detail-img

देश जोगाउन आर्थिक रूपमा सबल हुनुपर्नेः उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नेपालमाथि विभिन्न शक्ति केन्द्रहरूले खेल्न खोजिरहेको बताउनुभएको छ । 
बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आयोजना गरेको विद्यार्थी महोत्सव अन्तर्गत ‘बदलिँदो भूराजनीति र नेपाल’ विषयक प्यानल छलफलमा बोल्दै ज्ञवालीले नेपालले आफ्नो विदेश सम्बन्धको स्पष्ट नीतिमा टिक्न नसक्दा यो अवस्था आएको बताउनुभयो । 
उपमहासचिव ज्ञवालीले भन्नुभयो– मेजर प्लेयरका बीचमा भूराजनीति बाह्य सम्बन्ध र राष्ट्रिय हितका बारेमा जुन ढङ्गको एकता चाहिन्थ्यो, त्यसमा जुन खालको साझा सहमति हुनुपर्दथ्यो, त्यो हुन नसकेको, पानी धमिलिएको कारणले विभिन्न प्लेयरहरूले खेल्न चाहेका र खोलिरहेको अवस्था छ । 
यस्तो बेलामा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सुरक्षित हुनुपर्ने उहाँको धारणा छ । नेपालले असंलग्न परराष्ट्र नीति लिएकाले कुनै पनि अन्तर्राष्ट्रिय विवादका विषयमा नेपाल कसैको पनि पक्ष बन्न नसक्ने कुरामा सबै स्पष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 
राष्ट्रलाई बलियो बनाउने कुरालाई प्रमुखतामा राख्ने हो भने विदेशी हस्तक्षेप कम हुँदै जाने उहाँले बताउनुभयो । देश अहिले आर्थिक रूपले कमजोर भएको कारण पनि शक्ति केन्द्रले विभिन्न बहानामा नेपालमा खेल्न प्रयास गरिरहेका उहाँको भनाइ छ । यसबाट देशलाई जोगाउन आर्थिक रूपमा सबल राष्ट्र बन्नुपर्नेमा उपमहासचिव ज्ञवालीको जोड छ । 
नेपालको भूराजनीतिक स्थितिलाई ठीक ढङ्गले प्रयोग गर्न जान्दा नेपाल र नेपालीका लागि ठुलो अवसर भएको उहाँले बताउनुभयो । तर त्यसको सही प्रयोग हुन नसक्दा देश अप्ठेरोमा पर्ने उपमहासचिव ज्ञवालीले बताउनुभयो । 
राष्ट्रिय शक्ति बढाउन परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा नीति र दीर्घकालीन विकासका योजनामा साझा सहमति आवश्यक रहेको र यी कुरामा प्रमुख दल बीच साझा सहमति हुँदा देशलाई बलियो बनाउन सकिने उहाँको धारणा छ । 
आर्थिक रूपमा बलियो हुँदा देशको सामथ्र्य र आत्मविश्वास बढ्ने उहाँले बताउनुभयो । 
नेपालको अहिलेको व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नेहरूले यो भन्दा राम्रो व्यवस्था अहिलेसम्म अरू नभएको बुझ्नुपर्ने उहाँले बताउनुभयो । राजनीतिक प्रणाली आफैमा साधन मात्र भएकाले यी साधनमा टेकेर साध्य प्राप्त गर्नुपर्नेमा उपमहासचिव ज्ञवालीले जोड दिनुभयो । अहिलेको असन्तुष्टी राजनीतिक व्यवस्थाका बारेमा नभएर कार्यशैलीको विषयमा हो र यसलाई सुधार गरेर लैजानुपर्ने उहाँले बताउनुभयो ।