detail-img

‘पाँचहजार दिने पाँचहजार सदस्य’ आत्मनिर्भरता अभियान शुरू



काठमाडौं । नेकपा (एमाले) ले  पार्टीमाथि सदस्यहरूको स्वामित्व अझ बलियो बनाउन र स्रोत सङ्कलनलाई निरन्तरता दिन राष्ट्रिय अभियान शुरू गरेको छ । 
केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभागले पार्टीको आत्मनिर्भरताका लागि शुरू गरेको यो अभियानको नाम ‘पाँच हजार दिने पाँच हजार सदस्य’ राखिएको छ । 
यो अभियानमा सहभागी हुन चाहनेहरूले मोवाइल बैंकिङ तथा इ–सेवाबाट क्यूआर स्क्यान गरी रकम भुक्तानी गर्न सक्नुहुनेछ । 
एन्ड्रोइड मोवाइल फोन प्रयोगकर्ताहरूले तत्कालै सहभागिता जनाउनसक्ने र आईफोन प्रयोगकर्ताले यो अभियानमा सहभागी हुन एकसाता पर्खनुपर्ने विभागले जनाएको छ । 
यस अभियानमा संलग्न हुन चाहनेहरूको पार्टीमा प्रत्येक महिना पाँचहजार रुपियाँ योगदान रहनेछ । यो यस केन्द्रीय कमिटीको सिङ्गो अवधि (करिब पाँचबर्ष) सम्म रहने छ । 
यो अभियान रकम सङ्कलन मात्र नभई पार्टीलाई सदस्य–आधारित बनाउन योगदान गर्ने सदस्य तथा शुभेच्छुकको समर्पणको पनि योगदान भएकाले ‘हरेक महिना पाँच हजार– पाँच बर्षसम्म’को नीति लिइएको हो ।
नेकपा (एमाले) ले स्रोत सङ्कलनलाई बाध्यकारी वा जबरजस्ती दुबै गरेन र गर्दैन । पार्टीको विधानले तोकेको सदस्यता शुल्क, पार्टी सदस्यको तोकिएको लेवीका अतिरिक्त अहिलेसम्म लाभको पदमा नियुक्ति हुँदाको समयको दायित्वको हिसाबले तोकिएको लेवी र सांसदहरूको लेवी बाहेक सबै आर्थिक सहयोग शुभेच्छुकहरूको स्वेच्छामा निर्भर छ ।
राज्य सञ्चालनमा पार्टीको भूमिका बढेसंगै एकातिर कामको दायरा बढेको छ भने अर्कातिर नेता, कार्यकर्ता र मतदाताहरूको अपेक्षा पहिलेभन्दा भिन्न ढङ्गले बढेको छ । पार्टीको आम्दानी सीमित छ तर नियमित खर्चका दायराहरू निरन्तर विस्तार भइरहेका छन् ।
सरकारमा रहँदा वा नरहँदा पार्टीको हैसियत सत्ताधारी दलको तहमा उठेपछि स्वाभाविकरूपमा पार्टी सदस्य भन्दा भिन्न अपेक्षा र आकाङ्क्षा भएका नयाँ ‘दाताहरू’ पनि पार्टीको सम्पर्कमा आउँछन् । तर पार्टीलाई सदस्य–आधारित बनाइरहन सकिएन र दाताहरूको प्रभाव बढ्न थाल्यो भने त्यसको प्रभाव अनपेक्षितरूपमा पार्टीको आदर्श, सिद्धान्त, नीति तथा कार्यक्रममाथि पनि पर्ने खतरा बढ्न सक्ने भएकाले पार्टीले आत्मनिर्भरताको यो अभियान शुरू गरेको हो ।
अभियानमा कसरी संलग्न हुने ?
यस अभियानमा सहभागी हुन इच्छुक पार्टी सदस्य तथा शुभेच्छुकहरूले अनलाइन मार्फत भुक्तानी गर्नुहुनेछ । यो काम झण्झटमुक्त होस् भनेर फोन–पे वा मोबाइल बैङ्किङ सेवा लिनुहुनेहरुले सिधै आफ्नो मोवाइलबाट भुक्तानी गर्न सक्नुहुनेछ । यसका लागि पार्टीको वेबसाइट वा एमाले एप – CPN(UML) एपमा QR Scan उपलब्ध छ ।
अनलाइनमार्फत पार्टीको खातामा रकम जम्मा हुनासाथ पार्टी अध्यक्षको धन्यवाद सन्देश मोवाइलमा आउने छ । यसपछि यस अभियानमा संलग्न भएको पुष्टि हुनेछ ।
मोबाइल बैङ्किङ नहुनेहरूले पार्टीको खातामा सिधै रकम जम्मा गर्न सक्नुहुनेछ । यद्यपि पारदर्शिताको लागि सबैलाई अनलाइन भुक्तानीमा जान पार्टीले जोड दिन्छ । यस प्रयोजनको लागि तोकिएको खाता नम्बर पनि पार्टीको वेब साईट र मोबाइल एप तथा सोसल मिडियामा राखिएको छ ।