detail-img

सदस्यता नवीकरणको समयावधि एकमहिना थप 


काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको सातौं बैठक २०७९ असार २० गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्यो । 
बैठकमा पार्टी सदस्यता नवीकरण, संगठनसम्बन्धी कार्यशाला, अनुगमन र मूल्याङ्कन तथा   बार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल भयो ।   
महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्य र संगठन विभाग प्रमुख खगराज अधिकारीको अध्यक्षतामा भएको बैठकमा विभाग सदस्यहरुले छैटौं बैठक यताका कामको संक्षिप्त रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।
बैठकले पार्टी सदस्यता नवीकरणको समयावधि असार मसान्तमा सकिने भएकाले साउन मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।
संगठनसम्बन्धी कार्यशालाका सम्बन्धमा बाग्मती प्रदेशमा सम्पन्न भइसकेको र अन्य प्रदेशको हकमा असार, साउन र भदौ महिनामा सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ । 
जस अनुसार,  प्रदेश १ मा यसै असार महिनाको २९ र ३० गते, गण्डकी प्रदेशमा साउन १ र २ गते, लुम्बिनी प्रदेशमा साउन १३ र १४ गते, सुदूरपश्चिममा साउन ३ र ४ गते र कर्णाली प्रदेशमा भदौ पहिलो साता सम्पन्न गर्ने निर्णय गरेको छ । मधेश प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीको समयतालिका पनि छिटै तय हुने छ ।  
बैठकमा महासचिव पोखरेलले सांगठनिक काम व्यवस्थित गर्ने, जनताका सरोकारका विषय र सामाजिक मुद्दाहरूमा पार्टी कमिटीबाटै आवाज उठाउनुपर्ने, जनसंगठनहरूको अधिवेशन निश्चित समयभित्र सम्पन्न गर्ने, सबै तहका कमिटीहरूमा सचिवालय गठन गर्ने लगायत विषयमा निर्देशनात्मक मन्तव्य राख्नु भएको थियो । 
बैठकमा संगठन विभाग सचिवमा मनोनयन हुनुभएका सम्झना देवकोटालाई हार्दिक बधाई ज्ञापन गर्दै स्वागत गरियो ।