detail-img

‘देशको आर्थिक अवस्था नाजुक’ 

सुर्खेत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले देशको आर्थिक अवस्था अत्यन्त नाजुक बनेको वताउनुभएको छ । 
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभयो– वर्तमान गठबन्धन सरकार सुशासनको प्रश्नमा असफल देखिएको छ । 
उहाँले आफ्नो स्वार्थका लागि खुलेआम रूपमा सत्ताको दुरूपयोग गर्ने प्रबृत्ति बढेको वताउनुभयो । 
महासचिव पोखरेलले वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा आफ्नो दल नरहेको बताउनुभयो । 
अहिले एमालेका लागि गठबन्धन प्रधान कुरा नभएको वताउँदै उहाँले  चुनावको बेलामा चुनावी तालमेल तत्कालीन  रणनीतिक कुरा हो भन्नुभयो । 
छिटोभन्दा छिटो चुनावको माध्यमबाट गठबन्धनलाई पराजित गर्ने र मुलुकलाई अगाडि बढाउन बलियो राष्ट्रिय शक्तिको रूपमा एमाले सक्षम रहेको महासचिवको भनाई थियो ।
परराष्ट्र नीतिको मामिलामा गठबन्धन सरकार असन्तुलित भएको र स्वार्थका लागि विदेशको प्रयोग गर्न थालेको महासचिवले वताउनुभयो । 

महासचिव पोखरेलले नेकपा (एमाले) र माओवादीबीचको जनमतको अन्तर निरन्तर फराकिलो बन्दै गएको  र माओवादी ओरालो यात्रामा रहेको बताउनु भएको छ । 
‘२०६४ सालमा माओवादीले ३० प्रतिशत मत पाएको थियो, एमालेले २२ प्रतिशत । यो ठूलो मतान्तर होइन, अहिले एमालेको ३४ प्रतिशत मत छ माओवादीको १२ प्रतिशत छ । यो चाँही ठूलो मतान्तर हो ।’
महासचिव पोखरेल पार्टीको कर्णाली प्रदेश कमिटीको चौथो बैठकका लागि सुर्खेत आउनुभएको हो । उहाँले शनिवार प्रदेश कमिटीको बैठकमा निर्देशनात्मक सम्वोधन गर्नुभएको थियो ।