detail-img

अध्यक्ष ओलीसँग सीपीसीका विदेश विभाग प्रमुख लिउको भेटवार्ता 


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभाग  प्रमुख लिउ जियान्चाओले आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता गर्नुभयो । 
अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयहरूमा कुराकानी भएको थियो । 
भेटवार्तामा नेकपा (एमाले) का उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, विदेश विभाग प्रमुख डा. राजन भट्टराई, उपप्रमुख कृष्ण केसी, सचिव अन्जान शाक्य र सदस्य उषाकिरण भण्डारी सहभागी हुनुहुन्थ्यो । 
नेकपा (एमाले) विदेश विभाग प्रमुख डा.भट्टराईका अनुसार, भेटवार्ताका क्रममा धेरै अगाडिदेखि रहँदै आएको नेपाल र चीनबीचको सुमधुर सम्बन्ध  बदलिँदो अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिक परिस्थितिमा पनि हामीले विगतमा तयार गरेका मान्यताहरूकै आधारमा अगाडि बढाउने विषयमा दुबैतर्फबाट प्रतिबद्धता जाहेर भयो । 
नेपाल र चीन बीचको सम्बन्ध पारस्परिक हितका आधारमा अगाडि बढाउने तथा दुबै मुलुक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले एक अर्काको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने नीतिमा अगाडि बढिरहेको विषयमा पनि  छलफल भएको थियो ।  
चीनले नेपाललाई अत्यन्त नजिकको मित्रराष्ट्रका रूपमा हेर्ने गरेको र नेपालको भरपर्दो विकास साझेदार मुलुकका रूपमा रहँदै आएको उल्लेख गर्दै त्यसलाई निरन्तररूपमा अगाडि बढाउन चाहेको विचार  चीनका तर्फबाट सीपीसीका विदेश विभाग प्रमुख लिउले छलफलका क्रममा राख्नुभएको डा. भट्टराईले जानकारी दिनुभयो ।  
त्यसैगरी नेपालको तर्फबाट अध्यक्ष ओलीले नेपालले विगतदेखि नै एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको धारणा राख्दै नेपाली भूभाग चीन लगायत अन्य मित्रराष्ट्रका विरुद्धमा प्रयोग नहुने÷ हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।  
सीपीसीका विदेश विभाग प्रमुख लिउ चारदिने नेपाल भ्रमणमा आइतबार यहाँ आउनु भएको हो । उहाँ विदेश विभाग प्रमुखको जिम्मेवारीमा आएपछि नेपालको यो पहिलो भ्रमण हो ।