detail-img

किसानका समस्या समाधानका लागि  सरकारले सुन्ने भाषामा आवाज उठाउन निर्देशन 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले खेतीपातीको समयमा मल, बीउ विजन सहज उपलब्धताका लागि सरकारले सुन्ने र बुझ्ने भाषामा  किसानका संगठनहरूले आवाज उठाउनुपर्ने वताउनुभएको छ । 
पार्टीको जनसंगठन अखिल नेपाल किसान महासंघको दुई दिने तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मागपत्र बुझाउँदा किसानका समस्या नसुन्ने सरकारलाई बुझ्ने भाषामा सुनाउन निर्देशन गर्नुभयो । 
महासंघमा आवद्ध सबै घटक संघसंस्थाहरू मिलेर सरकारलाई किसानका समस्या सुन्न बाध्य पार्ने कदम चाल्न निर्देशन दिँदै अध्यक्ष ओलीले अन्नपानी सबैलाई आवश्यक हुने हुँदा किसानले चाल्ने कदममा सबै पेशा व्यवसायका मानिसको ऐक्यबद्धता रहने विश्वास व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो–सरकारले किसानका समस्या सुन्नुपर्छ । कृषि प्रधान देशमा कृषिमन्त्रीको मुख्य काम किसानका समस्या समाधान गर्ने हो । पिर्के सलामी खाने होइन । 
उहाँले नेपालमा सरकारले किसानलाई कहिल्यै पर्याप्त मल उपलब्ध गराउन नसकेको वताउनुभयो । 
अध्यक्ष ओलीले किसानका नेताहरूलाई कृषिमा उदाहरणीय, अनुशरणीय काम गरेर  परिचय बनाउन सुझाव पनि दिनुभयो । 
उहाँले भन्नुभयो– किसान नेताले संघ ÷ संस्थाको कार्ड देखाएर परिचय दिने होइन, आफ्नो खेतवारीमा अनुशरणीय खेती गरेर परिचय दिनुस् । कृषि क्षेत्रमा विधागत रूपमै विशेष परिचय बनाउनुस् ।
अध्यक्ष ओलीले कृषि–वनमा ध्यान जानुपर्ने वताउँदै खाली जग्गा, बगर, खोला÷नदी किनार जस्ता ठाउँहरूमा फूल, फलफूल खेती गर्नुपर्ने वताउनुभयो । 
उहाँले यस्ता बैठकमा किसानका समस्याका बारेमा छलफल गरी समाधानका उपाय निकाल्नुपर्ने तथा किसानको जीवनमा के परिवर्तन ल्याउन सकियो जस्ता विषयमा पनि छलफल हुनुपर्ने वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– बैठकदेखि बैठकसम्म र भाषण सुन्ने अवस्थाबाट माथि उठ्नुपर्छ । उहाँले किसानलाई व्यावसायिक बनाउन र उनीहरूमा राजनीतिक जागरण ल्याई संगठित गर्न महासंघलाई सुझाउनुभयो । 
अध्यक्ष ओलीले बेरोजगारी समस्या समाधानका लागि रोजगारीको अवसर सिर्जना गरेर मात्र पुग्दैन, उद्यमशीलता विकास गर्नुपर्छ भन्नुभयो । युवालाई व्यवसायी बनाउन मद्दत गर्नुपर्ने, उनीहरूमा उद्यमी बन्ने आँट र आत्मविश्वास जगाउनुपर्ने उहाँको भनाइ थियो । 
अध्यक्ष ओलीले कुनै पनि देशले धनी भएर विकास गरेका होइनन्, विकास गरेर धनी भएका हुन् भन्दै हामीले पनि धनी हुने बाटो विकास हो भन्नुभयो । 
कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा विभिन्न पालिकाका विभिन्न पदमा विजयी हुनुभएका किसान महासंघ राष्ट्रिय समितिका सदस्यहरूलाई सम्मान गर्नुभएको थियो । साथै, महासंघको मुखपत्र ‘किसान जागरण’ विमोचन पनि गर्नुभएको थियो । 
महासंघका अध्यक्ष प्रेम दंगालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले पनि मन्तव्य राख्नुभएको थियो । 
बैठकले कार्ययोजना पारित गर्नुका साथै उपत्यका कमिटीलाई बाग्मती प्रदेश कमिटीमा गाभ्ने निर्णय गरेको छ ।