detail-img

‘एमालेको सरकारबाट मात्र देशको आर्थिक रूपान्तरण सम्भव’


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको गलत आर्थिक नीतिका कारण मुलुक सङ्कटबाट गुज्रिरहेको वताउँदै अर्थतन्त्रलाई सही बाटोमा ल्याउन आगामी निर्वाचनमा एमालेले जित्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । 
वर्तमान गठबन्धन सरकार विकास निर्माणका काम तथा अर्थतन्त्रका सबै नकारात्मक सूचकाङ्कले पूर्णतः असफल भएको पुष्टि हुने चर्चा गर्दै महासचिव पोखरेलले एमाले नेतृत्वको सरकारबाट मात्र देशको आर्थिक रूपान्तरण सम्भव रहेको बताउनुभयो । 
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा बुधबार राजधानीमा आयोजित अनलाइनका सम्पादक तथा पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
महासचिव पोखरेलले कालोधनलाई सेतो बनाउने गठबन्धन सरकार र अर्थमन्त्रीको योजना असफल भएपछि गभर्नरमाथि आक्रमण शुरू भएको धारणा राख्नुभयो । 
स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्दा पनि लोकप्रिय मत सबैभन्दा बढी ल्याएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्ति एमाले हो भन्ने कुरा सबै राजनीतिक दल एकातिर र एमाले अर्कोतिर एक्लै निर्वाचनमा होमिनुले पनि पुष्टि गरेको छ ।  
आगामी निर्वाचनमा एमालेको नीतिमा साथ दिनेहरूसँग सहकार्य हुनसक्ने भए पनि पार्टीको गठबन्धन गर्ने नीति नभएको उहाँले प्रष्ट पार्नुभयो ।
मुलुकको शासन प्रणाली संसदीय भएपनि वर्तमान सरकार असंसदीय हिसावले निर्माण भएकाले लोकतन्त्रमाथि प्रश्न उठिरहेको प्रसँग उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले थप्नुभयो, “जनमतको कदर गर्नु नै सबैभन्दा सही लोकतन्त्र हो, जनमत एकातिर शासन व्यवस्था अर्कोतिर भयो भने लोकतन्त्रको उपहास हुन्छ, अहिलेको सरकार संसदबाट बनेको होइन ।” 
मुलुकको विकासका लागि राजनीतिक सुदृढीकरण आवश्यक रहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “मुलुकमा जतिधेरै राजनीतिक शक्ति हुन्छन्, त्यति धेरै अराजकता बढ्छ, देशको विकास र परिवर्तनका लागि बलियो राजनीतिक शक्तिको खाँचो छ, मुलुकमा दुई वा तीन दलमात्र भयो भने राजनीतिक स्थायित्व हुन्छ ।” 
देशमा धेरै राजनीतिक शक्ति भएपनि प्रमुख दल एमाले र नेपाली कांग्रेस मात्र रहेको उहाँले प्रष्ट पार्नुभयो । 
मुलुक अहिले मुख्य दुई विचारधारामा केन्द्रित भएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “उदार पूँजीवादको बाटोमा गठबन्धन दल छन्, त्यसको नेतृत्व कांग्रेसले गरिरहेको छ, समाजवादको नेतृत्व एमालेले गरिरहेको छ ।” 
नेपालको बाम शक्तिको मुख्य प्रवाहीकरणको नेतृत्व एमालेले गरिरहेकाले आफूलाई बामपन्थी शक्ति मान्ने दलहरूलाई एमालेको क्याम्पमा आउन उहाँले आग्रह गर्नुभयो । 
एमाले नेतृत्वको सरकारले आर्थिक बृद्धिदर राम्रो भएका विश्वका दश देशमा नेपाललाई दर्ज गरेको भएपनि वर्तमान सरकारले हरेक हिसावले देशलाई आर्थिक सङ्कटतर्फ लगेको उहाँले भनाई थियो । 
महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निरपेक्ष गरिबी २९ बाट १७ प्रतिशतमा झारेको चर्चा गर्दै दलाल पूँजीवादको प्रवर्तकका रूपमा रहेको वर्तमान गठबन्धन सरकारका कारण अब गरिबी बढ्ने छ भन्नुभयो । 
संघीयता खारेजका विचार प्रवाह भइरहेका सन्दर्भमा महासचिवले भन्नुभयो– संविधान र संघीयताको कार्यान्वयनमा एमालेले नै नेतृत्व गरिरहेको छ । मधेसवादी दल, विप्लब नेतृत्वको नेकपा, सिके राउत समूहलाई मूलधारमा ल्याएर संविधानको स्वीकार्यता गराउन काम एमालेले गरेको हो ।

उपमहासचिव, प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग देश विकास तथा रूपान्तरणको पक्षमा काम गर्ने योजना र एजेण्डा भए पनि जनतामाझ प्रचार गर्न नसकेको बताउनुभयो । 
एमाले नेतृत्वको सरकारले अथाह राम्रो काम गरेको छ, तर प्रचार गर्न सकेन उपमहासचिव गुरुङले थप्नुभयो, “एमालेसँग बासमती चामल छ तर प्रचार गर्न नसकेर बिक्री भइरहेको छैन । बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान एमालेसँग मिलेको छ ।”
सामाजिक रुपान्तरण, न्यायसंगत र सुशासनयुक्त समाज निर्माणका लागि एमालेसँग स्पष्ट योजना र एजेण्डाहरू भएपनि जनतामाझ लग्न नसकिएको भन्दै उहाँले पत्रकारलाई त्यसमा सहयोग गर्न अपिल गर्नुभयो । 
देशको रूपान्तरणमा सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहने हुनाले मुलुक बनाउने अभियानमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।