काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको उच्च शिक्षाकालाई सुधार गर्न नवीन दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय समितिले शनिवार आयोजना गरेको ‘ शिक्षा ऐन र उच्च शिक्षा नीतिः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले उक्त धारणा राख्नुभएको हो ।
त्यस अवसरमा महासचिव पोखरेलले अन्तर्राष्ट्रिय तुलनामा विश्लेषण गर्दा नेपालको उच्च शिक्षाको वर्तमान, अवस्था सन्तोषजनकस्तरमा पुगिनसकेको उल्लेख गर्दै प्राध्यापकहरूले गहन चिन्तनका साथ नवीन दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्छ भन्नुभयो ।
उहाँले ज्ञानको सिर्जना, सीपको विकास, विश्वविद्यालयहरूको पूर्वाधार, अनुसन्धान, प्रविधिको प्रयोग, पठनपाठन, परीक्षा, शिक्षण विधि, प्रकाशनहरूको अन्तर्राष्ट्रियकरण लगायतका अवयबहरूमा सुधार गरी विश्वविद्यालयलाई विश्व श्रेणीमा माथि लैजानुपर्ने बताउनुभयो ।
प्राध्यापकहरूले परिस्थितिलाई सामान्यकृत गरेर विचार राख्नुभन्दा तथ्य, सन्दर्भ र तर्कको आधारमा निष्कर्षमा पुग्नुपर्छ भन्दै महासचिव पोखरेलले अनुसन्धानलाई जीवन पद्धतिकै रूपमा अभ्यासमा ल्याउन जोड दिनुभयो ।
उहाँले विश्वविद्यालयहरूले देशको आवश्यकता अनुसारका शैक्षिक कार्यक्रमहरूको विकास गरी तदनुरुपको पाठ्यक्रम तयार पार्न आवश्यक भैसकेको बताउनुभयो ।
प्रादेशिक विश्वविद्यालयहरूको प्रसंगमा धारणा राख्दै महासचिव पोखरेलले सम्बन्धित प्रदेशको साधन स्रोत, जनशक्तिको अवस्था, समस्या र आवश्यकतालाई सम्वोधन गर्ने गरी प्रादेशिक विश्वविद्यालयहरूलाई विकास गर्नुपर्दछ भन्नुभयो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. बेदराज केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रा.डा. रमेश भट्टराई र प्रा.डा. विनिल अर्यालले उच्च शिक्षा नीति र वर्तमान सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य गुरू बरालको पनि उपस्थिति थियो ।