detail-img

‘देशलाई आर्थिक मन्दीबाट बचाउन  खाद्य उत्पादनमा आत्मनिर्भर हुनुपर्छ’


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रलाई मन्दीबाट बचाउन आधारभूत खाद्यवस्तुको उत्पादनमा आत्मनिर्भर हुनुपर्ने वताउनुभएको छ । 
उहाँले खाद्य उत्पादनमा आत्मनिर्भर हुन सकियो भने बेला–बेलामा दुनियाँमा आउने आर्थिक मन्दीले कुनै असर नगर्ने विचार व्यक्त गर्नुभयो । 
 पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागको बैठकलाई आइतबार निर्देशनात्मक सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो– ‘नीति बनाउँदा कृषिमा क्रान्ति ल्याउने योजनाका साथ जानुपर्छ ।’
‘हाम्रो कृषि नीति खाद्यान्नमा आत्मनिर्भर हुने र उच्च मूल्य दिने कृषि उत्पादनमा ध्यान दिने हुनुपर्छ’ अध्यक्षले भन्नुभयो–‘एमालेले बनाउने नीति पार्टीको मात्र नभई त्यसले राष्ट्रकै नीतिलाई मार्गदर्शन गर्ने भएकाले नीति निर्माण गर्दा गहन अध्ययन, छलफल र बहस चलाई बनाउनुुपर्छ ।’
कृषि प्रधान देश नेपालमा ६० प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर रहेको तर राष्ट्रिय उत्पादनमा यसको योगदान कम रहेको चर्चा गर्दै अध्यक्ष ओलीले उत्पादन बृद्धिमा जोड दिए पनि राष्ट्रिय अर्थतन्त्रमा भने कृषि क्षेत्रको योगदान कम र अन्य क्षेत्रको बढी हुनुपर्छ भन्नुभयो । 
अध्यक्षले भन्नुभयो– ‘कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण  गरी पहिले खाद्यवस्तुमा आत्मनिर्भर बनौं, कमसेकम चामल, गहुँ, पीठो आयात नगर्ने अवस्थामा पुगौं, त्यति गर्न सक्यौं भने व्यापार असन्तुलन, व्यापारघाटा कम गर्न सकिन्छ, विदेशी मुद्रा संचितीमा सहयोग पुुग्छ ।  त्यसपछि निर्याततर्फ सोचौंला ।’
कृषिको आधुनिकीकरण गर्दा मेशीन र औजारको मात्र भर परी जनशक्ति परिचालनलाई छोड्न नहुने अध्यक्ष ओलीको भनाइ थियो । 
अध्यक्षले भन्नुभयो– ‘मेशिनले कुनै पनि बेला धोका दिनसक्छ । त्यसकारण जनशक्ति परिचालनलाई पनि सँगसँगै लैजानुपर्छ । हामीकहाँ ६० प्रतिशत काम गरिरहेको जनशक्ति र ४० प्रतिशत युवा जनशक्ति रहेकाले उत्पादनका लागि जनशक्तिको अभाव छैन । मामको लागि कामको खोजीमा खाडी मुलुक जाने कुरालाई हतोत्साहित गर्नुपर्छ । कृषिसँगै हरेक क्षेत्रमा दुनियाँसँग प्रतिस्पर्धा गर्नसक्ने योग्य जनशक्ति तयार गर्नुपर्छ ।’ 
‘नेपालमा ५८ लाख हेक्टर कृषियोग्य जमीन छ ।  बनस्पती र जीवका लागि अनुकूल धर्ती छ । असाधारण प्रकृति पाएका छौं ।’ चर्चा गर्दै अध्यक्षले भन्नुभयो–‘हाम्रो गन्तव्य अर्ग्यानिक कृषि उत्पादन हो । तर, यतिवेला नेपाली माटो विषादी प्रयोगका कारण अत्यन्त विरामी अवस्थामा छ, माटोको उपचार नगरी अर्ग्यानिक खेतीको गन्तव्यमा जान सकिँदैन ।’ 
‘डार्विनको विकासवादी सिद्धान्त पछ्याउँदा हामीलाई ढिलो हुनसक्छ, किनकि हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियान शुरू गरेका छौं, त्यो  संकल्प पूरा गर्न तीब्र विकास चाहिएको छ ।’ 
‘विकासका लागि पहिले मानिसलाई पेटको चिन्ताबाट मुक्त गर्नुृपर्छ । मानिस पेटको समस्याले कुदेको कुदै छ भने उसको दिमागले अरू कुरा कसरी सोच्न सक्छ ? त्यसैले नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षालाई सुनिश्चित गरिनुपर्छ ।’
‘जीवन जिउनका लागि हावा, पानी र खाना तीन चिज नभई नहुने चिज हुन्, त्यसैले खाद्य अधिकार मानवअधिकारको सबैभन्दा आधारभूत कुरा पनि हो,’ उहाँले भन्नुभयो । 
अध्यक्षले भन्नुभयो– मानिस बाँच्नका लागि खाना नभई नहुने हुँदा दुनियाँमा कृषिउपजले  बजार नपाउने हुँदैन ।  त्यसका लागि ठूलो परिणाममा उत्पादन गर्नुपर्छ । निर्यात गर्दा पनि कृृषि उत्पादनमा आधारित उद्योग स्थापना गरी भ्यालु एडेड वस्तु निर्यातमा ध्यान दिनुपर्छ, प्राथमिकता दिनुपर्छ र दिन्छौं । 
नेपालमा एक परिवारका लागि एक हेक्टर बराबर कृषियोग्य जमीन रहेको र यो कृषिका लागि पर्याप्त नै हुने चर्चा गर्दै अध्यक्षले भन्नुभयो– ‘जमीन थपिँदैन, जमिनको उत्पादकत्व वृद्धि गर्ने हो । कहाँ के उत्पादन राम्रो हुन्छ त्यस अनुसार कृषि गर्नुपर्छ । हामीलाई प्रकृतिले दिएको कुनै पनि जमीन खेरजाने खालको छैन ।’ 
‘कृषि उत्पादनमा रासायनिक मल, विषादी होइन, आधुनिक, नवीनतम प्रविधिको प्रयोग गरौं । माटो अनुसारको खेतीमा ध्यान दिऊँ ।’  
अध्यक्षकमरेडले भन्नुभयो– ‘हामी निरोगी नेपाल बनाउन चाहन्छौं । त्यसकारण, स्वस्थ जीवनका लागि स्वस्थ खाना आवश्यक पर्छ । त्यसका लागि कमसेकम सागसब्जी आफै उत्पादन गर्ने गरौं । शरीरलाई विषादी चाहिँदैन । विषादी नभएको सागसब्जी उत्पादन अभियान चलाऔं । आफ्नै स्वास्थ्यका लागि सागसब्जी आफै उत्पादन गरेर गर्व गरौं । जमीन हुनेले जमीनमा र जमीन नहुनेले गमलामा लगाए पनि पुग्छ ।’ 
अहिले फूलको बीउ पनि आयात हुने गरेको र त्यो फूलको बीउ हामीले राख्न नसकिने, नरहने हुँदा बीउका लागि हरेक बर्ष अर्काको भर पर्नुपर्ने अवस्थाको चर्चा गर्दै उहाँले भन्नुभयो– कृषि उपजका बीउ बिजन आफै विकास र संरक्षण गरी त्यसको ‘पेटेन्ट राइट’ हाम्रो हातमा राख्नुपर्छ । परम्परागत बीउ विजन नासिएर अर्काको भरपर्ने अवस्थामा पुग्नुहुँदैन ।  
अध्यक्षकमरेडले पार्टीका केन्द्रीय विभागहरूले नीति निर्माणमा सहयोग पुग्ने गरी काम गर्नुपर्ने वताउँदै कृषि तथा पशुपंक्षी विकास विभागलाई पनि त्यस दिशामा ध्यान दिन  निर्देशन दिनुभयो । पार्टी केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपाने प्रमुख रहनुभएको विभाग बैठकले आफ्नो बार्षिक कार्ययोजना तयार गर्ने छ ।