detail-img

‘गठबन्धन सरकार पूर्णतया असफल’

  
धनगढी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको वर्तमान सरकार पूर्णतया असफल भएको बताउनु भएको छ । 
प्रेस चौतारी नेपाल कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारले बजेट निर्माणमा अनैतिक काम गरेकाले पनि सरकारप्रति जनताको वितृष्णा फैलिएको बताउनु भयो ।
बजेट निर्माणमा भएको अनैतिक कार्यबारे प्रधानमन्त्री चुप लाग्नु भनेको गम्भीर विषय भएको बताउँदै उहाँले बजेट बनाउनमा अनैतिकरूपमा लागेकाहरू काँग्रेस निकटका व्यापारिक घरानाका भएकाले पनि प्रधानमन्त्रीको संलग्नता देखिन्छ भन्नुभयो । 
राष्ट्र बैंकले आठ खर्ब भन्दा बढी रकम निष्कासन गरेको भए पनि बजार र बैंक दुवैतिर पैसा नभेटिनु सरकारप्रतिको अविश्वास रहेको पनि महासचिवको भनाई थियो । 
सरकारको नीतिले पैसा हराएकाले नयाँ व्यवसाय गर्नका लागि ऋण खोज्नेले ऋण पनि पाएनन् भन्दै महासचिव पोखरेलले आर्थिक सङ्कट सरकारद्धारा सिर्जना गरिएको हो, सरकारको नीति ठीक हुने वित्तिकै यो सङ्कट टर्छ । 
महासचिव पोख्रेलले स्थानीय तहको गठबन्धनबाट काँग्रेसले मात्रै लाभ लिएको बताउँदै माओवादी विगतको १७ बाट १३ प्रतिशतमा झरेको बताउनुभयो । 
उहाँले मतका आधारमा एमालेले ३४ प्रतिशत मत ल्याएर ठूलो पार्टी बनेको बताउँदै माधव र झलनाथका कारण एमाले कमजोर हुन्छ भन्ने मनोविज्ञानको स्थानीय चुनावबाट अन्त्य भएको विश्लेषण सुनाउनु भयो ।
आगामी निर्वाचनमा  बाम एकताको सम्भावनाबारेको जिज्ञाशामा महासचिव पोखरेलले भन्नुभयो–  स्थानीय आवश्यकताका आधारमा कतै तालमेल हुनसक्छ तर राष्ट्रिय तहमा चुनावी गठबन्धन कसैसित हुँदैन । 
नेकपा टुक्रनुमा एमाले र अध्यक्ष ओली होइन, माधव र प्रचण्ड जिम्मेवार रहेको चर्चा गर्दै महासचिव पोखरेलले एमालेसँग चुनावी तालमेल गर्न बुर्जुवा पार्टी काँग्रेससँगको सम्वन्ध विच्छेद गर्नुपर्ने वताउनुभयो ।