काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनको आन्दोलनमा प्रवासी नेपालीको योगदान महत्वपूर्ण रहेको वताउनुभएको छ ।
प्रवासी नेपाली संघ, भारत केन्द्रीय समितिको तेस्रो बैठकलाई आज (२०८० असोज २४ गते) नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रवासी नेपालीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
संविधान निर्माणपछिको हाम्रो आन्दोलन तीब्र विकास र समृद्धि रहेका कारण नेकपा (एमाले)ले समृद्ध नेपाल, सुखी नेपालीलाई आफ्नो गन्तव्य बनाएको र यो समाजवादतर्फको यात्रा भएकाले त्यसलाई सफल बनाउन पनि प्रवासी नेपालीको महत्वपूर्ण भूमिका रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेपाली राजनीतिक आन्दोलन २००७ सालदेखि सहमति र सम्झौतामा टुङ्गिँदा राष्ट्रिय आन्दोलनले झड्का खाने गरेको चर्चा गर्दै अध्यक्ष ओलीले अहिले पनि मुलुक अगाडि बढाउने कुरामा धेरै र नयाँ प्रकारका चुनौतीहरू रहेको वताउनुभयो ।
नेकपा (एृमाले)ले राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अत्यन्त महत्व दिन्छ र छिमेकीको जायज चासोलाई पनि बुझ्छ भन्दै अध्यक्ष ओलीले एमाले बाहेकका राजनीतिक दलहरू स्वार्थकेन्द्रित र विदेशीका लागि अनुकूल (कम्फर्टेबल) भइदिने गरेकाले पनि लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै मुलुकलाई तीब्र विकासमा अगाडि बढाउने कुरा चुनौतीपूर्ण रहेको बताउनुभयो ।
कसैले जातका नाममा पहिचान, धर्म, भूगोल लगायतका विषय र कतिपयले देश बनाउन राजा चाहियो भन्ने जस्ता आवाज उठाउन थालेका हुँदा त्यस्ता हरेक गलत कुराहरूको ठाउँका ठाउँ खण्डन गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रवासी नेपाली संघ, भारतको केन्द्रीय कमिटीका पदाधिकारी, सदस्यहरू र भारतका विभिन्न राज्यबाट आउनुभएका ६० जनाभन्दा बढी प्रवासी नेपालीहरू केन्द्रीय कमिटीको तेस्रो बैठकसँगै आजैदेखि तीन दिन पार्टीको स्कुलमा सहभागी हुनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय स्कुल विभागद्वारा सञ्चालित स्कुलको १३औँ श्रृङ्खलाको पहिलो दिन आज पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टी स्कुल तथा उद्देश्यमाथि प्रकाश पार्नुका साथै पार्टीको दशौँ महाधिवेशनद्वारा पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
पार्टी स्कुलको उद्देश्यमाथि प्रकाश पार्दै उपमहासचिव ज्ञवालीले देशको राजनीतिमा ठूलो परिवर्तन आएकाले पार्टी सदस्यहरूका लागि वैचारिक प्रशिक्षण दिनु अनिवार्य भएको बताउनुभयो ।
वैचारिक ज्ञानलाई निरन्तर खार्दै लगिएन भने ‘आउट डेटेड’ हुने डर भएकाले सबै पार्टी सदस्यहरू ‘अपडेटेड’ हुनु आवश्यक रहेको बताउँदै उपमहासचिव ज्ञवालीले पार्टीले आधारभूत, माध्यमिक, उच्चतह र विशिष्ट गरी चार तहका स्कुल सञ्चालनको योजनाका साथ पाठ्यक्रम तयार गरेको जानकारी गराउनुभयो ।
पार्टी सदस्यहरूको अध्ययन सामाजिक सञ्जाल भइरहेको र त्यो अध्ययन सतही भएकाले ज्ञानको भोक जगाउन आवश्यक रहेको बताउँदै उहाँले पार्टीको एघारौं महाधिवेशन अघिसम्म सबै पार्टी सदस्यलाई स्कुलको प्रशिक्षण दिइसक्ने लक्ष्य रहेको बताउनुभयो ।
आधारभूत तहको स्कुल जिल्लाले र माध्यमिक तहको स्कुल प्रदेशले सञ्चालन गर्ने छन् भने केन्द्रीय स्कुल विभागले सबैका लागि पाठ्यक्रम तयार गर्नुका साथै प्रशिक्षक प्रशिक्षण र विशिष्ट प्रशिक्षण सञ्चालन गर्ने स्कुल विभाग प्रमुख ज्ञवालीले बताउनुभयो ।
पार्टीको मिसन बदलिएको र अबको मिसन लोकतन्त्रलाई सुदृढ गर्दै समृद्धि प्राप्ति भएकाले पार्टी सदस्यका लागि स्कुल आवश्यक रहेको उहाँको भनाइ छ ।
त्यसैगरी पार्टी स्थायी कमिटीका सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराईले नेपालको भूराजनीतिक अवस्थिति, विदेश नीति, सम्भावना र चुनौतीहरू विषयमा प्रशिक्षण दिनुभएको थियो ।
उहाँले नेपालको परराष्ट्र नीतिका आधारहरू, संयुक्त राष्ट्र संघको गठन र राष्ट्र संघको वडापत्रमा उल्लेखित शक्तिका आधारमा नभई अन्तराष्ट्रिय कानुनका आधारमा दुई देशबीच सम्बन्ध कायम हुने बिषय, विदेश नीतिमा हामीले लिने अडान, नेपालको विदेश नीतिका प्रमुख उद्देश्य, नेपाल– भारत सम्बन्ध लगायतका बिषयमा प्रशिक्षित गर्नुभएको थियो ।
डा. भट्टराईले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित हुनुपर्ने र दुबैतिरको विकाससँग आफूलाई जोडेर हामीले नेपालको विकास गर्नुपर्ने बताउनुभएको थियो । उहाँले दक्षिण एसियामा भारतको वरव्यवहार राष्ट्र संघको वडापत्र बमोजिम सन्तोषजनक नभएको बताउनुभयो ।
सन् १९५०को विभेदकारी सन्धि संशोधन, सीमा समस्या समाधान, कालापानी क्षेत्रका लिम्पियाधुरा, लिपुलेकको भूभाग समेटेर नक्शा प्रकाशन, द्विपक्षीय व्यापार लगायत राष्ट्रिय हितका विषयमा एमालेले मात्र कुरा उठाउने, अडान राख्ने गरेको र नेपालमा राष्ट्रियताको पहरेदार पार्टी एमालेमात्र रहेको डा. भट्टराईले बताउनुभयो ।
त्यस्तै, केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइरालाले स्कुल सहजीकरण गर्नुका साथै प्रस्तुति, सीप र कला विषयमा र प्रा.डा. तत्व तिम्सिनाले सूचना प्रविधिः ज्ञान र उपयोगका विषयमा प्रशिक्षण दिनुभएको थियो ।