detail-img

‘काँग्रेसको सरकार छोडेर आए चुनावी एकता हुनसक्छ’


धनगढी । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई कसैले कमजोर बनाउन सोचेको भए त्यो सम्भव नभएको बताउनुभएको छ । 
नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै महासचिव पोखरेलले स्थानीय तहको चुनावबाटै एमालेलाई कसैले हराउन नसक्ने प्रमाणित भइसकेको बताउनुभयो । 
उहाँले भन्नुभयो– सत्तारुढ पाँच दलीय गठबन्धनले घेराबन्दी गरेर हराउन खोज्दा पनि एमालेले सबैभन्दा बढी ३४ प्रतिशत मत ल्यायो ।
महासचिव पोखरेलले माधव, झलनाथ र वामदेव नुहँदा पनि एमालेको जीतमा फरक नपरेको चर्चा गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका रूपमा चल्न नसक्ने वताउनुभयो ।
आफ्नो पार्टी र अध्यक्ष केपी शर्मा ओलीले जातीय राज्य जस्ता  अतिवाद रोकेर माओवादीलाई ठीक ठाउँमा ल्याएको चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो– एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्यले २०७४ सालमा चुनावी गठबन्धन र पछि पार्टी एकता पनि गरियो तर प्रचण्डहरू पार्टीलाई मोर्चा जस्तो बनाउन खोजे र पार्टी विभाजन भयो । 
अहिले पनि कम्युनिष्ट एकताको अनुहार एमालेभित्र रहेको र  त्यस्तो अवस्था माओवादी र एकीकृत समाजवादीमा  नरहेको चर्चा गर्दै पोखरेलले भन्नुभयो– काँग्रेसको सरकार छोडेर आए र विगतका कमजोरीमा गल्ती भएको महसुस गरे मात्र माओवादी र समाजवादीसित चुनावी एकता हुनसक्छ ।
एमाले कार्यकर्तालाई निर्देशन दिंदै महासचिव पोखरेलले  पदका लागि भन्दा पार्टीलाई जिताउन लाग्नुपर्छ भन्नुभयो । 
‘सरकारका गलत कामको भण्डाफोर गर्दा एमाले जित्छ, जनता एमालेसँग रिसाएका छैनन्, जनतालाई गठबन्धन सरकार र ती पार्टीहरुकाबारे बुझाउन जरूरी छ ।’ 
‘एमालेको नेतृत्वमा सरकार हुँदा प्रचण्ड, माधवले एक व्यक्ति एक पद भने, पार्टी विभाजनको अध्यादेशको विरोध गरे, एमसिसीबारे सुन्नै चाहेनन् तर आज ती विषय कहाँ छन् कसरी आफूले उठाएको मान्यता पालना गरेका छन्’ उहाँले भन्नुभयो– यी कुरा जनता, माओवादी र समाजवादीमा रहेकालाई बुझाउन जरूरी छ ।
‘काँग्रेससित नीति, योजना, कार्यक्रम केही छैन, पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको जिल्लाको अवस्था के छ, जिल्ला बनाउन नसक्ने देउवाले देश बनाउन सक्छन् यी कुरा लिएर जनताका बीचमा जानुपर्छ ।’ 
‘एमाले जहिले सरकारमा गयो केही न केही गरेर देखाएको छ । तर अहिलेको सरकार जति दिन रहन्छ त्यति नै देश आर्थिक सङ्कटमा पर्छ ती कुरा पनि जनतालाई बुझाउन आवश्यक छ ।’ महासचिव पोखरेलको भन्नुभयो ।  
 उहाँले चुनाव जिते मात्र समाज परिवर्तन गर्न सकिने बताउँदै एमालेले नजिते समाज अझै पछाडि पर्ने भएकाले एमाले जिताउनका लागि लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।  

महासचिव पोखरेलले मंगलबार जिल्ला कमिटी कञ्चनपुरद्वारा महेन्द्रनगरमा आयोजित प्रशिक्षण कार्यक्रममा पनि सम्वोधन गर्नुभएको थियो ।