरिनु आमघटना जस्तै थिए । त्यसैले विभाजित कम्युनिष्ट आन्दोलनका कुनै पनि समूह र अन्य राजनीतिक पार्टीहरूले समेत देशभित्र यस तहको राजनीतिक मञ्चको आयोजना गर्ने परिकल्पना नै नगरेको त्यस प्रतिकूल अवस्थामा नेकपा (माले)ले जनताको आश्रय, संरक्षण र मायाका बीच जुन ऐतिहासिक महाधिवेशन आयोजना गर्यो, त्यो आफैमा अद्वितीय र पार्टी तथा जनताबीचको अन्योन्याश्रित सम्बन्धको अनुपम नमूना थियो । श्रमजीवी जनता नै पार्टीका मुख्य आधार हुन्, तिनीहरू नै पार्टीको ऊर्जाका स्रोत हुन् र हरेक सङ्कटबाट पार्टीलाई संरक्षण गर्ने सामथ्र्य उनीहरूमा छ भन्ने कुरा त्यस भेगका श्रमजीवी जनताहरूले प्रदर्शित गरेका छन् । जनताबाट प्रदर्शित त्यस माया, सुरक्षा र आश्रय आज पनि हाम्रा लागि प्रेरणाको स्रोत रहेको छ ।
चौथो महाधिवेशन सम्पन्न भएको आज ३४ वर्ष व्यतित भएको छ । मुलुकको राजनीतिमा पनि ठूला परिवर्तनहरू भएका छन् । मुलुक त्यतिबेला विद्यमान पञ्चायती तानाशाही र राजतन्त्रलाई समाप्त पार्दै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । जनताका प्रतिनिधिले बनाएको संविधानबाट सञ्चालित छ । जनताका अधिकारहरू संविधानमा संरक्षित छन् । त्यतिबेलाको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी आज देशकै मुख्य राष्ट्रिय शक्तिका रुपमा स्थापित भएको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न बाँकी नै छ । राष्ट्रियतालाई सुदृढ गर्ने हाम्रो अभियान जारी नै छ । 
पछिल्ला समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएका छन् । समाज र राजनीतिमा देखापरेका विकृति, विसङ्गती, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ । यतिबेला जनताले भोग्नुपरिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ । यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारीका योगदानहरूप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ । यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र सङ्कल्पलाई पे्ररित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरुप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने प्रण गर्दछ ।