detail-img

उपाध्यक्ष स्व. नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टी 

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टी आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिएको छ । 
अध्यक्ष कमरेड केपी शर्मा ओलीले पशुपति आर्यघाटमा उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्नुभयो । संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभाका पूर्वसभामुख नेम्वाङको निधनमा नेपाल सरकारले राजकीय सम्मान प्रदान गरेको थियो । 
उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा छोराहरू मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएको थियो । त्यसक्रममा स्व.नेम्वाङप्रति सम्मान प्रकट गर्दै नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।
स्व.नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, नेपाल सरकारका मुख्य सचिव, संसद सचिवालयका महासचिवसहित उच्चपदस्थ कर्मचारीहरू, सुरक्षा निकायका अधिकारीहरू, सामाजिक क्षेत्रका प्रतिष्ठित महानुभावहरू, स्व. नेम्वाङको परिवारका सदस्य तथा आफन्तजन, ठूलो सङ्ख्यामा पार्टीका नेता–कार्यकर्ताहरू र सर्वसाधारणको पशुपति आर्यघाटमा उपस्थिति रहेको थियो । 
स्व.नेम्वाङको निवास, बालुवाटारबाट आर्यघाटसम्म शवयात्रा गरिएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो । 
सोमबार राति करिब १ः४० बजे निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दुई दिन पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको थियो । पार्टी कार्यालयदेखि पशुपति आर्यघाटमा अन्त्येष्टीसम्म स्व. नेम्वाङप्रति हजारौंले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । 
उपाध्यक्ष नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको छ । 
स्व.नेम्वाङ २००९ फागुन २८ गते ईलामको सुन्तलाबारीमा जन्मिनुभएको हो ।  २०४८ र २०५२ सालमा गरी दुईपटक राष्ट्रियसभाको सदस्य हुनुभएका नेम्वाङ २०५६ मा इलामबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ २०६३ सालको पुनस्र्थापित प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो । २०६४ र २०७० सालमा भएका दुईवटा संविधानसभा निर्वाचनमा ईलाम क्षेत्र नं. २ बाट विजयी बनेर संविधानसभा अध्यक्ष बन्नु भई उहाँले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । 
उपाध्यक्ष नेम्वाङ २०७४ र २०७९ का प्रतिनिधिसभा सदस्यमा पनि ईलाम–२ बाट निर्वाचित हुनुभएको थियो । 
राजनीतिक जीवनमा नेम्वाङले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारीसमेत बहन गर्नुभएको थियो ।  
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, ईलाममा अनेरास्ववियुबाट स्ववियु सभापति हुनुभएको थियो । राजनीतिकै क्रममा २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएका उहाँ तत्कालीन नेकपा मालेमा संगठित हुनुभएको थियो ।
२०५४ को छैटौं महाधिवेशनदेखि निरन्तर पार्टीको  केन्द्रीय कमिटीमा रहनुभएका नेम्वाङ २०७१ सालमा भएको नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य हुनुभयो भने २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुनुभएको होे । 
उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।