detail-img

‘पार्टीका लागि योगदान सम्झेर  निर्वाचन केन्द्रित काममा जुट्नुस्’

 पोखरा । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको अराजकता र अवसरवादका कारण स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुपरेको कुरालाई शिक्षाका रूपमा लिई संसदको निर्वाचनलाई विजयमा परिणत गर्नुपर्ने वताउनुभएको छ । 
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले पोखरामा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा महासचिव पोखरेलले स्थानीय तह निर्वाचनको धङधङीबाट बाहिर निस्कन र मंसीरमा हुने आम निर्वाचनसम्म नकारात्मक कुरा नगर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 
पोखरा महानगरपालिका पार्टीले जित्नैपर्ने ठाउँ भए पनि परिणाम फरक आएको उल्लेख गर्दै महासचिव पोखरेलले समय निर्धारण गरेर कार्यतालिका बनाएर हारलाई जीतका बदल्ने गरी  काम गर्न निर्देशन दिनुभयो । 
महासचिव पोखरेलले कार्यकर्तालाई आग्रह गर्नुभयो– पार्टीका लागि योगदान सम्झेर भए पनि आगामी प्रतिनिधि सभा निर्वाचनसम्म नकारात्मक कुरा नगरी एकतावद्ध भई लाग्नुस् । 
पोखरामा भएको पराजयको घटनालाई पार्टीपङ्तीले सबभन्दा बढी औंला ठड्याएको जानकारी दिंदै झगडाको कारणले पराजय व्यहोर्नुपरेको उहाँले वताउनुभयो । 
महासचिव पोखरेलले आरोप प्रत्यारोपमा पुगेका नेता तथा कार्यकर्ताले आफुले आफैलाई  इमान्दार सावित गर्न सुझाव दिनुभयो । 
उहाँले भन्नुभयो– सबै नेताले एकै ठाउँमा बसेर शङ्का उपशङ्का मेटाउनुस् । जिल्लाका सबै ठूला नेताहरू हामी मिल्यौं भन्नुस्, सबै समस्या समाधान हुन्छ ।
‘आन्तरिक एकता कायम गर्यौं भनेर जनतामा गए आगामी निर्वाचनमा तीनदेखि चारप्रतिशत मत बढ्छ । त्यति मत बढे पहिलेको हारलाई जीतमा बदल्न सकिन्छ ।’ 
महासचिव पोखरेलले कास्कीका नेतामा मात्र होइन, कार्यकर्तामा समेत विभाजनको रेखा कोरिएको उल्लेख गर्दै पार्टीलाई वैचारिक पक्षलाई सुदृढ बनाउँदै एउटै आवाज र लयमा ढाल्न निर्देशन दिनुभयो । 
कास्कीको जीत र हार कास्कीमा मात्र सीमित नभई  कास्कीको असर गण्डकी प्रदेशका सबै जिल्लामा पर्ने भएकाले आम निर्वाचनको सन्दर्भमा सचेत र जिम्मेवार बन्नुपर्ने महासचिवको भनाई थियो ।   
यसअघि प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकारले आर्थिक सुशासन खल्बल्याएको र हरेक मामिलामा असफल भएको वताउनुभयो । 
राष्ट्र निर्माणको लागि नभएर राजनीतिक सौैदावाजीको लागि सत्ता गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनबाट समृद्धिको आधार बन्न नसक्ने भनाई राख्नुभयो ।  
राष्ट्रिय बजेट निर्माण गर्दा नीतिगत विचलन र नीतिगत सेटिङको कारण मुलुकले आर्थिक सङ्कटको सामना गर्नुपरेको तर्क गर्दै महासचिव पोखरेलले भन्नुभयो– एमालेको सरकारको पालामा सबै सूचक राम्रा थिए । हरेक क्षेत्रमा केही न केही सुधार भएको थियो । शोधनान्तर स्थिति मुलुकलाई धान्ने अवस्थामा थियो । विदेशी मुद्राको सञ्चिति ११ महिनाको लागि धान्ने थियो । अहिले घटेर छ महिनाको लागि धान्ने अवस्थामा छ । विकास निर्माण ठप्प भएका छन् ।  
आम चुनावको तयारीको लागि केही नेता दिल्ली जानु लज्जास्पद विषय भएको उल्लेख गर्दै महासचिवले नेपाली जनतालाई फैसला गर्न नदिएर दिल्लीको आशिर्वाद खोज्नेलाई जनताले मत दिन नहुने धारणा राख्नुभयो ।