detail-img

‘पार्टीपङ्ती एकढिक्का हुँदा एमालेको विजयलाई कसैले रोक्न सक्दैन’ 


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको आगामी निर्वाचनपछि एमालेको सरकार निर्माण गर्ने गरी  कार्यक्षेत्रमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 
पार्टीको बाग्मती प्रदेश कमिटीले बुधबार राजधानीमा आयोजना गरेको  बृहत् भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभिभारा पूरा गर्न एमालेको सरकार बन्नुपर्ने वताउनुभयो । 
अध्यक्ष ओलीले स्थानीय चुनावमा आफ्नै कारणले सोचेजस्तो परिणाम नआएको भन्दै आगामी चुनावमा त्यो अवस्था दोहोर्याउन नहुने बताउनुभयो ।
उहाँले स्थानीय निर्वाचनमा आफ्नो नेतृत्वको सरकारका पालामा भएका देश विकास, आर्थिक उन्नति र पुनर्निर्माणका कामका बारेमा जनतालाई बताउन नसकिएको र पार्टीको आन्तरिक कारणले पनि परिणाममा असर गरेको वताउनुभयो । 
अध्यक्ष ओलीले पार्टीभित्र विकास भएको अराजकताको उदाहरण प्रस्तुत गर्दै भन्नुभयो– स्थानीय तहको निर्वाचनमा यस्तो पनि देखियो, एउटा वडामा ३९ जनाको पार्टी कमिटी छ, निर्वाचनमा भोट आउँछ जम्मा २४ ! यो भन्दा बेइमानी र निकृष्टता केही हुन्छ ? भोट हाल्न नसक्ने भए राजीनामा दिनुपर्दैन ?
यसपटकको निर्वाचनमा ‘म जित्छु, म जिताउँछु’ भन्ने नाराको व्यापक दुरुपयोग भएको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो – एमालेका कार्यकर्ता मतिभ्रष्ट हुनुहुँदैन, अरुभन्दा श्रेष्ठ, इमान्दार हुनुपर्छ । 
‘स्थानीय तहको निर्वाचनमा जनमत नभएर पार्टीले पराजित हुनुपरेको होइन, पार्टीका कार्यकर्ताकै हात कहाँ कहाँ लटपटिए हेर्नुस् त ! यहाँ उपस्थितमध्ये पनि कोही हुनुहोला, सम्झनुस् त !’  
पार्टीका कार्यकर्ताले व्यक्तिगत जिम्मेवारी वहन गर्न छाडेको, कमिटीहरूमा सामुहिक निर्णय हुन छाडेको, गुटबन्दी भइरहेको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– म स्पष्ट भन्न चाहन्छु, यसरी पार्टी चल्दैन । 
अध्यक्षले भन्नुभयो– देश गम्भीर सङ्कटतर्फ उन्मुख छ । हाम्रासामु ठूलो चुनौती छ । पार्टीविरूद्ध सारा शक्ति लागिरहेको छ । यत्रो घेराबन्दी छ । यस्तो अवस्थामा हामीले आगामी निर्वाचनमा हाम्राविरूद्धको गठबन्धनलाई पराजित गर्नुछ । देश बनाउनुछ, समृद्ध नेपाल सुखी नेपालीको हाम्रो गन्तव्यमा पुग्नुछ । पार्टीका कोही पनि नेता÷ कार्यकर्ता अहङ्कार, व्यक्तिगत प्रतिस्पर्धा र इर्श्या जस्ता सानातिना कुरामा अल्झनु हुँदैन ।  
उहाँले नेकपा (एमाले) एकढिक्का हुन्छ, हुनुपर्छ भन्नुहुँदै आगामी निर्वाचनमा सबै बाधा व्यवधानसँग जुध्दै पार्टीले विजय हासिल गर्नेछ भन्नुभयो । 
अध्यक्ष ओलीले आत्म अनुशासित र इमान्दार भई देश हित र समृद्धिका सपनालाई शिरमा राख्यौं भने विजयका लागि कसैले रोक्न सक्दैन भन्नुभयो । 
अध्यक्षले भन्नुभयो – गुटबन्दी आन्दोलनको शत्रु हो, गुटको अपवित्र स्वार्थ पूरा नभएपछि पार्टी फुटाएर जाँदा रहेछन्, फुटको अरू कुनै कारण छैन ।
बाम एकताको नाममा बैठकहरू हुन थालेको सन्दर्भमा उहाँले भन्नुभयो– फेरि अर्काे फुटका लागि एकता अभियान सुरू भएको छ ।  
लेनिनवादी संगठनात्मक सिद्धान्त सबैभन्दा उत्तम सिद्धान्त भएको र त्यसलाई कम्युनिष्ट पार्टीहरूले अङ्गिकार गरे पनि व्यवस्थापनमा कमजोरी रहेको वताउँदै अध्यक्ष ओलीले त्यसको अध्ययन र खोजी जरूरी छ भन्नुभयो । 
अध्यक्ष ओलीले स्थानीय चुनावमा पार्टीले चित्तबुझ्दो नतिजा निकाल्न नसके पनि विरोधीहरूले प्रचार गरेजस्तो अवस्था नभएको बताउनुभयो ।  
अध्यक्षले भन्नुभयो ‘अस्तिको चुनाव राम्रो भएन । तर, हाम्रा विरोधीहरूले भनेजस्तो पनि होइन । अरूको सहयोग र सहारामा १०÷१५ वटा सीट ल्याएको छ, अर्काको रुखका पात जम्मा गरेर अलिअलि डोकामा हालेको छ, अनि एमालेको त वनै समाप्त गर्यौं भन्दै उफ्रेका छन् । 
एमाले लोकप्रिय मतमा पहिलो र निर्वाचित जनप्रतिनिधिका आधारमा दोस्रो पार्टीका रूपमा स्थापित भएको उहाँले वताउनुभयो । 
‘अहिले ऐँचोपैँचो, सरसापटी गरेर तीनप्रतिशत पुर्याउनेले ३४ प्रतिशत मत ल्याएको एमालेलाई हार्यो भनिरहेका छन् ।’
बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको भेलाका सहभागीहरूलाई पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।