detail-img

‘गठबन्धनको अपरिपक्वताका कारण मुलुक सङ्कटतर्फ’ 


जनकपुरधाम । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले गठबन्धन सरकारको अपरिपक्वताका कारण मुलुक आर्थिक रूपमा सङ्कटतर्फ उन्मुख भइरहेको बताउनुभएको छ ।
पार्टीको मधेश प्रदेश कमिटीद्वारा सोमबार जनकपुरमा आयोजित प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष पाण्डेले सो कुरा बताउनुभएको हो । 
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचको कारण मुलुक गम्भीर सङ्कटतर्फ अघि बढेको उपाध्यक्ष पाण्डेको भनाईं थियो । 
नेपालमा कम्युनिष्ट पार्टीहरू विभाजित अवस्थामा रहेर समाजवाद आउन नसक्ने वताउँदै उपाध्यक्ष पाण्डेले समाज रूपान्तरण र समाजवाद ल्याउनका लागि नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक रहेको धारणा राख्नुभयो । 
उपाध्यक्ष पाण्डेले भन्नुभयो– गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्नु सपना मात्रै हुन्छ । 
शान्तिपूर्ण बाटोबाट समाजवादसम्म पुग्न सकिन्छ भन्नेमा विश्वास गर्ने नेपालका कम्युनिष्टहरूले आफ्नो लक्ष्य प्राप्तिका लागि आपसमा एकता कायम गरी पहिले राज्यसत्ताको नेतृत्व आफ्नो हातमा लिनुपर्ने विचार पाण्डेले व्यक्त गर्नुभयो । 
उहाँले स्थानीय तहको निर्वाचनमा भएका आन्तरिक कमी–कमजोरीको समीक्षा गरी अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । 
प्रशिक्षण कार्यक्रममा पार्टीका सचिव तथा मधेस प्रदेशका इञ्चार्ज रघुवीर महासेठले संघीय तथा प्रदेश निर्वाचनका लागि तयारीमा जुट्न आग्रह गर्नुभयो ।
पार्टीको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा स्थायी समिति सदस्य प्रभु साह लगायतले प्रशिक्षण दिनुभएको थियो ।