detail-img

बाग्मती प्रदेशमा संगठन शुद्धीकरण, सुदृढीकरण अभियान 


काठमाडौं । नेकपा (एमाले) बाग्मती  प्रदेश संगठन कमिटीले पार्टी शुद्धीकरण, सुदृढीकरण अभियान चलाउने भएको छ ।  तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज सम्पन्न कमिटीको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । 
साउनदेखि शुरु गर्ने यो अभियान भदौ १५ गतेसम्म चल्ने छ । अभियानको शुरुवात साउन ४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा काठमाडौंमा वृहत् प्रशिक्षण कार्यक्रमबाट हुने नेकपा (एमाले) बाग्मती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले वताउनुभयो । प्रशिक्षण पार्टीका शीर्ष नेताहरूले दिनुहुने छ । 
पार्टी शुद्धीकरण तथा सुदृढीकरण अभियान वडा तहसम्म सञ्चालन गरिनेभएको छ । साउन ७ देखि २० गतेसम्म जिल्लास्तरमा र त्यसपछि पालिका र वडा तहमा अभियान केन्द्रित गर्ने तालिका प्रदेश कमिटी बैठकले बनाएको छ । 
मुलतः कार्यकर्ता केन्द्रित यो अभियानको उद्देश्य संगठनात्मकरूपमा अराजकता र अवसरवादबाट मुक्त गर्ने तथा पूर्ण गतिशील, वैचारिकरूपमा स्पष्ट, कार्यनीतिक मुद्दामा धारिलो र लक्ष्यप्रति संकल्पबद्ध पार्टीपङ्ती तयार पार्ने रहेको छ । प्रदेश कमिटीले सबै जिल्लाका लागि प्रशिक्षक पनि तोक्ने भएको छ । 
प्रशिक्षणका लागि विषयहरू पनि निर्धारण गरिएको छ । जनताको बहुदलीय जनवादको मान्यता अनुरूप पार्टी निर्माण, स्थानीय निर्वाचनको सन्देश, शिक्षा र आगामी निर्वाचनको तयारी, वर्तमान राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य विस्तार र राष्ट्रको मुख्य शक्तिका रूपमा नेकपा (एमाले) को भूमिका अभिबृद्धि लगायत विषयमा कार्यकर्ता प्रशिक्षित गरिने भएको छ । 
अभियानका क्रममा स्थानीय निर्वाचनमा गल्ती गर्ने र जिम्मेवारी पूरा नगर्ने पार्टी सदस्यहरूको तथ्यगत जानकारी लिने र आवश्यक निर्णय गर्ने कार्यसूची बनेको छ । 
बैठकले स्थानीय तह निर्वाचनको समीक्षा पनि गरेको छ । बाग्मती प्रदेशमा एमालेले सबैभन्दा बढी  आठ लाख सातहजार २३३ मत प्राप्त गरे पनि निर्वाचित जनप्रतिनिधि सिट संख्या कम भएकोमा विभिन्न कोणबाट छलफल गरिएको प्रदेश अध्यक्ष पाण्डेले वताउनुभयो ।   
आजको बैठकमा प्रमुख अतिथिका रूपमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो भने प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले ‘संगठन शुद्धीकरण ÷ सुदृढीकरण अभियान र पार्टी कामको योजना’ प्रस्तुत गर्नुभएको थियो । 
बैठकले प्रदेश कमिटीका सबै सदस्यहरूलाई आगामी निर्वाचनलाई ध्यानमा राखी भूगोल केन्द्रित जिम्मेवारी दिने निर्णय गरेको बाग्मती प्रदेशका उपसचिव तथा प्रचार विभाग प्रमुख महेश वर्तौलाले जानकारी दिनुभयो । बैठकले अवधि पुगेका प्रदेश तहसम्मका जनसंगठनका अधिवेशनहरू तत्काल गर्न निर्देशन गर्ने निर्णय पनि गरेको छ । 
बाग्मती प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ, पोलिटव्यूरो सदस्यहरू अरुण नेपाल, आनन्दप्रसाद पोखरेल र पार्वत गुरूङको उपस्थिति थियो ।