detail-img

कार्ययोजना पारित गर्दै सङ्गठन विभागको अठारौं बैठक सम्पन्न

बैठकलाई अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन, मार्गनिर्देश
कार्ययोजना पार्टी शुद्धीकरण तथा सुदृढीकरणको काममा केन्द्रित
अधिवेशन हुन बाँकी जिल्लाका अधिवेशन कात्तिकसम्म गर्नुपर्ने 
नवीकृत पार्टी सदस्यको विवरण यथाशीघ्र पठाउन निर्देशन

 

२६ असार, (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको अठारौं बैठक २०८१/०८२ का लागि बार्षिक कार्ययोजना तयार गरी आज सम्पन्न भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको आजको बैठकमा अध्यक्ष ओलीले पार्टी र सङ्गठन विभागको कामका बारेमा मार्गदर्शन गर्नुभएको थियो । 
बैठकको पहिलो दिन असार २५ गते पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । 
पार्टीका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीको अध्यक्षतामा पार्टी कार्यालय, च्यासलमा बसेको बैठकमा विभागका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । बैठकको सञ्चालन सचिव माधव ढुंगेलले गर्नुभएको थियो ।
जीवन्त छलफल गरी तयार गरिएको आगामी बर्षको कार्ययोजना मुलतः संगठन शुद्धीकरण तथा सुदृढीकरणका काममा केन्द्रित रहेको छ । केन्द्रीय कमिटीद्वारा जारी हुने बार्षिक कार्ययोजनाबाट निर्देशित भएर अन्तिमरूप दिने गरी बैठकमा प्रस्तुत कार्ययोजना परिमार्जनका साथ पारित गरिएको सङ्गठन विभाग सचिव माधव ढुंगेलले बताउनुभयो ।  

त्यसैगरी विभाग प्रमुखबाट प्रस्तुत २०८०÷८१ को बार्षिक समीक्षा प्रतिवेदनलाई बैठकले सुझावसहित पारित गरेको छ । 

गत जेठसम्ममा नेकपा (एमाले)का ६६ जिल्ला, ३७१ पालिका र दुईहजार १९९ वडामा अधिवेशनहरू  सम्पन्न भैसकेका छन् । त्यसैगरी गैर भौगोलिक १० जिल्ला, ११५ इलाका र १६६ शाखा तहका पार्टी कमिटीका अधिवेशनहरू पनि सम्पन्न भैसकेको सन्दर्भमा बैठकले जिल्लादेखि टोल तहसम्मका बाँकी समस्त कमिटीका अधिवेशन कात्तिक महिनासम्म सम्पन्न गर्न निर्देशन गर्ने निर्णय गरेको छ ।

२०८१ का लागि नवीकरण गरिएका पार्टी सदस्यहरुको रिपोर्ट (अनलाइन अभिलेख) केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरणका लागि प्रदेश कार्यालयमार्फत् यथाशीघ्र पठाउन जिल्ला कमिटीहरूलाई निर्देशन गरिएको छ । 
बैठकले कमिटीमा उत्पन्न हुने विवाद समाधानका सम्बन्धमा पनि निर्णय गरेको छ । सो अनुसार, जुन कमिटीमा विवाद उत्पन्न हुन्छ सोही कमिटीले संस्थागतरूपमा तत्काल समाधान गर्नुपर्छ । समाधान हुन नसकेको अवस्थामा मात्र एक तह माथिको कमिटीमा पठाउनुपर्छ । तह नाघेर उजुरी गर्ने र जिम्मेवारीबाट पन्छिने दुवै प्रवृत्तिको अन्त्य गर्नुपर्छ । प्रदेशभित्रका स्थानीय तहका पार्टी कमिटीभित्रका तमाम समस्याहरू समाधान गर्न प्रदेश कमिटी अझै बढी सक्रिय र जिम्मेवार हुनका लागि ध्यानाकर्षण गर्ने बैठकले निर्णय गरेको छ । 

जनसङ्गठनका आधारभूत तहसम्मका कमिटी निर्माण गर्न, सदस्यता विस्तार गर्न, प्रशिक्षण गर्न, अधिवेशनहरूको आयोजना गर्न र जनसरोकारका मुद्दामा अग्रसरता लिनका लागि सम्बन्धित तहका पार्टी कमिटीहरूले आफ्नै पार्टी काम ठानेर तेर्सो नेतृत्व प्रदान गर्नु आवश्यक छ । त्यसका लागि सम्बन्धित तहका जनसङ्गठन संयन्त्रहरूको नियमित परिचालन गर्न पनि सम्बन्धित पार्टी कमिटीहरूले ध्यान दिनुपर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले सम्बन्धित प्रदेशका केन्द्रीय सङ्गठन विभागका सदस्यहरूलाई प्रदेश कमिटी र जिल्ला कमिटीका बैठकमा नियमित रूपमा आमन्त्रण गर्न प्रदेश तथा जिल्ला कमिटीहरूको  ध्यानाकर्षण गरेको छ ।