detail-img

नेपाली भाषा साहित्यमा भानुभक्तको असाधारण योगदान 


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली भाषामा रामायण रचना गरेर आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्यमा असाधारण योगदान गरेको वताउनुभएको छ । 
२०९औं भानु जयन्तीका अवसरमा बुधबार मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको ‘भानुभक्त, स्रष्टा र समय’ विशेष कार्यक्रममा अध्यक्ष ओलीले भानुभक्त नेपाली भाषाका प्रथम कवि भएको चर्चा गर्नुभयो । 
उहाँले रामायणको रचना गरी भानुभक्तले देशमा भाषिक एकता कायम गर्नमा ठूलो योगदान गरेको विचार व्यक्त गर्नुभयो । 
विभिन्न भाषाभाषी रहेको हाम्रो समाजमा नेपाली भाषाको विकास र विस्तारबाट यसले सम्पर्क र माध्यम भाषाको रूप ग्रहण गरेको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाली भाषा, साहित्यमा रहेको क्लिष्टतालाई  सरलता प्रदान गर्नुका साथै नेपाली वाङ्मयमा छन्द र लयको प्रवेश पनि भानुभक्तले नै गराएको भनाई राख्नुभयो । 
उहाँले पृथ्वीनारायण शाहले देश एकीकरण गर्नु अघि नै नेपाली भाषा फैलिइसकेको  वताउँदै यसमा पनि भानुभक्तको योगदान रहेको चर्चा गर्नुभयो ।  
विश्वमा सबैभन्दा बढी बोलिने भाषा चिनियाँ भएको र त्यसलाई अंग्रेजीले पनि भेट्याउन नसकेको चर्चा गर्दै अध्यक्ष ओलीले भाषाहरू जन्मने, फैलने, खिइने, सिद्धिने हुँदै जान्छन्, हाम्रो जस्तो सानो र कम जनसंख्या भएको मुलुकमा भाषा र संस्कृतिको संरक्षण गर्न सबै लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । 
उहाँले उत्कृष्ट रचनाहरू सिर्जनाबाट नै भाषाको संरक्षण र भाषा समृद्ध गर्न सकिने वताउनुभयो । 
भानुभक्तले रचना गरेको रामायणलाई अगाडि बढाउने काममा उनका परम शिष्य मोतिराम भट्टको ठूलो योगदान रहेको चर्चा अध्यक्ष ओलीले गर्नुभयो । 
यसबर्ष आदिकवि भानुभक्तको जन्म जयन्ती र गुरु पूर्णिमा एकै दिन आज परेको थियो । गुरु हुनुको महत्ता स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो – भानुलगायत सबै गुरुहरूप्रति सम्मान र आदर प्रकट गर्दछु ।  
सो अवसरमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संस्कृति विभाग प्रमुुख रघुजी पन्तले भाषा र संस्कृतिले देश निर्माण गरेको चर्चा गर्दै भानुभक्तले भाषाको माध्यमबाट देशलाई एकीकरण गरेको वताउनुभयो । 
उहाँले नेपाली भाषा पृथ्वीनारायण शाहले देश एकीकरण गरेपछि लादिएको भाषा भन्ने भनाईको खण्डन गर्दै यो चौधौं शताब्दीमै आइसकेको चर्चा गर्नुभयो । 
कार्यक्रममा साहित्यकार तथा समालोचक जीवेन्द्रदेव गिरीले आदिकवि भानुभक्त आचार्य र साहित्यिक योगदानका बारेमा चर्चा गर्नुभयो । 
प्रतिष्ठानका अध्यक्ष विजय सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा कवि तथा कवियत्रीहरूले भानुभक्तका रचना पाठ गर्नुभएको थियो ।