detail-img

कार्यकारी शक्तिको अभ्यासमात्र नगरी राजनीतिक दलहरू राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नगरी राष्ट्र निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 
अध्यक्ष ओलीले काठमाडौँको गोकर्ण रिसोर्टमा आजदेखि सुरु भएको एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को ४०औँ स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ बार्षिक बैठकको उद्घाटनसत्रमा सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो । 
अध्यक्ष ओलीले जनता र देशको निम्ति काम गर्न दलहरू निर्माण हुनेगरेको भन्नुहुँदै राजनीतिक दलका लागि सरकारभन्दा जनता महत्वपूर्ण हुनुपर्ने बताउनुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवर्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुन्छ ।
उहाँले जलवायु सङ्कट, स्वास्थ्य, विपद् र द्वन्द्व समकालीन विश्वका लागि सबैभन्दा ठुलो चुनौती रहेको चर्चा गर्नुहुँदै त्यसको समाधान गर्ने जिम्मेवारी पनि राजनीतिक दलहरूको भएको बताउनुभयो । 
अध्यक्ष ओलीले एसियामा बहुपक्षीय सहयोग प्रवद्र्धन गर्न एसियाली राजनीतिक दलहरू भरोसायोग्य संस्था बन्न सक्छन् र सक्नुपर्दछ भन्नुभयो । 
उद्घाटन सत्रमा आइक्याप स्थायी समितिका अध्यक्ष तथा दक्षिण कोरियाका पूर्व विदेशमन्त्री चुङ युआई योङ, स्थायी समिति सदस्य तथा नेकपा (एमाले) परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई र पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो । 
बैठकमा दिगो पर्यटन प्रवर्द्धन र महामारीपछिको आर्थिक स्थायित्वको सुरक्षापक्ष विषयमा छलफल हुने छ ।


अध्यक्ष ओलीले गर्नुभएको सम्बोधनको पूर्णपाठः

सम्मेलनको स्थायी समितिका सम्मानित अध्यक्ष, 
समितिका आदरणीय सह अध्यक्ष तथा सदस्यहरू, 
प्रतिनिधिमण्डलका आदरणीय सदस्य एवं उपस्थित महानुभावहरू, 
मित्रहरू, 
एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)ले आफ्नो स्थायी समितिको चौधौं बैठक र एसिया–युरोप राजनीतिक मञ्चको पाँचौं बैठक यस सुन्दर सहर काठमाडौंमा आयोजना गरेकोमा मलाई अन्तर हृदयदेखि नै प्रसन्नताको अनुभूति भएको छ । 
यस ऐतिहासिक क्षणको विशिष्ट महत्व छ, किनभने हाम्रा राजनीतिक आदर्श, राजनीतिक दल र राज्यको अपरिहार्यताप्रति हाम्रो सिद्धान्तनिष्ठ सामूहिक प्रतिबद्धता हामी सबैको हृदयमा आज फेरि सशक्त रूपले प्रतिध्वनित भैरहेको छ । 
दुबै कार्यक्रममा सहभागिता जनाउन विभिन्न मुलुकबाट पाल्नुभएका मित्रहरूलाई म हाम्रो सुन्दर देश नेपालमा हार्दिक स्वागत गर्दछु । 
आइक्यापको आयोजनामा हुन गइरहेका यस्ता महत्वपूर्ण बैठकको आयोजनास्थलका रूपमा काठमाडौंलाई छनोट गर्नुभएकोमा आयोजक मित्रहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
१.     राजनीति, हाम्रो समाजलाई स्थायित्वको आधार प्रदान गर्ने  आधुनिक मानव सभ्यताको महानतम उपलब्धि हो ।  हाम्रा सामूहिक प्रयासलाई एकताबद्ध गर्न राजनीतिक दलहरू असाधारण माध्यम हुन्, जसले हाम्रा विचार र सोचाईमा विद्यमान भिन्नताबीच सामन्जस्य स्थापित गर्न, सबैलाई स्वीकार्य हुने साझापनको आधार खोज्न तथा मानवीय प्रयत्नको सार्थक अभ्यास गर्न सशक्त मञ्च उपलब्ध गराउँछन् । राजनीति र राजनीतिक दलको निरन्तर प्रयत्नबाटै हाम्रा मुलुकहरू आत्मनिर्णयको अभ्यास गर्न सक्षम भएका छन् । मानव अधिकार र मौलिक स्वतन्त्रताको प्राप्ति सम्भव भएको छ । हाम्रा राष्ट्रहरूको सार्वभौमसत्ता एवं स्वाधीनताको सुरक्षाका साथै मानवीय प्रगति र मानव जीवनको गुणस्तर अभिवृद्धि गर्ने मुख्य साधनका रूपमा राजनीति र राजनीतिक दलहरू नै रहेका छन् । हरेक नागरिकका लागि समान अवसर, न्याय र निष्पक्षता सम्भव बनाउने हाम्रा सपनालाई कार्यरूप प्रदान गर्न समेत राजनीति र राजनीतिक दलहरू नै मुख्य साधन हुन् ।
२.     सम्पूर्ण मानव समाजलाई प्रगतिको समवेत आकांक्षाले एकताबद्ध राख्दछ । मानव इतिहासको महान यात्रामा सम्पन्नता हासिल गरेका राष्ट्रहरूले त्यसको श्रेय दूरदृष्टियुक्त राजनीति, साहसी राजनेताहरू र जनताको अपराजेय शक्तिलाई दिने गर्दछन् । त्यसै हुनाले हाम्रा समाज र राष्ट्रहरूमा यस्ता अनेकौं नेतृत्वदायी राजनीतिक पार्टी र राजनेताका उदाहरण छन्, जसले आफ्ना नागरिकको प्रगति एवं समृद्धिका लागि महानतम बलिदानको प्रेरणा दिन तथा असाधारण खतराका बीचबाट समेत चुनौतीहरूको सामनाका लागि तयार रहन सफल उदाहरण प्रस्तुत गरेका छन् । विश्वका राजनीतिक दलरूले यी उपलब्धिमा गर्व गर्न सक्नुपर्दछ ।  
३.     हाम्रा समाजहरू निरन्तर परिवर्तित, अनुकूलित र विकसित भैरहेका छन् । आजको विश्वमा छरिएको करिब आठ अर्ब जनसङ्ख्या सात वटा महादेश र दुई सय भन्दा बढी देशहरूमा मानव सभ्यताको उच्चतम लक्ष्य हासिल गर्न प्रयत्नशील छ । सबैका लागि स्वाधीनता, स्वतन्त्रता र समानता समाजको स्थापना गर्न हामीले गरेका सङ्घर्षहरू सबै मुलुकमा मौलिक एवं विशिष्ट प्रकृतिका छन् । एसिया प्रशान्त क्षेत्र, युरोप, अमेरिकी महाद्वीपहरू र अफ्रिकाका मुलुकमा हाम्रा सङ्घर्षको प्रतिफलस्वरूप विकसित लोकतन्त्र, सुशासन र सार्वजनिक सेवा प्रवाहका विशिष्ट अभ्यास छन्, जुन आपसमा भिन्न भए तापनि आफ्ना जनताको सेवा र समृद्धिको गन्तव्यमा समान छन् । विश्वको जुनसुकै भूगोलमा उद्वोधित भए पनि विज्ञान र प्रविधिको क्षेत्रमा भएका विकासले हाम्रो समग्र आर्थिक वृद्धिलाई सहयोग गर्छ । कृषि उत्पादकत्वमा भएको प्रगति, खाद्य सुरक्षा, स्वास्थ्यमा सरल पहुँच र शिक्षाले हाम्रा नागरिकलाई आफ्नो उच्चतम सम्भावानको खोजी गर्ने अवसर प्रदान गर्न सक्दछ । आधुनिक जीवन पद्धतिलाई भौतिक पूर्वाधार र सञ्चार प्रविधिले थप आरामदायी र स्वाभाविक बनाउँछ । साहित्य, कला, सङ्गीत, सँस्कृति, खेलकूद तथा असल मूल्य परम्पराको प्रवद्र्धनमा यसैबाट निरन्तर प्रगति सम्भव भएको छ । हाम्रा समकालीन राजनीतिका सहिष्णु सिद्धान्तको अभ्यासले धर्म, सँस्कृति, परम्परा र सामाजिक मूल्यसहितको मानव जीवनलाई सहअस्तित्वको आधार प्रदान गरिरहेको छ । 
४.     सदैव परिवर्तनशील विश्वमा हामीलाई “प्रवर्तनशील” (इनोभेटिङ) र “संरक्षणशील” (प्रिजर्भिङ) शक्ति  बीचको प्रतिस्पर्धी दर्शनले गतिवान् तुल्याएको छ । प्रवर्तनशीलहरू सुन्दर भविष्यका लागि आज आमूल परिवर्तन चाहन्छन् । त्यसका लागि निरन्तर प्रयास गर्छन् ।अर्कोतिर संरक्षणशील शक्तिहरू यथास्थितिको बाटोबाट क्रमिक सुधार खोज्दछन् । परिवर्तन आवश्यक भए पनि त्यसबाट समाजमा उत्पन्न हुने अनिश्चयले अझ ठुलो चुनौती सिर्जना गर्न सक्छ भन्ने उनीहरूको दृष्टिकोण रहन्छ, जसले परिवर्तनको तुलनामा सामाजिक व्यवस्थाको निरन्तरतालाई बढी महत्व दिने गरेको छ । यी दुई विचारहरू आपसमा टकराउँदा मानव समाजले झन् ठुलो विभाजन र विनाश भोग्नुपर्ने हुन्छ, मानव प्रगति अवरुद्ध हुन जान्छ  । त्यसकारण, इतिहासले हामीलाई शिक्षा दिएको छ– मानव जातिको अधिकतम हितका लागि प्रवर्तनकारी शक्ति र संरक्षणकारीशक्तिका बीचमा विवेकपूर्ण सन्तुलन कायम रहनुपर्दछ । राजनीतिक दल र राजनेताहरूले इतिहासको यस महान शिक्षालाई सदैव आत्मसात् गर्न सक्नुपरेको छ । 
५.     जब राजनीतिको आदर्श र राजनीतिक दलहरू साँघुरो समूह–सोचबाट निर्देशित हुन्छन्, तब मानवता प्रताडित हुन्छ । हामीलाई हाम्रा उपलब्धि, विचार र विश्वासले अरूका सम्वेदनशीलता प्रति उदासीन बनाउनु हुँदैन । असहिष्णुताले अन्याय जन्माउँछ, सम्पूर्ण मानवतालाई नै अन्याय, द्वन्द्व र कठोरतातर्फ उद्वेलित गराउँछ । तसर्थ, हाम्रो यात्रामा आउने यी खाडलबाट जोगिन राजनीति र राजनीतिक दलहरू सदैव सतर्क रहँदै मानव जातिका निम्ति महानतम साझा लक्ष्य हासिल गर्न सम्भव हुने विश्व व्यवस्थाको निर्माणमा केन्द्रित हुनु पर्दछ । यसै कारण हामीले भन्दै आएका छौं– आजको विश्वव्यवस्था नियम भन्दा बढी न्यायमा आधारित हुनुपर्दछ किनभने नियमको अन्तिम लक्ष्य न्यायको स्थापना हो ।   
६.     कुनै पनि राज्यलाई सुल्झिएको राजनीति, त्यस्तै राजनीतिक दल र राज्यव्यवस्थाको योगले मात्र सक्षम बनाउँछ । यस योगबाट प्रभावकारी संवैधानिक तथा कानुनी प्रवन्धको निर्माण हुन्छ । बलिया सार्वजनिक संस्था बन्न सक्दछन् । कानुनको शासन लागू हुन्छ । सेवा प्रवाह गर्ने राज्यको क्षमता बढोत्तरी हुन्छ । आधारभूत मानव अधिकार, नागरिक स्वतन्त्रता, न्याय, समानता र समान संरक्षणको प्रत्याभूति गर्न सक्ने राज्यले नागरिकको विश्वास आर्जन गर्दछ । यसैका आधारमा राजनीतिक स्थायित्व हासिल गर्दै आर्थिक विकासको बाटो पहिल्याउने तथा आन्तरिक स्थिरता र बाह्य सुरक्षा कायम राख्न सक्ने मुलुक नै समृद्धशाली राज्य हो ।
७.    राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था हुन् । त्यसकारण राजनीतिक दलका निम्ति सरकार भन्दा जनता ज्यादा महत्वपूर्ण हुनुपर्दछ । हामीले आज विशेष जोड दिनुपरेको छ– राजनीतिक दलहरूले केवल कार्यकारी शक्तिको अभ्यास गर्न होइन, दीर्घकालिक राष्ट्रिय हितको रक्षा गर्न सक्षम, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई सम्पूर्ण रूपले केन्द्रित गर्नुपर्दछ । 
८.    यस सन्दर्भमा राजनीतिक दललाई आफैंलाई निरन्तर केही गम्भीर प्रश्नहरू सोधिरहनु पर्दछ– के राज्यले निर्धारित गरेका अवसर, अधिकार र स्रोतमा सबैको समान पहुँच स्थापित छ ? मानव प्रगतिका प्रतिफलहरू समतापूर्वक वितरित छन् ? राजनीतिक प्रक्रियामा सबै नागरिकको सहभागिता सुनिश्चित छ ? के कोही बन्चितीकरण, विभेद, असमानता र अन्यायको शिकार भइरहेका छन् ? जीवन यापन गर्ने स्वतन्त्रता र उद्यमको वातावरण निष्पक्ष, पारदर्शी र नियममा आधारित छ कि छैन ? कुनै पनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र खुम्च्याउँदैन, आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत त्यसले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउँछ । 
९.     सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवद्र्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुन्छ । धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्यहरू हामी सबैका लागि उत्तिकै प्रिय छन्, जसले मानवतालाई एकताको सूत्रमा बाँध्न सक्दछ । सक्षम शासनको आधार तयार गर्न राजनीतिक दलहरूले नागरिकका यस्ता आकाङ्क्षालाई आफ्नो विचारको काल्पनिकीमा जोड्नुपर्दछ ।
१०.    विज्ञान र प्रविधिको क्षेत्रमा भएको द्रूत विकासले आर्थिक उन्नतिसँगै बढेको हाम्रो विश्वव्यापी अन्तरनिर्भरताले अवसर मात्र ल्याएको छैन, उत्तिकै सशक्त चुनौतीहरू पनि खडा गरेको छ । जलवायु सङ्कट, स्वास्थ्य विपद, र द्वन्द्व समकालीन विश्वका सबैभन्दा ठूला चुनौती हुन् । यी चुनौतीको पहिचान गर्ने, सामना गर्ने र समुन्नत मानव भविष्य निर्माण गर्ने जिम्मेवारी राजनीतिक दलहरूकै हो, जसका लागि उनीहरूले आफ्नो दक्षता बढाउन तथा व्यावसायिक क्षमताको विकास गर्न उत्तिकै जरूरी छ । 
११.    यस परिप्रेक्ष्यमा एसियाली राजनीतिक दलहरूले गर्न सक्ने योगदान विशिष्ट हुनेछ भन्ने मेरो विश्वास छ । एसिया विश्वको सबैभन्दा ठूलो महादेश त हुँदै हो, सबैभन्दा ठूलो जनसङ्ख्या बसोवास गर्ने भूगोल समेत हो । एसिया र युरोपका सभ्यताको इतिहास हज्जारौं वर्ष पुरानो छ । विश्वलाई शिक्षित गर्ने अत्यन्त गहन विचार र ज्ञान यिनै भूगोलबाट विस्तारित भएका छन् । शताव्दीयौंदेखि एसिया शिक्षा, ज्ञान निर्माण र विकासको केन्द्र रही आएको छ । सन् १ देखि १८२० सम्म भारत र चीनले विश्वको करिब ५० प्रतिशत बराबर आर्थिक उत्पादन गर्थे । आज सन् २०२३ मा आइपुग्दा विश्व आर्थिक गतिविधिको केन्द्र फेरि एसियातर्फ सरिरहेको छ भन्न सङ्कोच मान्नु पर्दैन, किनभने वर्तमान विश्वका ठूला पाँचमध्ये तीनवटा अर्थतन्त्रहरू एसियामा नै छन् (चीन, जापान, भारत) । समृद्ध जैविक विविधता रहेको संसारको सबैभन्दा ठूलो स्वच्छ पानीको सङ्ग्रह तेस्रो ध्रूब समेत भनिने हिमालय पर्वत शृङ्खलामा छ, जसको अधिकांश हिस्सा नेपाली हिमालयमा पर्दछ । हाम्रो पृथ्वीको समग्र स्वास्थ्यमा यस क्षेत्रको भूमिका अद्वितीय रहेको छ ।
१२.    एसियाली राजनीतिक दलका हैसियतले विश्व आर्थिक मामिलामा एसियाको प्रभावकारी भूमिका बढाउन प्रयत्नशील रहँदा, आउनुहोस् मित्रहरू हामी विश्वका गम्भीर समस्या समाधान गर्न समेत नेतृत्वदायी भूमिका खेल्ने सङ्कल्प गरौँ । विश्वको बहुसङ्ख्यक ज्ञान र कला एसियामा उत्पादन गर्ने सङ्कल्प गरौँ । विश्वको संस्कृति र विमर्शलाई दिशानिर्देश गर्ने सङ्कल्प गरौँ । हाम्रो प्रकृतिको रक्षा गर्दै मानवीय सम्भावनाको अधिकतम उपयोग गर्ने, साझा समृद्धि र दिगो उन्नति हासिल गर्न नेतृत्व लिने सङ्कल्प गरौँ । एउटा यस्तो विश्व निर्माण गर्ने सङ्कल्प गरौँ, जहाँ हाम्रा बालबालिकाहरू एकैसाथ महान लक्ष्य प्राप्तिको बाटोमा समान रूपले अग्रसर हुन सकून् । एसियाले मानव प्रगति र उत्कृष्टताको नेतृत्व लिन लागेको यस समयमा हामी हाम्रो समाजका साथै सम्पूर्ण विश्व समुदायलाई हाम्रो नेतृत्वबाट अभिप्रेरित गर्ने सङ्कल्प गरौँ । हामी एकैसाथ रहेको खण्डमा सबैका लागि अझ उज्यालो र सौहार्र्द भविष्यको सुन्दर तस्वीर कोर्न सक्नेछौँ । 
१३.    नेपालमा हाम्रो पार्टी नेकपा (एमाले)ले परिपूर्ण लोकतन्त्रको अवधारणा अवलम्बन गर्दै नेपाली जनताको सुख र समृद्धिको आकाङ्क्षा पूरा गर्नुलाई आफ्नो सबैभन्दा ठूलो कार्यभार मानेको छ । हामी नेपालमा तीब्र आर्थिक वृद्धिदर कायम भएको गतिशील अर्थप्रणाली निर्माण गर्न चाहन्छौँ, उद्यमशीलता प्रवद्र्धन गरी रोजगारी सिर्जना गर्न, सामाजिक सुरक्षा कायम गर्न, कनेक्टिभिटी र भौतिक पूर्वाधार निर्माण गर्न तथा वातावारण संरक्षण गर्दै राष्ट्रिय विकासको नेतृत्व गर्न चाहन्छौं । विदेश मामिलामा सार्वभौम समानता, पारस्परिक लाभ, न्याय र निष्पक्षताले हामीलाई निर्देशित गर्दछन् । “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता” भन्ने सिद्धान्तमा हाम्रो अटल विश्वास छ । हामी सबै द्विपक्षीय, क्षेत्रीय, तथा बहुपक्षीय अन्तर्राष्ट्रिय मन्चका सरोकारवालाहरूसँग साझा चासो र पारस्परिक लाभका विषयमा सहकार्य गर्न चाहन्छौँ ।
१४.    आइक्यापको यो महत्वपूर्ण सम्मेलन चलिरहँदा, सम्मेलनका दुई अत्यन्तै सामयिक विषयगत क्षेत्रहरू ( दिगो पर्यटन प्रवद्र्धन, र महामारीपछि आर्थिक स्थायित्वको सुरक्षा) माथि गहन छलफल हुने विश्वास व्यक्त गर्दछु । छलफलमा भ्याएसम्म सहभागिता जनाउन उत्सुक छु । एसियामा बहुपक्षीय सहयोग प्रवद्र्धन गर्न एसियाली राजनीतिक दलहरू भरोसायोग्य संस्था बन्न सक्छन् र सक्नुपर्दछ । आइक्यापको यस सम्मेलन जस्ता मञ्चले त्यस्तो अवसर निर्माण गर्न असाधारण भूमिका खेल्न सक्ने मेरो सुदृढ विश्वास छ ।  
सुरु हुनै लागेको यस सम्मेलनमा सक्रिय सहभागिता जनाउने पुनः प्रण गर्दै आयोजक मित्रहरूमा सफलताको शुभकामना व्यक्त गर्दछु । सम्मेलनमा सहभागी हुन पाल्नुभएका प्रतिनिधि र अन्य अतिथिहरूलाई सुखद नेपाल बसाईको कामना गर्दछु । 
धन्यवाद !